सीमान्तकृत वालुङ समुदायको मौलिक सांस्कृतिक पर्व फुटुक आज समापन हुँदैछ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि विधिवत् पूजापाठसहित सुरु भएको पर्व औँसीका दिन समापन गर्न लागिएको हो ।
फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष तथा ओलाङचुङगोलाका स्थानीय छेतेन लामाका अनुसार यो पर्व ओलाङचुङगोलामा मात्र विशेष रौनकका साथ मनाउने गरिन्छ । चीनसँगको सीमावर्ती क्षेत्रमा रहेको ओलाङचुङगोलामा बसोबास गर्ने वालुङ (भोटे) समुदायले परापूर्वकालदेखि नै यो पर्व धुमधामका साथ मनाउँदै आएका छन् ।
दस दिनसम्म मनाइने यस पर्वमा नेपालका विभिन्न स्थानका साथै भारतको दार्जिलिङबाट प्रमुख लामा सहभागी भएका छन् । पर्वको सुरुदेखि अन्तिमसम्म बौद्ध धर्मसंस्कारअनुसार लामाले पूजापाठ गर्ने परम्परा छ । आइतबार अर्थात् लक्ष्मीपूजाको दिनलाई मुख्य पूजाको दिन मानिन्छ ।
पर्व अवधिभर हरेक दिन मध्यरातमा लामाले पूजापाठ गर्नुका साथै देव नृत्य प्रदर्शन गर्ने गर्दछन् । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्दा निस्कने धुवाँ गुम्बाको धुरी नाघेमा शुभ हुने धार्मिक विश्वास रहेको छ ।
फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष महत्त्वका साथ लिइन्छ । यस अवधिमा प्रत्येक रात देव नृत्य अर्थात् देवता नाच प्रदर्शनसहित पूजा गरिन्छ । स्थानीयवासीका अनुसार पर्वमा सहभागी लामाहरूले देवता र राक्षसको मुखुन्डो लगाएर दुई पक्षबीचको युद्धको अभिनय गर्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् । पर्वमा सहभागी पाहुनाहरूले गुम्बानजिकै पाल तथा टेन्ट टाँगेर बस्ने गरेका छन् ।
ओलाङचुङगोलामा करिब साढे चार सय वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा रहेको छ । यस वर्षको फुटुक पर्वमा अमेरिका, भारतको सिक्किम, दार्जिलिङ तथा नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका वालुङ समुदायका सदस्य, आफन्त, नातेदार र भक्तजन सहभागी भएको लामाले बताउनुभयो ।
समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोला हिमाली बस्तीमा वालुङ समुदायको मात्रै बसोबास छ । यहाँ हाल ५२ घरपरिवार वालुङ समुदायका छन् भने जिल्लाकै उच्च बस्ती याङ्मा (चार हजार २०० मिटर) मा ११ परिवार बसोबास गर्दै आएका छन् ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
