गाउँको उकाली–ओरालीदेखि बेलायतको मञ्चसम्म, दीप सुहाङको सांगीतिक यात्रा
Phaktanglung Darpan
कार्तिक २४ गते २०८३
1:15 pm
फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बो ‘चरपे’ / युके
पछिल्लो समय हजारौँ सुमधुर स्वरहरूको भीडबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल नवोदित प्रतिभाहरूमध्ये एक हुन्—सुन्दरी माइली उर्फ दीप सुहाङ। मिठासले भरिएको सुरिलो स्वरकी धनी सुहाङ यतिबेला सांगीतिक क्षेत्रमा निकै व्यस्त छिन्।
हजारौँ दर्शक तथा श्रोताको मन जित्न सफल उनी प्रतिभाशाली पान्थरेनी कोइलीका रूपमा परिचित हुँदै गएकी छन्। उनको स्वरमा यस्तो मिठास छ, जसले श्रोताको मन सहजै आकर्षित गर्छ र गीतको भावमा डुब्न बाध्य बनाउँछ।
सुहाङको नाता लिम्बुवान राज्यको चर्चित ऐतिहासिक स्थल हिलिहाङ दरबारसँग जोडिएको छ। नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुभाङ गाउँमा जन्मिएकी सुहाङले गाउँघरका उकाली–ओराली, मेलापात र गाईगोठ गर्दै आफ्ना आशा, सपना र भविष्यका सुन्दर कल्पना बोकेकी थिइन्। यही सपना साकार पार्ने उद्देश्यले उनी राजधानी काठमाडौँ प्रवेश गरेकी थिइन्।
सानै उमेरदेखि गीत गाउन सिपालु तथा कोइलीको जस्तै मिठासपूर्ण स्वर भएकी सुहाङको गायन यात्रा काठमाडौँ प्रवेश गरेपछि मात्र सुरु भएको होइन। गाउँघरमै रहँदा पनि उनी गीत गाउन निकै रुचाउँथिन्। यद्यपि, काठमाडौँ आएपछि भने उनी औपचारिक रूपमा गीत–संगीतको क्षेत्रमा सक्रिय हुन थालिन्। निरन्तरको अभ्यास, मेहनत र संगीतप्रतिको गहिरो लगावले उनलाई आजको स्थानसम्म पुर्याएको छ।
लिम्बुवान क्षेत्रमा सञ्चालन हुँदै आएको लोकप्रिय गायन प्रतियोगिता ‘लिम्बुवान आइडल’मा आफ्नो दमदार स्वर प्रस्तुत गरेपछि उनी अझ धेरै श्रोतामाझ परिचित हुन सफल भइन्। यही प्रतियोगिताले उनको सांगीतिक यात्रामा नयाँ मोड ल्यायो। त्यसपछि उनले आफ्नो सांगीतिक करियरमा पछाडि फर्केर हेर्नुपरेन। परिवारको साथ र सहयोगका साथै निरन्तरको मेहनत, लगनशीलता तथा इमानदारीको प्रतिफलस्वरूप उनले हालसम्म सयौँ गीतमा आफ्नो सुमधुर स्वर भरिसकेकी छन्।
नारायण रायमाझीको संगीतमा सजिएको ‘आगो पिएर बाँच्ने’ गीतको कभर संस्करणमा महिला स्वर दिएपछि सुहाङ एकाएक चर्चामा आएकी थिइन्। उनको सशक्त गायनले गीतको भावलाई थप जीवन्त बनाएको थियो। उक्त गीतलाई लाखौँ दर्शक तथा श्रोताले रुचाएका छन् भने युट्युबमा समेत लाखौँ पटक हेरिएको छ।
सुहाङको सांगीतिक विशेषता नेपाली भाषाका गीतमा मात्र सीमित छैन। उनले आफ्नै मातृभाषा लिम्बूमा पनि उत्तिकै समर्पित भएर गीत गाएकी छन्। लिम्बू भाषाका दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी उनी पालाम तथा याक्थुङ सांगीतिक परम्परालाई समेत निरन्तरता दिइरहेकी छन्। यसका अतिरिक्त उनले राई कुलुङ भाषाका गीतमा समेत आफ्नो स्वर दिएकी छन्। विभिन्न भाषा, संस्कृति र संगीतका विधालाई आत्मसात् गर्न सक्ने क्षमताले उनलाई बहुआयामिक अर्थात् ‘भर्सटाइल’ गायिकाका रूपमा स्थापित गर्दै लगेको छ।
उनले स्वर दिएका चर्चित लिम्बू गीतहरूमध्ये ‘ताङदिगेन्न सेप्माङ’, ‘खाम्बोङ सा’, ‘आमिकिन सिमसिम’, ‘याक्थुङ साम्लो’, ‘थिबोङ याक्थुङसा’, ‘याक्थुङ्बा आनि लच्छारो’ र ‘मिम्जिफूङ पालाम’ लगायतका गीत उल्लेखनीय छन्।
त्यसैगरी, ‘यो हातैमा बुनेको सिलाम साक्मा’, ‘हाक्पारे ख्याली गाउँदै’, ‘मुरिङला डाँडा’, ‘ल्याइदेऊ साइँला’, ‘हाक्पारे भिरैमा’, ‘चासोक फिर्दा’, ‘सोल्टिनीज्यू’, ‘माया बाँझियो’, ‘खोटाङे माया’, ‘छुकछुके रेलैमा’, ‘सहेली बेँसी’, ‘तेह्रथुमे सोल्टिनी’, ‘त्यो चिनो हातैमा’, ‘मनमा सधैँ’, ‘मान्छेको आधार’, ‘वरपीपल’, ‘तिमीलाई पराई’, ‘मेरो भाग्य’ र ‘आकाशका कालो बादल’ जस्ता गीतमा पनि उनले आफ्नो स्वर दिएकी छन्। यी गीतहरूमार्फत उनले विभिन्न सांगीतिक स्वादका श्रोता तथा दर्शकको मन जित्न सफल भएकी छन्।
‘आगो पिएर बाँच्ने’ गीतमा महिला स्वर दिएर चर्चा कमाएकी सुहाङले स्थापित गायकहरूसँग सहकार्य गर्दै आफ्नो सांगीतिक यात्रालाई थप फराकिलो बनाएकी छन्। कम उमेरमै छोटो समयभित्र हासिल गरेको यो सफलता उनको प्रतिभा, लगनशीलता र निरन्तरको साधनाको परिणाम हो। उनको परिचय मधुर स्वरमा मात्र सीमित छैन। शालीन व्यक्तित्व, आकर्षक मुस्कान र दर्शकसँग सहजै घुलमिल हुन सक्ने स्वभावले पनि उनलाई दर्शक तथा श्रोतामाझ प्रिय बनाएको छ। उनको प्रस्तुति हेर्न र स्वर सुन्न दर्शकहरू उत्साहपूर्वक उपस्थित हुने गरेका छन्। संगीतको यही आकर्षणले उनलाई देशभित्र मात्र नभई विदेशमा रहेका नेपाली समुदायमाझ समेत परिचित गराएको छ।
यसअघि हङकङ, कतार र दक्षिण कोरियालगायतका देशमा सांगीतिक प्रस्तुति दिइसकेकी सुहाङ अहिले सांगीतिक यात्राका क्रममा बेलायत आइपुगेकी छन्। बेलायतका विभिन्न स्थानमा बसोबास गर्दै आएका नेपाली समुदायमाझ आफ्नो सांगीतिक कोसेली पस्किन उनी व्यस्त छिन्। यहाँ आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै उनले आफ्ना दमदार प्रस्तुतिमार्फत बेलायतवासी नेपालीलाई मनोरञ्जन प्रदान गरिरहेकी छन्।
चिम्सो आँखा, सुगठित जिउडाल, आकर्षक व्यक्तित्व र मनमोहक मुस्कानले सजिएकी सुहाङको व्यक्तित्व र गायन कलाले धेरैको ध्यान आकर्षित गर्ने गरेको छ। उनको सांगीतिक प्रस्तुतिमा दर्शकहरूको तालीको गडगडाहट मात्र सुनिँदैन, गीतको तालमा झुम्नेहरूको उत्साहपूर्ण जमात पनि देखिन्छ। उनका प्रस्तुतिले कार्यक्रमस्थललाई नै सांगीतिक रौनकले भरिदिने गरेका छन्।
पहिलोपटक बेलायत आएर सांगीतिक प्रस्तुति दिइरहेकी सुहाङ अहिले निकै व्यस्त छिन्। बेलायतका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुँदै उनले नेपाली गीत–संगीतमार्फत प्रवासी नेपाली समुदायलाई एकआपसमा जोड्ने कामसमेत गरिरहेकी छन्। विदेशमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र संगीतप्रतिको प्रेमलाई जीवन्त राख्न उनले पुर्याएको योगदान प्रशंसनीय छ।
बेलायतमा रहेका नेपाली दर्शक तथा श्रोताको मन जित्दै सांगीतिक यात्रामा अघि बढिरहेकी सुहाङ अब चाँडै बेलायतको सांगीतिक यात्रा बिट मारेर स्वदेश फर्किने तयारीमा छिन्। उनको यो भ्रमण केवल मनोरञ्जन प्रदान गर्ने यात्रा मात्र नभई नेपाली गीत–संगीतलाई प्रवासी नेपालीमाझ पुर्याउने एउटा सुन्दर अवसरसमेत बनेको छ।