भाद्र २६ गते २०८३
08:27: PM
भाद्र २६ गते २०८३
08:27: PM

रेडपाण्डा संरक्षणसँगै वन्यजन्तु उद्धार तालिम

भाद्र २६ गते २०८३
8:25 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा रेडपाण्डा तथा वन्यजन्तु नियन्त्रण र उद्धारसम्बन्धी चारदिने तालिम सञ्चालन गरिएको छ। रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको आयोजनामा वन्यजन्तुको संरक्षण, नियन्त्रण, उद्धार तथा उपचारसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

ताप्लेजुङलाई मुख्य कार्यक्षेत्र बनाएर जैविक विविधता तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्दै आएको हिमाली संरक्षण मञ्चले तालिम आयोजना गरेको कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो। उहाँका अनुसार तालिममा ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका विभिन्न सरोकारवाला निकायका ४१ जनाको सहभागिता रहेको थियो।

तालिममा सामुदायिक वनका हेरालु तथा वन अभिभावक, डिभिजन वन कार्यालयका कर्मचारी र भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयसँग सम्बन्धित प्रतिनिधिको सहभागिता रहेको थियो। वन्यजन्तुको उद्धारका क्रममा अपनाउनुपर्ने सावधानी, घाइते वन्यजन्तुको प्राथमिक उपचार, नियन्त्रण तथा सुरक्षित स्थानान्तरणलगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको राईले बताउनुभयो।

रेडपाण्डा संरक्षणसँगै विभिन्न कारणले घाइते भएका वन्यजन्तुको उद्धार तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो। वन्यजन्तु उद्धारका क्रममा हुने जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन तालिमले सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

तालिम जिल्ला सदरमुकाम फुङ्लिङस्थित हाब्रे सेन्टरमा चार दिनसम्म सञ्चालन भएको थियो। वन्यजन्तु उद्धारका क्रममा सम्बन्धित निकाय तथा समुदायबीच समन्वय आवश्यक हुने भएकाले तालिममा विभिन्न सरोकारवाला पक्षलाई सहभागी गराइएको आयोजकले जनाएको छ।

पछिल्लो समय वन कटान, वन क्षेत्रमा सडक तथा अन्य भौतिक संरचना निर्माणलगायत मानवीय गतिविधिका कारण वन्यजन्तुको प्राकृतिक बासस्थानमा असर पर्दै गएको छ। बासस्थानमा आएको परिवर्तन तथा खाद्य स्रोतको अभावका कारण वन्यजन्तु बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दै गएको हिमाली संरक्षण मञ्चले जनाएको छ।

वन्यजन्तु बस्तीमा प्रवेश गर्दा घरपालुवा जनावर तथा वन्यजन्तुबीच द्वन्द्व सिर्जना हुने, दुवै घाइते हुने तथा कतिपय अवस्थामा वन्यजन्तुको मृत्यु हुने जोखिमसमेत रहने गरेको छ। यस्तो द्वन्द्व न्यूनीकरण गर्नुका साथै बस्तीमा प्रवेश गरेका वन्यजन्तुलाई सुरक्षित रूपमा उद्धार गरी प्राकृतिक बासस्थानमा फर्काउन आवश्यक पर्ने ज्ञान र सीप प्रदान गर्न तालिम आयोजना गरिएको संस्थाले जनाएको छ।

रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा जैविक विविधता तथा रेडपाण्डा संरक्षणका क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएका छन्। हिमाली संरक्षण मञ्चका अनुसार ताप्लेजुङमा करिब ७७ देखि १३४ वटासम्म रेडपाण्डा रहेको अनुमान गरिएको छ। रेडपाण्डाको संरक्षणसँगै यसको बासस्थान संरक्षण, स्थानीय समुदायमा संरक्षणसम्बन्धी चेतना अभिवृद्धि तथा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणलाई संस्थाले प्राथमिकतामा राख्दै आएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo