ताप्लेजुङ जिल्ला पर्यटकीय सम्भावनाले सम्पन्न क्षेत्र हो। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, सुन्दर तालहरू, हरियाली फाँट र प्राकृतिक विविधताले यो जिल्ला परिचित छ । तर, साना तर ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेका धेरै पर्यटकीय स्थलहरू पर्याप्त प्रचार–प्रसारको अभावमा अझै गुमनाम अवस्थामा रहेका छन् ।
यस्तै, जिल्लाको मैवाखोला गाउँपालिका केन्द्र साँघु बजार नजिकै रहेको माङमाया छाङ्गा पनि प्रचारको कमीका कारण अपेक्षित रूपमा चिनिन सकेको छैन । स्थानीय सरकारको पहलमा छाङ्गा क्षेत्रको प्रवद्र्धनका लागि केही भौतिक संरचना निर्माण गरिएको छ। छाङ्गा नजिकसम्म मोटरबाटो पुगेको छ भने करिब १० मिनेट पैदल हिँडेपछि सजिलै छाङ्गासम्म पुग्न सकिन्छ ।
छाङ्गा झर्ने स्थानमा बेलिब्रिज, अवलोकन तथा मनोरञ्जनका लागि पुल, पोखरी, पूजा–पाठका लागि गुम्बा र माने निर्माण गरिएको छ । माङमाया छाङ्गा बाह्रै महिना झर्ने गर्दछ। हिउँद याममा पानीको बहाव केही कम हुने भए पनि वर्षायाममा छाङ्गा अत्यन्तै आकर्षक र विशाल देखिन्छ, जसले पर्यटकहरूको मन लोभ्याउने गर्दछ ।
छाङ्गा नजिकै मैवाखोला गाउँपालिकाको पहलमा निर्माण गरिएको भ्यु टावरले यस क्षेत्रको पर्यटकीय महत्व थप बढाएको छ । साथै, नजिकै बौद्ध धर्मावलम्बीहरूको गुम्बा पनि रहेको छ, जहाँ पुग्ने पर्यटकहरूले दर्शन गर्ने अवसर पाउँछन् ।
थोरै तलतिर रमिते ढुङ्गा रहेको छ, जुन यस क्षेत्रको अर्को आकर्षण हो । यहाँ पुग्ने अधिकांश आगन्तुकहरूले रमिते ढुङ्गामा उभिएर तस्बिर तथा भिडियो खिच्ने गर्दछन्। यद्यपि, ढुङ्गाबाट तल झर्ने जोखिम भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ ।
मैवाखोला गाउँपालिका केन्द्र साँघुमा केही समय बस्नुपर्ने पर्यटकहरूका लागि माङमाया छाङ्गा, भ्यु टावर, गुम्बा र रमिते ढुङ्गा जस्ता स्थलहरू घुम्न उपयुक्त गन्तव्यका रूपमा रहेका छन् । उचित प्रचार–प्रसार र थप पूर्वाधार विकास भएमा माङमाया छाङ्गा जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ ।