पछिल्लो समयमा ताप्लेजुङमा धुपीपात संकलन क्रमिक घढ्दै गएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्यांक अनुसार प्रत्येक वर्ष धुपीपात संकलन घढ्दै गएसंगै राजस्व समेत घढ्दै गएको हो । चालू आर्थिक वर्षमा ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनबाट १७ हजार ५०० किलो धुपीपात संकलन भएको छ । हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष संकलन हुँदै आएको छ । चालु आर्थिक वर्ष मा १७ हजार ५०० किलो धुपी संकलन हुदाँदा प्रतिकेजी २ रूपैयाँका दरले ३५ हजार रूपैयाँ राजस्व जिल्ला वन कार्यालयमा जम्मा भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । गत वर्ष २२ हजार ५०० केजी धुपीपता संकलन हुदाँ ४५ हजार रुपैयाँ राजस्व जम्मा भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा ३५ हजार केजी धुपीपात संकलन भएको थियो सो वापत ७० हजार राजस्व डिभिजन वन कार्यलय ताप्लेजुङमा जम्मा भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्यांकले जनाएको छ । पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिजन्य तेलसमेत निकालेर राम्रो मूल्यमा बिक्री हुने गरेको छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । फक्ताङलुङ गाउँपालिका—६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको सञ्चालक पेमा शेर्पा बताउनुभयो । घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर ३ हजार ५०० दरले बिक्री हुने गरेको सञ्चालक शेर्पाले बताउनुभयो । राष्ट्रिय वन संकलित धुपीपात व्यापारीले प्रतिकिलो रु ६० का दरले खरीद गर्दै आएको मिक्वाखोला गाउँपालिका–५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताउनुभयो । हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने व्यापारी शेर्पाले बताउनुभयो । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो १६० रूपैयाँका दरले खरिद बिक्री हुने व्यापारी शेर्पाले बताउँनुभयो । उहाँले भन्नुभयो “हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पुर्याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौँ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन् ।” नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च भएको व्यापारी शेर्पाले बताउनुभयो । …