ताप्लेजुङमा यस वर्ष दुई हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । यही चैत ७ गतेदेखि सुरु हुने परीक्षामा नियमित र ग्रेडवृद्धि गरी दुई हजार २७२ परीक्षार्थी सहभागी हुने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका अनुसार सहभागीमध्ये एक हजार ५३७ जना नियमित र ७३५ जना ग्रेडवृद्धि परीक्षार्थी रहेका छन् । साधारण धारतर्फ नियमित एक हजार ४१५ र ग्रेडवृद्धिका ७१० जना तथा प्राविधिक धारतर्फ नियमित १२२ र ग्रेडवृद्धिका २५ जना परीक्षार्थी रहेको एकाइ प्रमुख युगमणि सबेहाङले जानकारी दिनुभयो ।
एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सबेहाङले परीक्षा केन्द्र निर्धारण भइसकेको र प्रश्नपत्र तथा उत्तरपुस्तिका जिल्ला भित्रिसकेको जानकारी दिनुभयो । परीक्षा सामग्री सम्बन्धित केन्द्रमा पठाउने कार्य सुरु भइसकेको र केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गराउने तयारी रहेको पनि उहाँले बताउनुभयो । परीक्षा केन्द्रमा रहेका विद्यालयका प्रधानाध्यापकहरूलाई नै केन्द्राध्यक्ष तोकिएको छ ।
जिल्लाका ७० माध्यमिक विद्यालयमध्ये १७ वटामा परीक्षा केन्द्र तोकिएको छ । फुङ्लिङ नगरपालिकामा भानुजन, युवावर्ष, बाल सुबोधिनि संस्कृत, जनता र सिद्धकाली माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । मिक्वाखोला गाउँपालिकामा मोती मावि खोक्लिङ, मेरिङदेन गाउँपालिकामा त्रिभुवन मावि थुकिमा, सिरिजङ्घा गाउँपालिकामा सिनाम, तेल्लोक र गणेश मावि खेवाङमा परीक्षा केन्द्र तोकिएको छ ।
त्यसैगरी, मैवाखोला गाउँपालिकामा मैवाखोला मावि, आठराई त्रिवेणी गाउँपालिकामा सरस्वती मावि हाङ्पाङ र पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माविमा परीक्षा केन्द्र तोकिएको छ । फक्ताङ्लुङ गाउँपालिकामा सिँवा मावि र सरस्वती मावि तापेथोकमा परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
