मंसिर ४ गते २०८३
07:13: PM
मंसिर ४ गते २०८३
07:13: PM

पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजनद्वारा दर्शन

कार्तिक २९ गते २०८३
5:15 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन्। दसैँ–तिहारको समयलाई दर्शनको मुख्य सिजन मानिने भएकाले पछिल्लो समय पाथीभरामा भक्तजनको चाप बढ्न थालेको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार शुक्रबार ३ हजार ६२३ जनाले पाथीभराको दर्शन गरेका थिए भने शनिबार उक्त सङ्ख्या बढेर ११ हजार २७२ पुगेको हो। यसअघि गत १७ गते पनि १० हजार ६१६ जना भक्तजनले दर्शन गरेका थिए।

निर्देशक हाङ्बाङका अनुसार पाथीभरामा दर्शनका लागि नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्। त्यस्तै, भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेको उहाँले जानकारी दिनुभयो।

पाथीभरा पुग्न यातायातका साधनमार्फत काफ्लेपाटीसम्म सहजै पुग्न सकिन्छ। काफ्लेपाटीबाट करिब पाँच किलोमिटर पैदल पदमार्ग हुँदै मन्दिरसम्म पुग्नुपर्छ। उकालो बाटो भएकाले हिँड्न असमर्थ तीर्थयात्रीका लागि बोक्ने सहयोगीको समेत व्यवस्था गरिएको छ। सहयोगीले काफ्लेपाटीदेखि मन्दिरसम्म तथा मन्दिरबाट काफ्लेपाटीसम्म तीर्थयात्रीलाई बोकेर पुर्‍याउने गरेका छन्। यस सेवाबापत प्रतिकिलो २०० रुपैयाँ शुल्क लिने गरिएको छ।

समुद्री सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा शक्तिपीठमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण स्वदेश तथा विदेशबाट भक्तजन पाथीभरा आउने गरेका छन्। विशेषगरी दसैँ–तिहारको अवधिलाई पाथीभरा दर्शनका लागि मुख्य सिजनका रूपमा लिने गरिन्छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo