धार्मिक र सामाजिक सद्भावको विषयलाई लिएर केही व्यक्तिबीच देखिएको असमझदारीले तनावको स्थिति उत्पन्न भएको छ । केही समुदाय आफूमाथि अन्याय भएको महसुस गर्दै सडकमा समेत उत्रेका देखिएको छ । यसबाट स्थानीयमा जुनसुकैबेला केही हुन सक्ने त्रास उत्पन्न भएको छ । जुन कुरा कसैका लागि पनि सुखद हुन सक्दैन ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा मुख्य धर्मको संख्या दश वटा कायम भएको छ । यहाँ १४२ जातजातिको बसोबास गरेका छ भने मातृभाषा १२४ कायम भएको छ । यसरी हेर्दा नेपाल बहुभाषिक, बहुजातीय र बहुधार्मिक मुलुक भएकामा कुनै शंका छैन । हाम्रो संविधानले नै धर्म निरपेक्ष उल्लेख गरेबाट यहाँ जुनसुकै धार्मिक क्रियाकलाप सहजै अंगाल्न पाइनेमा पनि द्विविधा छैन । यसरी हेर्दा यो नेपालको मौलिक विविधता हो । यति सानो देशमा, यति थोरै जनसंख्या भएको मुलुकमा शायदै यति धेरै भाषाभाषी र जातजाति होलान् । विविधता नेपालको सौन्दर्य हो ।
नेपालको अर्को सुन्दर पक्ष भनेको सबै जातजाति, भाषाभाषी, धर्मावलम्बीबीच एकले अर्काको अस्तित्व स्वीकार गर्ने, अर्काको संस्कार, पहिचान, मूल्य÷मान्यता आदिको सम्मान गर्ने र अन्तरघुलनको सिद्धान्त अपनाउने हो । त्यसैले त आफ्नो छरछिमेकमा बस्ने अर्को जाति वा समुदायको चाडपर्वका बेला होस् या दुःख पर्दा सामेल भइ सघाउने, भोजन गर्ने, मनोरञ्जन लिने जस्ता कार्य सामान्यरूपमा हुँदै आएका छन् । सहअस्तित्व र सहकार्यले नेपाली–नेपालीबीच एकअर्कालाई आत्मीय तुल्याउन गमको काम गरेका छन् । जुन हाम्रो विशेषता नै हो ।
कतिपयले सामाजिक सञ्जालमा आएका विषयलाई नै सेयर गर्ने, पटक–पटक उद्धृत गरेर थप मानिस÷समुदायलाई समेत उत्तेजित तुल्याउने, समाजले नपचाउने शब्द÷वाक्य प्रयोग गर्ने, कानुनले निषेध गरेका विषयलाई उचाल्ने गरेका देखिएको छ । अझ जिम्मेवारी सम्हालेर बसेकाले समेत यही सिको गर्दा समाजमा अशान्ति बढ्ने क्रम बढ्दो छ । त्यसैले सामाजिक सञ्जाल प्रयोगमा व्यापक सतर्कता अपनाउन ढिला भइसकेको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
