मंसिर ७ गते २०८३
06:26: PM
मंसिर ७ गते २०८३
06:26: PM

मेलापातदेखि ‘नेपाल स्टार’सम्म : तेह्रथुमे कान्छाको सांगीतिक यात्रा

मंसिर ४ गते २०८३
4:12 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो चरपे, युके

मिठो मुस्कान, हँसिलो मुहार, मिलनसार स्वभाव र चलचित्रका नायकभन्दा कम नदेखिने आकर्षक व्यक्तित्व। त्यसमाथि प्रकृतिले दिएको सुमधुर स्वर। मुन्धुमी मेन्छ्याम कोक्कमासँग लुकामारी खेल्दै हुर्किएका यिनै प्रतिभाशाली गायक हुन्– लक्ष्मण चोङवाङ। नेपाली सांगीतिक क्षेत्रमा उनी ‘तेह्रथुमे कान्छा’ नामले समेत परिचित छन्।

तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिका–४, साविक श्रीजुङ गाउँ विकास समिति वडा नं. ४ अन्तर्गत बाक्लो बस्ती रहेको माझगाउँ, कुलुम पाङभेमा जन्मिएका चोङवाङको बाल्यकाल सामान्य ग्रामीण परिवेशमा बित्यो। साधारण पारिवारिक पृष्ठभूमिमा हुर्किएका उनको परिवारमा गीतसंगीतसँग प्रत्यक्ष सम्बन्ध राख्ने कोही थिएनन्। तर, सानै उमेरदेखि गीत गाउन असाध्यै रुचाउने उनको गायन प्रतिभा गाउँघरको मेलापात, घाँसदाउरा र दैनिक जीवनका क्रममा नै प्रस्फुटित हुँदै आएको थियो।

बाल्यकालदेखि नै सुमधुर स्वरका धनी चोङवाङले सायद त्यतिबेला कल्पनासमेत गरेका थिएनन् होला, एक दिन यही स्वरले उनलाई गाउँको चौतारीदेखि देशविदेशका ठूला मञ्चसम्म पुर्‍याउनेछ भनेर। तर, आज उनी नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै व्यस्त र सम्भावनायुक्त कलाकारका रूपमा अघि बढिरहेका छन्।

गाउँबाट सहरसम्मको यात्रा र अधुरो लाहुरे सपना

गाउँकै परिवेशमा प्रारम्भिक शिक्षा हासिल गरेका चोङवाङ उच्च शिक्षा अध्ययनका लागि पूर्वको चर्चित सहर धरान झरे। ग्रामीण परिवेशमा हुर्किएका उनका लागि सहरको रहनसहन, वातावरण र जीवनशैलीसँग घुलमिल हुनु त्यति सहज थिएन। तथापि, अध्ययनसँगै भविष्यमा केही गर्ने सपना बोकेर उनी आफ्नो यात्रामा अघि बढिरहे।

धरान पुगेपछि उनको मनमा अर्को ठूलो सपना पलायो– बेलायती सेनामा भर्ती भएर लाहुरे बन्ने। यही सपना साकार पार्ने उद्देश्यले उनले प्रयाससमेत गरे। तर, परिस्थितिले साथ नदिएपछि उनको लाहुरे बन्ने सपना अधुरै रह्यो।

तर, जीवनमा एउटा बाटो बन्द हुँदैमा सम्भावनाका सबै ढोका बन्द हुँदैनन्। यही यथार्थलाई आत्मसात् गर्दै चोङवाङले जीवनको अर्को बाटो रोजे। धरानमै रहेर लिम्बू समुदायको भाषा, साहित्य, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि स्थापित संस्थामा आबद्ध भई उनी सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय हुन थाले।

यसै क्रममा आफन्त, साथीभाइ तथा शुभचिन्तकहरूले उनको गायन प्रतिभालाई नजिकबाट चिन्ने अवसर पाए। उनीहरूले चोङवाङलाई गायन क्षेत्रमा अघि बढ्न निरन्तर हौसला र प्रेरणा प्रदान गरे।

मेलापातको स्वरदेखि मञ्चको उज्यालोसम्म

गाउँघरमा रहँदा ठूलो मञ्चमा उभिएर जनसमुदायका अगाडि गीत गाउने अवसर नपाएका चोङवाङले धरान पुगेपछि विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रममा गीत गाउने अवसर पाए। ती अवसर उनका लागि मनोरञ्जनका माध्यम मात्र बनेनन्, आफ्नो प्रतिभा चिनाउने र दर्शक तथा श्रोताको माया, साथ र हौसला प्राप्त गर्ने महत्त्वपूर्ण खुड्किलासमेत बने।

