बेलायतको आस्फोर्डमा १४२औँ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती भव्य रूपमा मनाइएको छ। किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा गत शनिबार (१४ नोभेम्बर २०२६) आस्फोर्डस्थित साइमन चर्चको सभाहलमा जन्मजयन्ती समारोह सम्पन्न भएको हो।
राजेन्द्र खिम्दिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष विश्वसादिप तिगेला, किरात राई यायोक्खा बेलायतका महासचिव गंगाराज राई, किरात याक्थुङ चुम्लुङ यूकेका केन्द्रीय सदस्य टंक येङ्देन, पूर्वअध्यक्ष डम्बर सिंगक, किरात याक्थुङ चुम्लुङ संघीय नेपालकी पूर्वउपाध्यक्ष तथा सल्लाहकार नरकुमारी वनेम र आदिवासी जनजाति महासंघ यूकेका पूर्वअध्यक्ष सिरी साम्युलगायतको उपस्थिति थियो।
त्यस्तै, गोर्खा मेजर पदम आङबुहाङ, एनआरएनए यूकेका उपाध्यक्ष अनिल मल तथा महासचिव जुरेन्द्र खजुम, गोर्खा पिस फाउन्डेसनका अध्यक्ष भीमराज तुम्बाहाङ्फे, लिम्बुवान नागरिक समाजका अध्यक्ष विजय लुम्फुङवा, तुम्याहाङ छत्र वनेम, किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्ष काजीमान यक्सो, चुम्लुङ शाखा आस्फोर्डका अध्यक्ष सुन्दर लिङथेपलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कमला सेन्दाङ लिम्बूले दीप प्रज्वलन गर्नुका साथै महागुरु फाल्गुनन्दको तस्बिरमा पुष्पहार अर्पण गरेर गर्नुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मल पतङवाले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का उपाध्यक्ष लाल लिङ्देनले महागुरु फाल्गुनन्दको जीवनी र समाज सुधारका क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो।
जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा डम्बर सिंगक, डम्बर खजुम, भीमराज तुम्बाहाङ्फे, छत्र वनेम, शिखर सम्बाहाङ्फे, नेम खापुङ, राजेन्द्र केरुङ, राम सिंथेबे र अनिता लिङ्देन गुरुङ रहनुभएको थियो। यसैगरी, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई मिक्तोक तथा खदा अर्पण गरी सम्मान गरिएको थियो।
समारोहमा वक्ताहरूले महागुरु फाल्गुनन्दले समाज सुधारका क्षेत्रमा पुर्याउनुभएको योगदान, उहाँका विचार, दर्शन र आदर्शको चर्चा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँले अघि सार्नुभएका समाज सुधारका अभियान, नैतिक मूल्य, धार्मिक सहिष्णुता र सामाजिक एकताका सन्देशलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा वक्ताहरूले जोड दिनुभएको थियो।
कार्यक्रम निराज माबोहाङले सञ्चालन गर्नुभएको थियो।