श्रावण १० गते २०८३
09:38: AM
श्रावण १० गते २०८३
09:38: AM

ए हाक्किमे कान्छी (कविता)

असाेज १८ गते २०८०
8:45 am
Author Avatar
फक्ताङलुङ दर्पण
- राजा माबो।

ए हाक्किमे कान्छी,

सधै जस्तै औसी हाटमा

म सुँगुर पाटा बेच्न ढाकर भरी

बुधुने,लामकाने बुचाबुचीहरु बोकेर 

यसो उधो झर्दा खेरी

तिमी पनि चेप्टे,डल्ले,लाम्चे मोर्चाहरु

थुन्चे भरि बोकेर उकाली उसै चढी आउनु

यस पाली हाऊ! औसी हाट बजारमा 

कसो हजुरको पछ्यौरीको एक कुनामा

मेरो मुटुको एक टुक्रा कस्ने आट छ 

झुसी-झुसी माया सरी........।

पोरै साल घरबार जोडौ भनी बिन्ती बिसौदा

जो यो साल आउदै छ भनी 

बार-बार चोर औला यहि साललाई ताकिथ्यौ

कठ्ठै तेसै टरेर गयो पोहोर साल पनि।

अनि सालै भरि बिना तिम्रो साथ एक्लीएर

दाउरा घाँस जादा,मेला पात भर्दा........

मुरली हिर्काए,बासुरी फुके,पकन्दी हाले

तिम्रै मायाको हावा हुन्डरीसंगै बिरहमा।

यो साल त, हाक्किमे कान्छी!

धर छैन पोहोरको साल झै अर्को सालको

कसम धरोधर्म सत्ये!!!

यो साल त,

तिम्रो हातैमा मेरो हात हतकडी

मायाको तगारो,पालामको जन्जिर

कसरी जाउली???

तिमीले तर्ने फड्केमा बुक्की फुल तेर्साउछु

तिमीले तर्ने नाउमा तिमीलेनै चिनो दिएको

बर्षौ माया र आँसु बोकेको रुमाल झुन्डाउछु।

चुली-चुली मायानै सरि....

कसरी नागी जाउली!?

कसरी तरी जाउली!?

मेरो माया भुलेर,मेरो मुटु टेकेर।

पछ्यौरीमा झुन्डीन्छु

कपाल र सलमा घाँटी बेरिन्छु

पहरा र अंकरबाट तिम्रै अघि 

हाम फाल्ने साहस कस्छु।

तमोरको घमाउरो दहमा डुब्ने आट गर्छु।।

ए, हाक्किमे कान्छी......

सधै जस्तै औसी हाट बजारमा!

पोरोर झै कसरी मलाई

एक्लै छाडेर जाउली यो साल पनि

हेर्छु म पनि।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo