ताप्लेजुङ । किरात धर्मदर्शनका गुरु, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ। १४१ वर्ष पूरा गरी १४२औँ वर्षमा प्रवेश गरेको अवसरमा कात्तिक २५ गते जिल्लाका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको हो।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बिहीबारेमा रहेको माङहिममा पूजापाठ गरी विश्व शान्ति तथा सद्भाव र्याली निकालिएको थियो। र्याली तोक्मेडामा पुगेर समापन भएको थियो। त्यसपछि फाल्गुनन्दको प्रतिमामा माल्यार्पण, शुभकामना आदानप्रदान तथा च्याब्रुङ नाच प्रदर्शन गरिएको किरात याक्थुङ चुम्लुङका सचिव सरोज कङ्लिवाले जानकारी दिनुभयो।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाम, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतले महागुरु फाल्गुनन्दले देखाउनुभएको मार्गले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।
महागुरु फाल्गुनन्दले समाज सुधारका लागि १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानका गन्यमान्य सुब्बा, सुवाङ्गी, कारबारी तथा बुद्धिजीवीहरूलाई भेला गराई सत्यधर्म मुचुल्का निर्माण गर्नुभएको थियो। समाज सुधार अभियानमा आजीवन समर्पित उहाँले तत्कालीन समयमा राज्यबाट राजद्रोही, देशद्रोही तथा पूर्व लिम्बुवानको राजा बन्न खोजेको आरोपसमेत खेप्नुपरेको थियो। उहाँलाई गिरफ्तार गर्ने र विभिन्न दुःख तथा पीडा दिने कामसमेत भएको थियो।
उहाँको निधन भएको ६१ वर्षपछि नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको थियो।
महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवस मनाउने गरिन्छ। फाल्गुनन्दले २००५ चैत २२ गते सोमबार अपराह्न ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमुनि हाङयकमा देहत्याग गर्नुभएको थियो।