ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मुक्कुमलुङमा संरक्षणका लागि विशेष पैदलयात्रा कार्यक्रम सुरु भएको छ। मुक्कुमलुङ तान्छेप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संरक्षण संघर्ष समितिको आयोजनामा भएको यो यात्रा फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।
नो केबलकार समूहका अगुवा नवीन पोमुका अनुसार यो अभियानमा जिल्लाबाहिरबाट समेत श्रद्धालु तथा अभियन्ता सहभागी हुन थालेका छन्। मंगलबारदेखि नै ताप्लेजुङमा पैदलयात्राका लागि विभिन्न समूहहरू आइपुगेका छन्। पैदलयात्राका क्रममा सहभागीहरूले मुक्कुमलुङ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउँदै मानव र चराचर जगतको कल्याणको लागि विधिपूर्वक पूजापाठ समेत गरिरहेका छन्।
केबलकारको खारेजी प्रमुख माग
नो केबलकार समूहका अनुसार पाथीभरा क्षेत्रमा केबलकार निर्माणको प्रयास वातावरणीय, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अनुपयुक्त छ। नवीन पोमुका अनुसार केबलकार खारेज मुख्य सर्त यथावत रहेको छ र यसका लागि निरन्तर दबाब दिने रणनीति तयार गरिएको छ।
पाथीभरा मुक्कुमलुङ क्षेत्रलाई प्राकृतिक तथा धार्मिक रूपमा अक्षुण्ण राख्नुपर्ने पक्षधरहरूले यसअघि पनि विभिन्न चरणमा प्रदर्शन तथा दबाबमूलक कार्यक्रम गरिसकेका छन्। उनीहरूका अनुसार केबलकार निर्माण भएमा धार्मिक आस्था प्रभावित हुने, पर्यावरणीय सन्तुलन बिग्रिने, र स्थानिय समुदायमा नकारात्मक असर पर्नेछ।
सरकारको भूमिकाप्रति असन्तुष्टि
संघर्षरत पक्षले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार शान्तिपूर्वक प्रदर्शन गरिरहेका नागरिकमाथि माघ १२ गते प्रहरीले गोली चलाएको, अभद्र व्यवहार गरेको र केबलकारकै पक्षमा सरकार उभिएको आरोप लगाइएको छ।
यात्राका सहभागीहरू अनुसार शान्तिपूर्ण आन्दोलनमा दमन हुनु गैरलोकतान्त्रिक व्यवहार हो। यस किसिमको गतिविधिले आमनागरिकको आत्मसम्मानमा चोट पुर्याउने तथा आन्दोलन अझ सशक्त बनाउनुपर्ने संकेत दिएको उनीहरूको भनाइ छ।
पैदलयात्राको विशेषता
पैदलयात्रा क्रममा सहभागीहरूले मुक्कुमलुङ संरक्षणको सन्देशसहित विभिन्न सांस्कृतिक तथा धार्मिक क्रियाकलाप गरिरहेका छन्। विभिन्न जातजातिका प्रतिनिधिहरू, अभियन्ता तथा संरक्षणकर्मीहरू यात्रामा सहभागी छन्।
यस यात्राको मुख्य उद्देश्य मुक्कुमलुङ क्षेत्रको मौलिक पहिचान जोगाउनु, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु, र बाह्य हस्तक्षेप रोक्न दबाब दिनु रहेको आयोजकहरूले बताएका छन्।
मुक्कुमलुङ संरक्षणको दीर्घकालीन योजना
संघर्ष समितिले दीर्घकालीन रूपमा मुक्कुमलुङ क्षेत्रको संरक्षणका लागि विविध योजनाहरू अघि सारेको छ। मुक्कुमलुङ प्राकृतिक तथा धार्मिक महत्त्व बोकेको स्थल भएकाले यहाँको मौलिकता जोगाउन विभिन्न पहल गरिने जनाइएको छ।
पैदलयात्रा पछि थप रणनीति बनाइने र आवश्यक परे निरन्तर संघर्ष गरिने संघर्ष समितिले जनाएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
