गत वैशाखको पहिलो साता ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा सम्पन्न कञ्चनजङ्घा हीरक महोत्सवमा करिब ३१ लाख रुपैयाँ घाटा भएको सार्वजनिक गरिएको छ।
शनिबार फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको हो। परिषद् अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार महोत्सवको कुल खर्च एक करोड आठ लाख ४४ हजार ३३६ रुपैयाँ पुगेकोमा सात७७ लाख ५० हजार रुपैयाँ मात्र आम्दानी भएको हो।
प्रदेश सरकारको प्रतिवद्धता पूरा भएन
परिषद्का अनुसार कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले गर्ने भनिएको ३० लाख रुपैयाँ सहयोग नपुगेपछि घाटा बेहोर्नु परेको हो। अध्यक्ष फेम्बुले भने, “निर्धारित स्रोतअनुसार खर्चको योजना बनाएर महोत्सव सञ्चालन गरियो, तर अन्तिममा अपेक्षित रकम नआएपछि घाटा भयो।”
सबैभन्दा ठूलो सहयोग समृद्ध पहाड नेपालबाट
महोत्सवमा ‘समृद्ध पहाड नेपाल’ संस्थाले सबैभन्दा धेरै २० लाख रुपैयाँ सहयोग गरेको थियो। त्यसैगरी, क्रिस्टल पावर डेभलपमेन्ट प्रालिले १० लाख र तमोर इनर्जी प्रालिले ७ लाख रुपैयाँ सहयोग गरेका थिए। अन्य दाताहरूबाट ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म सहयोग प्राप्त भएको परिषद् सदस्यसचिव मनकुमार राईले जानकारी दिए।
खर्च विवरण यस्तो छ:
- सांस्कृतिक कार्यक्रम र प्रदर्शनी: १६ लाख ४१ हजार १७७ रुपैयाँ
- अतिथि स्वागत सत्कार: १३ लाख २ हजार ४९९ रुपैयाँ
- खेलकुद (भलिबल प्रतियोगिता): १३ लाख १५ हजार ५२४ रुपैयाँ
- यातायात व्यवस्थापन: १२ लाख ५० हजार १०१ रुपैयाँ
- अन्य शीर्षकहरू: बाँकी रकम विभिन्न प्रशासनिक र व्यवस्थापकीय खर्चहरूमा
७० वर्षअघि कञ्चनजङ्घा आरोहणको सम्झनामा
सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको पहिलो सफल आरोहण गरेका थिए। सोही ७० औँ वर्षगाँठको अवसरमा 'हीरक महोत्सव' आयोजना गरिएको थियो।
पत्रकार सम्मेलनमा संरक्षण अधिकृत प्रमोदकुमार यादव, ‘समृद्ध पहाड नेपाल’की कार्यक्रम संयोजक चित्राकुमारी चङ्सुलगायतको उपस्थिति थियो। परिषद्ले घाटाको परिपूर्ति गर्न विभिन्न संघ–संस्था तथा निकायसमक्ष सहयोगका लागि अपिल गरेको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
