ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ। विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा हुने यो प्रतियोगिता साहसिक खेलप्रेमीहरूका लागि विशेष आकर्षण रहनेछ।
गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिने छ। समुद्री सतहदेखि ४,५०० मिटर उचाइ मा प्रतिस्पर्धा गराइने योजना रहेको छ।
आकर्षक नगद पुरस्कार
प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ।
- प्रथम स्थान: रु. २,०८,५८६
- द्वितीय स्थान: रु. १,०८,५८६
- तृतीय स्थान: रु. ८५,५८६
दौडको मार्ग
कार्यपालिकाको निर्णयअनुसार म्याराथन २४ किलोमिटर दूरी मा सञ्चालन हुनेछ। प्रतिस्पर्धीहरूले नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ, दुण्डु डाँडा, ढाउँ चौक, भेडी चौक हुँदै मछेवा सम्म दौडिने छन्।
माउन्टेन साइकलिङ कार्यक्रम पनि हुने
म्याराथनसँगै हिमाली क्षेत्रमा माउन्टेन साइकलिङ कार्यक्रम समेत आयोजना गरिने भएको छ। साथै, जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमनसमेत गर्न सकिने आयोजकको अपेक्षा रहेको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
