“बेलायतको नेपाली मेलामा किराँती धर्मावलम्बीहरूको मौलिक माङलाङ केलाङ झाँकी प्रदर्शन
Phaktanglung Darpan
भाद्र ११ गते २०८१
6:19 pm
फक्ताङलुङ दर्पण
सिक्कुम ज्ञानु फुरुम्बाे चरपे/ बेलायत
२५ अगस्ट २०२४, आइतबारका दिन बेलायतको केम्पटोन रेसकोर्समा सम्पन्न नेपाली मेलामा किराँती धर्मावलम्बीहरूले आफ्ना मौलिक भेषभूषा सहित माङलाङ केलाङ झाँकी प्रदर्शन गरेका छन्। नेपाली एम्बासी र तमुधीको संयुक्त आयोजनामा भएको उक्त मेला बेलायतमा हुने सबैभन्दा ठूलो एक दिने नेपाली मेला हो।
किराँत धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके र भातृ संगठन किराँत साम्यो साक्थिम्गेन्न पान्जुभो युकेको संयुक्त सहभागितामा किराँत धर्मावलम्बीहरूले परम्परागत तागा बा, मेक्लि, साम्याङफुङ, नेसेफुङ जस्ता भेषभूषामा सजिएर च्याब्रुङ, झेम्टा, धार्मिक झण्डा र ब्यानर सहित शानदार झाँकी प्रदर्शन गरेका थिए।
युकेभरि बसोबास गर्दै आएका किराँती धर्मावलम्बी तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको उक्त झाँकीलाई सफल बनाउन किराँत धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके, किराँत साम्यो नालिफुङवा पान्जुभो युके, किराँत साम्यो माङसेवा साबा किरात माङहिम समिति युके लगायत विभिन्न संस्थाहरूको विशेष पहल र संयोजन गरिएको थियो।
यसअघि पनि युकेमा आयोजना गरिने सिसेक्पा तङनाम, चासोक तङनाम, महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती, वार्षिक चोमेन सेवा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूमा किराँत धर्मावलम्बीहरूको मौलिक सहभागिता रहँदै आएको छ।प्रत्येक वर्ष नेपाली एम्बासी र तमुधीले संयुक्त रूपमा आयोजना गर्ने नेपाली मेलामा दश हजार भन्दा बढी नेपालीहरू सहभागी हुने गर्छन्। बिभिन्न जातीय संघ(संस्थाहरूले आफ्ना मौलिक झाँकीहरू प्रदर्शन गर्दै सहभागी जनाउने यस मेलामा यस पटक युकेमा बसोबास गर्ने किराँत धर्मावलम्बीहरूले पनि आफ्नो मौलिकता झल्काउने झाँकी प्रदर्शन गरेका थिए।