=
ताप्लेजुङमा अवस्थित पाथीभरा मुक्कुम्लुङ जाने पदमार्गमा सोलार बत्ती जडान गरिएको छ । दाताहरुबो प्राप्त ८० थान सोलार बत्ती जडान गरिएको हो ।
छिमेकी राष्ट्रि भारतको सिलिगुडी निवासी दुई जना भक्तजनले ८० थान सेन्सर सोलार बत्ती निःशुल्क पाथीभरा क्षेत्र विकास समितिलाई उपलब्ध गराएको हो । सिलिगुडीमा सोलार कम्पनी सञ्चालन गरिरहेका सरोज लामा र नवलकिशोर मिश्रले संयुक्त रूपमा उक्त बत्ती सौजन्य गर्नुभएको हो ।
रातको समयमा भक्तजनलाई पाथीभरा धाम पुग्न सहज होस् भनेर माथिल्लो फेदीस्थित प्रवेशद्वारदेखि मन्दिरसम्म विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार साँझ स्वचालित रूपमा बल्ने सोलार बत्ती बिहान भएपछि आफैँ निभ्ने गर्दछ । बत्ती जडान भएपछि राति अबेर तीर्थयात्रामा हिँड्ने भक्तजनलाई सहज हुने उहाँको अपेक्षा छ ।
महतका अनुसार सोलार बत्ती सौजन्यकर्ता लामा र मिश्र हिउँद याममा पाथीभरा दर्शनका लागि आएका थिए । त्यस क्रममा पाथीभरा पदमार्गमा बत्तीको अभावका कारण भक्तजनले भोग्नुपरेका समस्याबारे जानकारी गराएपछि उहाँरूले बत्ती सौजन्य गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार बत्ती सौजन्य गरी जडान गरिएको हो ।
समुद्र सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा रहेको प्रसिद्ध शक्तिपीठ पाथीभरामा नेपाल र भारतबाट मात्रै नभई तेस्रो मुलुकबाट समेत भक्तजन आउने गरेका छन् । विशेषगरी दसैँको नवरात्रको समयमा पाथीभरा दर्शन गर्ने भक्तजनको संख्या उच्च हुने गरेको पाथीभार क्षेत्र विकास समितिले जनाएको छ ।..
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