त्यसपछि उनले केही समय च्याब्रुङ नाचलाई थाती राख्दै गायन क्षेत्रमा आफ्नो यात्रा फराकिलो बनाउने अठोट गरे। आफ्नो सुमधुर स्वर धेरैभन्दा धेरै श्रोतामाझ पुर्‍याउने उद्देश्यले उनी विभिन्न गायन प्रतियोगितामा सहभागी हुन थाले।

सफलता प्राप्त गर्नुअघि उनले पटक–पटक असफलताको सामना गर्नुपर्‍यो। तर, असफलताले उनलाई आफ्नो लक्ष्यबाट विचलित बनाउन सकेन। निरन्तर अभ्यास, अथक मेहनत, लगनशीलता र आत्मविश्वासका साथ उनी सांगीतिक यात्रामा अघि बढिरहे।

प्रतीक्षाको फल मिठो हुन्छ भनेझैँ, वि.सं. २०६६ सालमा उनले पहिलोपटक ताप्लेजुङ आइडलमा सहभागी हुने अवसर पाए। नेपाली संगीतका चर्चित गायक राजेशपायल राईको स्वरमा रहेको ‘रिसाउ मदेखि, मलाई दोषी देखाउ’ बोलको गीत प्रस्तुत गर्दै उनले निर्णायक तथा दर्शकको मन जित्न सफल भए। उत्कृष्ट गायन प्रस्तुतिका आधारमा छनोट हुँदै उनी अन्ततः ताप्लेजुङ आइडलको विजेता बने। यो उनको सांगीतिक यात्राको पहिलो ठूलो सफलता थियो।

त्यसैगरी, वि.सं. २०६८ सालमा पूर्वाञ्चल क्षेत्रमा चर्चित लिम्बुवान आइडलमा सहभागी भई उनी प्रथम उपविजेता बन्न सफल भए।

लामो समयको निरन्तर अभ्यास, संघर्ष र साधनापछि वि.सं. २०७८ सालमा राष्ट्रियस्तरको चर्चित गायन प्रतियोगिता ‘नेपाल स्टार’ मा समेत उनी प्रथम उपविजेता बन्न सफल भए। ‘नेपाल स्टार’ सम्मको उनको यात्रा एउटा गायन प्रतियोगितामा प्राप्त सफलता मात्र थिएन, वर्षौंदेखि मनमा सजाएको सांगीतिक सपना र निरन्तरको मेहनतले दिलाएको महत्त्वपूर्ण उपलब्धिसमेत थियो।

यसरी स्थानीयस्तरका प्रतियोगिताबाट सुरु भएको उनको सांगीतिक यात्रा राष्ट्रियस्तरको मञ्चसम्म पुग्न सफल भयो। गायनसँगै अभिनयमा समेत रुचि राख्ने चोङवाङले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो बहुमुखी प्रतिभा प्रस्तुत गरिसकेका छन्।

गीतसंगीतमा आफ्नै पहिचान

चोङवाङले हालसम्म दर्जनौँ नेपाली तथा लिम्बू भाषाका गीतमा आफ्नो सुमधुर स्वर भरिसकेका छन्। उनको पहिलो रेकर्ड गरिएको गीत ‘खुल्दुली’ हो। उक्त गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका छन्।

यसका साथै चर्चित गायिका मेलिना राईसँग पनि उनले स्वर साझेदारी गर्ने अवसर पाएका छन्। मेलिना राईसँग गाएको ‘हिजोसम्म अञ्जान थियौँ, आज एउटै भयौँ’ बोलको गीतले विशेष लोकप्रियता हासिल गरेको छ। उक्त गीतलाई युट्युबमा लाखौँ दर्शकले हेरिसकेका छन्।

उनको स्वरमा सजिएका ‘बेँसी वनमा’, ‘ए हाउ बेँसी वनमा फुल्यो’, ‘भन मैले तिमीलाई’, ‘मेरो निधारैमा’, ‘खुल्दुली’, ‘खोट’, ‘बर्सात’, ‘जोरघुम्ती बजार’, ‘मायाको गाउँबेंसीमा’ र ‘लुलु माया’ लगायतका थुप्रै गीत श्रोतामाझ परिचित छन्।

नेपाली गीतसंगीतमा मात्र सीमित नरही लिम्बू भाषाका गीतमा समेत उनले उत्तिकै मिठासपूर्ण स्वर दिएका छन्। आफ्नै मातृभाषामा गीत गाउनु र सांस्कृतिक पहिचान बोकेका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउनु उनको सांगीतिक यात्राको अर्को महत्त्वपूर्ण पक्ष हो। यसले उनको गायन प्रतिभासँगै भाषा, संस्कृति र पहिचानप्रतिको लगावलाई समेत उजागर गर्छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo