ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा साढे आठ करोड रुपियाँ बराबरको भेटी सङ्कलन भएको छ । भक्तजनले पाथीभरामाा चढाएको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार मङ्सिर मसान्त सम्ममा आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपियाँ भेटी रकम सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पछिल्लो दुई महिना अर्थात कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपियाँ भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्त सम्ममा दश लाख ७० हजार ७८७ रुपियाँ खर्च भएको क्षेत्र विकास समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ । खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार ५४८ रुपियाँ बैङ्कमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । बैंकमा मुद्दती खातामा छ करोड ८८ लाख रुपियाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार ४४० रुपियाँ रहेको समितिले जानकारी दिएको छ । …