असाेज ३० गते २०८३
12:29: PM
असाेज ३० गते २०८३
12:29: PM

कञ्चनजंघा क्षेत्रमा पर्यटकहरुको आगमन सुरु

असाेज २८ गते २०८३
4:39 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकहरुको आगमन सुरु भएको छ । भदौको तेस्रो साता देखि यस क्षेत्रमा आन्तरिक पर्यटकहरु भ्रमण गर्न आउँन थलेका हुन ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को घुन्सा पर्यटन चेक पोष्टका पर्यटन सहायक टासी तेन्जिङका अनुसार सोमबार सम्ममा १७० जना बाह्य पर्यटकहरू कञ्चनजंघा हिमालको आधारशिविर पुगेका छन् भने कतिपय घुन्सा क्षेत्रमा विश्रम गरिरहेका छन ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । विशेष गरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकहरूको संख्या क्रमशः बढ्दै गएको छ ।

वर्षभरि कञ्चनजंघा क्षेत्रमा दुई मुख्य पर्यटकीय मौसम छन् । पहिलो याम चैत, वैशाख र जेठमा हुन्छ भने दोस्रो भदौदेखि मंसिरसम्म चल्छ । यस वर्षको भदौदेखि सुरु भएको याममा हालसम्म एक सय विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा पुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँच चौकी (चेकपोष्ट) कार्यालयको तथ्यांक छ । आन्तरिक पर्यटकको संख्या भने विदेशी पर्यटकको दोब्बर रहेको स्थानीय व्यवसायी बताउँछन् । परिषद्का पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार यसपटकको भ्रमणमा मुख्यतया फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत देशबाट पर्यटक आएका छन् । गत वर्षका तुलनामा यस वर्ष अझ बढी पर्यटक आएका छन्, यसले स्थानीय व्यवसायीलाई पनि उत्साहित बनाएको पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।

कञ्चनजंघा भ्रमणमा आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ । दसैँतिहारका समयमा आन्तरिक पर्यटकको ठूलो उपस्थिति देखिएको छ । दसैँतिहारका बेला विशेषगरी स्थानीय र नेपाली पर्यटकले परिवारसहित कञ्चनजंघा आधार शिविरको यात्रा गर्दछन् । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजंघा क्षेत्रका होटल र लज पूर्ण रूपमा भरिएको हुन्छ । कञ्चनजंघा क्षेत्रमा बढेको पर्यटक आगमनले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याएको छ । होटल, रेस्टुराँ, ट्रेकिङ गाइड, पोर्टर र हस्तकला व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । फुङ्लिङसहित आधार शिविर क्षेत्रमा सञ्चालित होटलमा पर्यटकको बाक्लो उपस्थिति देखिन्छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यसपटकको सिजनमा होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि अपेक्षा रहेको छ ।

पर्यटन व्यवसायी फुपुछोहाङ शेर्पाका अनुसार कञ्चनजंघा पर्यटक आगमनले ट्रेकिङ गाइड र पोर्टर पनि लाभान्वित भएका छन् । त्यस्तै, यातायात व्यवसायीसमेत लाभान्वित भएका छन् । मौसम प्रतिकूल नभएसम्म गाइड र पोर्टरले राम्रो आम्दानी गर्ने अवसर पाउँछन् । पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार विदेशी पर्यटक प्रायः लामो अवधि बस्ने हुँदा गाइड, पोर्टर र टेन्सनको माग पनि बढेको छ ।
कञ्चनजंघा क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरक्षण तथा प्रवद्र्धन गतिविधि चलाइएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवद्र्धनमा काम गरिरहेको छ । स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय छन् । पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्, जसमा हिमाली पर्वतारोहण मेला, सांस्कृतिक महोत्सव र स्थानीय उत्पादनको प्रदर्शनीजस्ता कार्यक्रम समावेश छन् । यस्ता गतिविधिले पर्यटकलाई आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

कञ्चनजंघा क्षेत्रमा पर्यटक आवतजावत गर्ने मुख्य दुई सिजन भए पनि असार र साउनमा वर्षाका कारण ट्रेकिङ मार्ग अवरुद्ध हुने समस्या रहन्छ । यसबाहेक पुस, माघ र फागुनमा हिमपातले गर्दा ट्रेकिङ मार्ग कठिन बन्छ, जसले गर्दा पर्यटकको आगमनमा कमी आउने गरेको घुन्सा क्षेत्रमा होटल सञ्चालक कान्छा शेर्पाले बताए । कञ्चनजंघा क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ विभिन्न योजना निर्माण भइरहेका छन् । स्थानीय प्रशासन र पर्यटन व्यवसायीको सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गर्न पहल हुँदै आएको छ । पर्यटन सहायक शेर्पाका अनुसार नयाँ पदमार्गको विकास, सुरक्षित आवास सुविधा र मार्गनिर्देशिका तयार पार्न विशेष योजना बनाइएको छ ।

यसका साथै पर्यटकको सुविधाका लागि आधार शिविर क्षेत्रमा वाइफाइ, प्राथमिक उपचार केन्द्र र पर्यावरणमैत्री शौचालयको व्यवस्थापनमा ध्यान दिइएको छ । कञ्चनजंघा क्षेत्र नेपालको एक महत्त्वपूर्ण पर्यटकीय सम्पदा हो, जसले आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गरिरहेको छ । पछिल्लो समय पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय व्यवसायलाई चलायमान बनाएको छ भने रोजगारका अवसर पनि बढेका छन् । पछिल्लो समयमा जलवायु परिवर्तन र मौसमको अनिश्चितताले दीर्घकालीन चुनौती सामना गर्नुपर्ने देखिन्छ । यसरी कञ्चनजंघा क्षेत्र विदेशी पर्यटकहरूका लागि मात्र नभई, आन्तरिक पर्यटकहरूको पनि रोजाइमा पर्न थालेको छ । तर आन्तरिक पर्यटकको विस्तृत तथ्यांक भने कार्यालयहरूमा सूचीकृत गरिएको छैन ।
कञ्चनजङ्घा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ । यस हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतः दुईवटा आधार शिविर दक्षिण आधार शिविर र उत्तरी आधार शिविर छन् ।

उत्तरी आधार शिविर (ओक्ताङ)
उत्तरी मार्गबाट कञ्चनजंघा आधार शिविर पुग्नका लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ । त्यसपछि जापनटारदेखि तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ । घुन्सा गाउँबाट थप तीन दिन पैदलयात्रा गरेपछि पाँच हजार दुई सय मिटरको उचाइमा अवस्थित ओक्ताङ पुग्न सकिन्छ, जुन कञ्चनजंघा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो । घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे, पर्यटक विश्रामस्थलहरू सञ्चालनमा छन्, जसले पर्यटकको बसोबासलाई सहज बनाएको छ ।

दक्षिण आधार शिविर (पाङपेमा)
दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङ्लिङ बजारबाट सवारी साधनमार्फत झण्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ । त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि ४,८०० मिटरको उचाइमा रहेको पाङपेमा पुगिन्छ, जुन कञ्चनजंघाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो । यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजंघासंरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भनाइ छ ।

हिमाल आरोहणको प्रक्रिया र चुनौती
हिमाल आरोहणकर्ताहरूले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी त्यसपछि क्रमशः क्याम्प १, २, ३ हुँदै शिखरतर्फ यात्रा गर्छन् । आरोहण सफल बनाउन गाइड, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ । कञ्चनजंघा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य ८,००० मिटर उचाइ भएका हिमालहरूमध्ये एकदमै कठिन मानिन्छ । बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिम लगायतले यसलाई चुनौतीपूर्ण बनाउँछन् । त्यसैले, यहाँको आरोहण सामान्यभन्दा लामो समय लिने र उच्च स्तरको तयारी आवश्यक पर्ने बताइन्छ ।
पर्यटन प्रवद्र्धन र सम्भावना
नेपालको पूर्वी क्षेत्रस्थित कञ्चनजंघा हिमाल नेपालको गौरव मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि पर्यटन सम्भावनाको धनी क्षेत्र हो । अवस्थित प्राकृतिक सौन्दर्य, जैविक विविधता, र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा अझ पर्यटन आकर्षण बढाउने सम्भावना देखिएको छ । यस क्षेत्रमा सञ्चार, र पूर्वाधार थप व्यवस्थित गरिएमा कञ्चनजंघा क्षेत्र साहसिक पर्यटक तथा ट्रेकिङ गन्तव्य बन्न सक्छ । ट्रेकिङ मार्गहरूमा नयाँ होमस्टे, बाटोमा संकेत चिन्हहरू, प्राथमिक उपचार केन्द्र, तथा आपतकालीन उद्धार सेवाहरू विस्तार भएमा अझ पर्यटकहरु भ्रमण गर्न आउँने छन् ।

कञ्चनजंघा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ । होमस्टे सञ्चालन, गाइड, पोर्टर, खच्चड सेवा, हस्तकलाका सामाग्री बिक्रीजस्ता माध्यमबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन् । ....

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo