सूचना विभागद्वारा ताप्लेजुङका पत्रकारलाई क्षमता अभिवृद्धि तालिम
Phaktanglung Darpan
वैशाख १७ गते २०८१
8:50 pm
फक्ताङलुङ दर्पण
सूचना तथा प्रसारण विभागले ताप्लेजुङका पत्रकार तथा सञ्चारकर्मीलाई तालिम तथा घुम्ती सेवा प्रदान गरेको छ । ताप्लेजुङमा रहेर पत्रकारिता गर्दै आएका स्थानीय पत्रकारलाई विभागले क्षमता अभिवृद्धि तालिम साथै घुम्ती सेवा प्रदान गरेको हो । विभागको दुर्गम क्षेत्रमा कार्यरत पत्रकार लक्षित क्षमता अभिवृद्धि तालिम कार्यक्रमअन्तर्गत ३३ जना पत्रकारहरूको सहभागितामा तालिम सहभागिता रहेको थियो । आइतबार र सोमबार दुई दिन सञ्चालित तालिममा एफएम रेडियो, अनलाइन, पत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । तालिममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डाक्टर विजय मिश्रले सहजीकरण गर्नुभएको थियो । समाचार लेखन, सङ्कलन, अभिव्यक्ति शैली, अन्तर्वार्ताजस्ता पत्रकारिताभित्रका तत्त्वहरूका विषयमा डा. मिश्रले प्रशिक्षण दिनुभएको थियो । प्रेस पास (पत्रकार परिचयपत्र) १६ जनाले नविकरण गर्नु भएको र १३ जना पत्रकारको नयाँ प्रेस पास काड बनाएको सूचना विभिगका सूचना तथा प्रसारण विभागका शाखा अधिकृत टेकबहादुर वलीले बताउनुभयो । वलीका अनुसार तीन नयाँ अनलाईन सञ्चार माध्यम दर्ता भएको र चार वटा अनलाइन सञ्चार माध्यम नविकरण गरिएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको समन्वयमा सूचना तथा प्रसारण विभागका शाखा अधिकृत टेकबहादुर वलीको नेतृत्वमा घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविरमा पत्रकार परिचयपत्र वितरण तथा नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणजस्ता सेवा प्रवाह प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष आनन्द गौतमले घुम्ती शिविर सञ्चालन गरेर सेवा प्राप्त गर्ने अवसर प्राप्त भएकोमा सूचना तथा प्रसारण विभागप्रति आभार व्यक्त गर्नुभयो ।