श्रावण १० गते २०८३
08:40: PM
श्रावण १० गते २०८३
08:40: PM

पाथीभरा केबलकार : रुख कटानसँगै आन्दोलन चर्किंदै

माघ ३० गते २०८१
7:36 pm
Author Avatar
फक्ताङलुङ दर्पण

पाथीभरा केबलकार : रुख कटानसँगै आन्दोलन चर्किंदै

पाथीभरामा निर्माणाधीन केबलकारका लागि बुधबार रुख कटान गरिएको छ। बिहानैदेखि सुरु गरिएको कटान कार्य अन्तिम चरणमा पुगेको पाथीभरा–मुक्कुमलुङ दर्शन केबलकार प्रालिले जनाएको छ। यसअघि जेठ महिनामा पनि एकाविहानै रुख कटान गरिएको थियो। निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका अनुसार, कटान आदेशअनुसार मात्र रुखहरू काटिएको दाबी गरिएको छ।

वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार, पन्ध्र इन्चसम्मको एक हजार ९०५ रुख, २०७ ठूला रुखसहित कुल दुई हजार ११४ रुख कटान गरिनेछ। साना बुट्यानहरू समेत हटाइने छन्। यद्यपि, रुख कटानका कारण आसपासका अन्य रुखहरू पनि क्षतिग्रस्त भएका छन्। विशेषगरी, भिरालो जमिनमा मुश्किलले उम्रिएका रुखहरू समेत मासिएका छन्।

केबलकार निर्माण कार्य र योजना

फुङलिङ नगरपालिका–११ फावाखोलाबाट सुरु हुने केबलकारको ल्यान्डिङ स्टेसनसम्मको दूरी दुई हजार ७०० मिटर रहनेछ। निर्माण कम्पनीका अनुसार, यस क्षेत्रमा १३ वटा टावर निर्माण गरिनेछ, जसमा ३८ वटा गोन्डोला केबलकार डिब्बा सञ्चालनमा आउनेछन्। तीमध्ये दुई वटा फोहोर व्यवस्थापन र सामग्री ढुवानीका लागि प्रयोग गरिनेछन्। आठ जना यात्रु अट्ने मोनो–केबल प्रविधिको यो प्रणालीले प्रतिघण्टा एक हजार तीर्थयात्री पाथीभरामा पुर्याउने लक्ष्य राखिएको छ। यात्रुहरूले मन्दिर पुग्न करिब ८०० मिटर पैदल यात्रा गर्नुपर्नेछ।

निर्माणस्थलमा यात्रु प्रतीक्षालय, शौचालय, पिउने पानीको सुविधा तथा अशक्त एवं बिरामीहरूको लागि आवश्यक संरचना निर्माण गरिनेछ। केबलकार परिसरभित्र होटल बनाउने योजना स्थानीयको विरोधपछि हटाइएको छ। ‘नो केबलकार’ समूहको आन्दोलन र स्थानीय असन्तुष्टिका कारण कम्पनीले होटल संरचना नराख्ने निर्णय गरेको हो।

विरोध र सामाजिक असन्तुष्टि

रुख कटानसँगै केबलकार निर्माणप्रति असन्तुष्टि झन् चर्किएको छ। ‘नो केबलकार’ समूह तथा पहिचान पक्षधर समूहहरूले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्। उनीहरू वार्ता प्रक्रिया बेवास्ता गर्दै सरकार र निर्माण कम्पनीले दबाबमा काम अघि बढाएको आरोप लगाइरहेका छन्।

नो केबलकार समूहका नेता नविन पोमूले सुरक्षाकर्मी परिचालन गरेर विकास गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले भने, ‘सुरक्षाकर्मी राखेर विकास हुँदैन, बरु त्रास सिर्जना हुन्छ।’ मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केबलकार खारेजी संयुक्त संघर्ष समितिले केबलकार रोक्न माग गर्दै आन्दोलन जारी राख्ने बताएको छ।

गत माघ १२ गते केबलकारको विरोधमा भएको झडपमा दुई जनालाई गोली लागेको थियो भने तीन जना गम्भीर घाइते भएका थिए। तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि पछि रिहा गरिएको छ। घाइतेहरूको उपचार जारी छ।

आन्दोलन र सरकारको प्रतिक्रिया

केबलकारविरुद्ध ताप्लेजुङसँगै पाँचथर, इलाम, झापा, तेह्रथुम र काठमाडौंसम्म विरोध प्रदर्शन भएका छन्। तर, वार्ता र आन्दोलनमा स्थानीयभन्दा बाहिरका समूह बढी हावी भएको भन्दै सरकारले आन्दोलनलाई कम महत्व दिएको बताइन्छ।

यसबीच, केबलकार निर्माण कार्य भने धमाधम अघि बढिरहेको छ। बटम स्टेशन निर्माण फिनिशिङ चरणमा पुगेको छ भने अन्य संरचनाहरूको कामलाई तीव्रता दिइएको छ। अबको केही महिनाभित्र परीक्षण सञ्चालन गर्ने निर्माण कम्पनीको योजना छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo