नवलपरासीको महेशपुरस्थित स्मार्ना चर्चमा भएको तोडफोडको घटनाप्रति एपी नागरिक पार्टीले घोर भर्त्सना गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ। पार्टी अध्यक्ष दलमर्दन कामीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा खेद व्यक्त गरेका छन्।
अध्यक्ष कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "महेशपुरको स्मार्ना चर्चमाथि भएको आक्रमण तथा देशभरका विभिन्न स्थानमा चर्च, पाष्टर, अगुवा, र इसाई समुदायमाथि भइरहेको आतंककारी शैलीको आक्रमणलाई पार्टीले गम्भीर रूपमा लिएको छ। यसप्रकारका घटनाले संविधानको धारा २६ अन्तर्गतको धार्मिक स्वतन्त्रताको हकमा गम्भीर खलल पुर्याएको छ।"
पार्टीले सरकारसँग यस्तो आपराधिक गतिविधिमा संलग्न समूहलाई तुरुन्त पक्राउ गरी कडा कानुनी कारबाहीको माग गर्दै भनेको छ, "यदि कारबाही नगरे हाम्रो पार्टीको नेतृत्वमा उत्पीडित समुदाय प्रतिकारमा उत्रन बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी राज्य पक्षले लिनुपर्नेछ।"
एपी नागरिक पार्टीले जातीय, वर्गीय, क्षेत्रीय, धार्मिक, लैङ्गिक लगायत सबै प्रकारका उत्पीडन, अन्याय, अत्याचार, हिंसा, अपमान, विभेद र दमनको कडा विरोध गर्दै सुशासन, समानता, र समृद्ध राष्ट्र निर्माणका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको चेतावनी दिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
