ताप्लेजुङ प्रहरीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा स्थानीय मुद्दाहरू र दैनिक जीवनसँग सम्बन्धित विभिन्न विषय उठान गरिएको छ। फुङलिङ नगरप्रमुख अमिर मादेनले लामो समय थुनामा रहेका मञ्जुल निरौलाको हिरासतलाई ‘गैर न्यायिक’ भनेका छन्। प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य र जिल्ला प्रहरी प्रमुख रवि रावलले निरौलाको विषय अदालतमा विचाराधीन भएकाले थप टिप्पणी नगर्ने बताए।
हराएको व्यक्ति वीरेन्द्र लिम्बूको घटनामा निरौलामाथि अपहरणको आरोप लागेको थियो, जुन मुद्दा अझै अदालतमा प्रक्रियामा छ। नगर उपप्रमुख भीमादेवी ओझाले निरौलाको हिरासतबारे प्रश्न गरेपछि प्रहरी प्रमुखले अनुसन्धान अदालतको अधिकारक्षेत्रमा पर्ने बताए।
सुनुवाईमा व्यवसायी तारानाथ बरालले सडक र पुल भत्किँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको बताए। प्रजिअ आचार्यले उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चय गर्दा समस्या भएको र आवश्यक परे हेलिकोप्टर मार्फत सामग्री आपूर्ति गरिने आश्वासन दिए।
पाथीभरा क्षेत्रका सदस्य तेजबहादुर भट्टराईले तीर्थक्षेत्रमा सुरक्षा गस्ती बढाउन माग गरे भने होटल व्यवसायी संघका बिमल भण्डारीले ट्रयाक्टर र सवारी साधनको गति नियन्त्रण गर्न आग्रह गरे। कार्यक्रमको अन्त्यमा प्रहरी प्रमुख रावलले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गरिने बताए।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
