ताप्लेजुङको फुङलिङ नगरपालिका–11 पाथिभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। शनिबार बेलुकी भएको झडपमा गोली लागेर दुई व्यक्ति गम्भीर घाइते भएका छन्। घाइते हुनेमा यमबहादुर लिम्बू र धर्मान पालुङ्वा रहेका छन्, जसको उपचार ताप्लेजुङस्थित जिल्ला अस्पतालमा भइरहेको छ।
झडपको पृष्ठभूमि
पाथिभरा क्षेत्रको बलुडाँडा आसपास ‘नो केबलकार समूह’ ले केबलकार निर्माणको विरोधमा प्रदर्शन गरिरहेको थियो। प्रदर्शनकै क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्रप्रसाद शर्माका अनुसार सुरक्षाकर्मीमाथि गुलेली र ढुंगाबाट आक्रमण भएपछि गोली चलाइएको हो। ‘दुई जना घाइते भएका छन्। घटना साँझ करिब ६ बजेको हो,’ सीडीओ शर्माले बताए।
यस क्षेत्रमा दिनभर तनावपूर्ण अवस्था रहेको र पटकपटक झडप भएको जनाइएको छ। पहिचान पक्षधर सुमन लावती पनि यसैक्रममा घाइते भएका थिए।
केबलकार निर्माणको विवाद
पाथिभरा क्षेत्रमा निर्माणाधीन केबलकारलाई लिएर स्थानीय पहिचान पक्षधरहरूले लामो समयदेखि विरोध गर्दै आएका छन्। उनीहरूका अनुसार केबलकार निर्माणले पाथिभरा क्षेत्रको सांस्कृतिक र धार्मिक पहिचानलाई खतरामा पार्छ। मंगलबारबाट निर्माण कम्पनीले काम थालेलगत्तै तनावको स्थिति सिर्जना भएको थियो।
‘नो केबलकार आन्दोलन’ का आयोजकहरूले आइतबार थप आन्दोलन गर्ने तयारी गरिरहेका थिए। त्यसैका लागि बलुडाँडामा भेला भएका उनीहरूलाई तितरबितर पार्न सुरक्षाकर्मी पुगेका थिए। दिउँसो सुरक्षाकर्मीले प्रदर्शनकारीका केही सामग्री पनि नियन्त्रणमा लिएको थियो। साँझ पुन: झडप भएपछि प्रहरीले गोली चलायो।
आन्दोलनकारीको आरोप
किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले राज्यले शान्तिपूर्ण विरोधका क्रममा बल प्रयोग गरेको आरोप लगाइन्। ‘आइतबारबाट हाम्रो शान्तिपूर्ण विरोधको कार्यक्रम थियो। विरोधका लागि साथीहरू पुगेका ठाउँमा राज्यले बल प्रयोग गरेको छ,’ उनले भनिन्। ‘हाम्रा दुईजना साथीहरू गोली लागेर गम्भीर घाइते हुनुहुन्छ।’
वर्तमान अवस्था
घटनाको छानबिन भइरहेको जनाउँदै सीडीओ शर्माले थप विवाद रोक्न सुरक्षाकर्मी परिचालन गरिएको बताए। पाथिभरा क्षेत्रमा थप आन्दोलन हुन सक्ने आशंकाले स्थिति अझै तनावपूर्ण रहेको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
