सीता माबो, ताप्लेजुङ
सिरिजङ्गा गाउँपालिका–६, सुदापस्थित सुदाप आधारभूत विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विगत तीन वर्षदेखि निर्माण भइरहेको एकतले भवनमा अहिले छाना लगाउने काम भइरहेको छ।
भवन निर्माणका लागि कोशी प्रदेश सरकारबाट आठ लाख रुपैयाँ बजेट छुट्याइएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजिमान गौतमका अनुसार जस्ता पाता, काठ, ढुङ्गा र सिमेन्टको प्रयोग गरेर यो बजेटमा भवन निर्माण पूरा हुनेछ।
सिरिजङ्गा गाउँपालिकाको पहलमा तीन वर्षअघि सुरु भएको यो परियोजनालाई चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्थानीयवासीको प्रत्यक्ष संलग्नतामा निर्माण कार्य भइरहेको अध्यक्ष गौतमले बताए।
विद्यालयको नयाँ भवनले विद्यार्थीलाई पठनपाठनका लागि सहज वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ। भवनमा जस्ताको छाना लगाएर आधुनिक र आकर्षक बनाउने योजना विद्यालय व्यवस्थापन समितिको रहेको छ।
गाउँमा आधारभूत विद्यालयको नयाँ भवन निर्माणले स्थानीयवासीलाई निकै उत्साहित बनाएको छ। शिक्षा क्षेत्रमा सुधारको यो पहलले गाउँको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
