पाँचथरको कुम्मायक–कार्तिकेस्थित तमोर करिडोरमा यात्रुबाहक बोलेरो गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पाँचथरबाट धरानतर्फ गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो करिब ५०० मिटर तल तमोर नदी किनारमा खसेको हो।
कोशी प्रदेश प्रहरीका डीआईजी ईश्वर कार्कीका अनुसार घाइतेमध्ये ५ जनालाई धरान र १ जनालाई फिदिम अस्पतालमा उपचारका लागि लगिएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र प्रारम्भिक अनुसन्धानअनुसार साँघुरो सडक र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको अनुमान गरिएको प्रहरीले जनाएको छ।