ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा मंगलबार एकै दिन १० हजार ६१६ जना भक्तजनले दर्शन गरेका छन् । यो संख्या यस वर्षकै सबैभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका सूचना प्रविधि प्रमुख सन्तोष पुर्कुटीका अनुसार केही दिनअघिसम्म सुनसान रहेको पाथीभरामा कात्तिक तेस्रो सातासँगै दर्शनार्थीको चाप बढेको हो ।
गत वर्ष यसै समयमा नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको भीड लाग्ने गरेको थियो । तर, यस वर्ष शुक्र अस्तलगायतका कारण दर्शनार्थीको संख्या न्यून रहेको थियो । मौसमविद्ले देशभर वर्षा हुने पूर्वानुमान गर्दै टाढाको यात्रा नगर्न आग्रह गरेपछि तीर्थयात्रीको आगमनमा कमी आएको थियो ।
कात्तिक तेस्रो साताअघि नै मौसममा सुधार आएपछि र भ्रमणका लागि अनुकूल वातावरण बनेसँगै दर्शनार्थीको संख्या बढेको समितिले जनाएको छ । समितिका अनुसार सोमबार तीन हजार ५९० र आइतबार ६४० जना भक्तजनले पाथीभरा दर्शन गरेका थिए ।
दर्शनार्थीको चाप बढेसँगै होटल तथा यातायात व्यवसायीलाई व्यवस्थापन गर्न कठिन भएको छ ।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा देवीको दर्शनका लागि देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आउने गरेका छन् ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
