मंसिर ७ गते २०८३
06:14: PM
मंसिर ७ गते २०८३
06:14: PM

सत्य, शान्ति र अहिंसाका प्रवर्तक महागुरु फाल्गुनन्द

कार्तिक २६ गते २०८३
11:21 am
Author Avatar
फक्ताङलुङ दर्पण

दिलकुमार लिम्बू

‘माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो’ (भगवान्को सोच राखे भगवान् भइन्छ, राम्रो सोच राखे असल मानिस भइन्छ र नराम्रो सोचले आफैँलाई नष्ट गर्छ) भन्ने विचार र दर्शन दिनुभएका किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्म भएको १४१ वर्ष पूरा भएको छ। उहाँको १४२औँ जन्मजयन्ती कात्तिक २५ गते मनाइँदै छ।

यस अवसरमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, तेह्रथुमलगायत लिम्बू समुदायको बसोबास रहेका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी फाल्गुनन्द जयन्ती मनाइँदै छ। लिम्बू समुदायको बाक्लो बसोबास रहेका बेलायत, हङकङलगायत देशमा समेत विभिन्न कार्यक्रमका साथ जन्मजयन्ती मनाउने गरिएको छ।

बुधबार बिहान फाल्गुनन्दका सालिकमा १४२ वटा दियो र कलशसहित पूजापाठ गरिएको छ। उहाँको योगदानको सम्मान गर्दै सालिकमा फूलका गुच्छा चढाइएको छ। विभिन्न बजार क्षेत्रमा शान्ति तथा सद्भाव र्‍यालीसमेत निकालिएको छ। शुभकामना आदानप्रदानलगायत कार्यक्रम पनि आयोजना गरिएका छन्।

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किराँत धर्मदर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिको पुनरुत्थान गर्न तथा कुरीति र कुसंस्कारमा जकडिएको किराँत समुदायलाई सत्मार्गमा डोर्‍याउन फाल्गुनन्द लिङ्देनको जन्म भएको थियो। सत्आहार, सत् विहार र सत्कर्म गर्न उपदेश दिनुभएका महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शन पछिल्लो समय विश्वभर चर्चामा छ। उहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारका रूपमा श्रद्धापूर्वक स्मरण गरिनुहुन्छ। किराँत धर्मावलम्बीहरूले उहाँलाई मुहिङगुम अङसीमाङका रूपमा आस्था र श्रद्धा व्यक्त गर्ने गर्छन्।

समाज सुधारक फाल्गुनन्द

महागुरु फाल्गुनन्दले समाज सुधारका लागि १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बूवानका गन्यमान्य सुब्बा, सुवाङ्गी, कारबारी तथा बुद्धिजीवीहरूलाई भेला गराएर सत्यधर्म मुचुल्का निर्माण गर्नुभएको थियो। समाज सुधार अभियानमा आजीवन समर्पित उहाँलाई तत्कालीन राज्यसत्ताले राजद्रोही, देशद्रोही तथा पूर्व लिम्बूवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र दुःख दिने गरेको जीवनीमा उल्लेख छ। तर, उहाँको देहावसान भएको ६१ वर्षपछि २०६६ मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूतिका रूपमा सम्मानित गरेको थियो।

फाल्गुनन्दको बाल्यकाल

फाल्गुनन्दको जीवनीअनुसार उहाँको जन्म १९४२ कात्तिक २५ गते आइतबार इलाम जिल्लाको तत्कालीन चुक्चीनाम्बा गाउँमा भएको थियो। हाल उक्त स्थान माङसेबुङ गाउँपालिका–२ मा पर्छ। सामान्य किसान परिवारमा जन्मनुभएका उहाँको बाल्यकालमै आमाको निधन भएपछि बुबाले दोस्रो विवाह गर्नुभएको थियो। त्यसपछि उहाँ सानीआमाको रेखदेखमा हुर्कनुभयो। बाल्यकाल गाईबाख्रा चराउँदै, वनजङ्गल, खोलानाला र डाँडाकाँडा चहार्दै बित्यो। उहाँ बाल्यकालदेखि नै शान्त, एकान्तप्रेमी र कम बोल्ने स्वभावको हुनुहुन्थ्यो।

केही वर्ष उहाँ काका–काकीसँग बस्नुभयो। पछि लेछेबुङ बारीमा सानो कटेरो बनाएर अलग्गै बस्न थाल्नुभयो। आर्थिक अवस्था कमजोर भएकाले भ्याकुर र तरुल खनेर खाँदै जीविका चलाउनुभयो।

उहाँ आठ वर्षको हुँदा सुतिरहेको अवस्थामा एक दिव्य पुरुषले इशारा गरेर बोलाएको र उहाँ ती पुरुषको पछि लागेको प्रसङ्ग जीवनीमा उल्लेख छ। ती पुरुषले उहाँलाई माईखोलामा नुहाउन लगाई केही माथि खत्रक्पाको खोल्सीमा पुर्‍याएका थिए। त्यहाँ लाम्पातेको रुखको फेदमा उभ्याएर खुट्टानजिकैको जमिनमा सिमीको दाना रोपेझैँ गरेपछि बीउ उम्रेर लहरा बनेको र उहाँलाई चलमल गर्न नसक्ने गरी बाँधेको वर्णन पाइन्छ। त्यसपछि ती पुरुषले माईखोलातिर देखाउँदै आमासँग माफी माग्न भनेका र त्यहीँ अलप भएपछि उहाँको शरीर हल्का भएको तथा लहरा पनि हराएको जीवनीमा उल्लेख छ।

महागुरु फाल्गुनन्द आजीवन ब्रह्मचारी रहनुभयो। उहाँ महिलाको वेषभूषा र गरगहनामा सजिएर हिँड्नुहुन्थ्यो। कम बोल्ने, मसिनो स्वर भएका र शाकाहारी भोजन ग्रहण गर्ने उहाँ सधैँ हिँडिरहने तथा ज्ञानगुनका कुरा बाँडिरहने व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। उहाँले आजीवन सादा जीवन बिताउनुभयो। उहाँले प्रयोग गर्नुभएका खराउ, केश, चिम्टा, त्रिशूल र खुर्मीहरू महागुरुकालीन माङहिमहरूमा अहिले पनि सुरक्षित रहेको बताइन्छ।

महागुरु फाल्गुनन्दको न्वारनको नाम नरध्वज राखिएको थियो। त्यसअघि जन्मिएका बालबालिका जीवित नरहेकाले उहाँको जीवनरक्षाका लागि फलामको चुरा लगाइदिएको जनविश्वास छ। फलामको चुरा लगाइदिए दीर्घायु हुन्छन् भन्ने मान्यताका कारण उहाँलाई चुरा लगाइएको र त्यसैबाट बोलाउने नाम फलामसिं रहन गएको बताइन्छ।

महागुरुले तत्कालीन किराँत समाजमा विद्यमान विकृति र विसङ्गति हटाउने उद्देश्यले १० लिम्बूवान १७ थुमका प्रतिनिधिलाई १९८८ वैशाख २४ गते एकै ठाउँमा भेला गराएर सातबुँदे सत्यधर्म मुचुल्का पारित गर्नुभएको थियो। उहाँ ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, फलामसिं तथा मुहिङगुम अङसीमाङलगायत नामले समेत परिचित हुनुहुन्छ। उहाँको महत्त्वपूर्ण ऐतिहासिक कार्यका रूपमा रहेको सत्यधर्म मुचुल्काले नै उहाँलाई समाज सुधारकका रूपमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

फक्ताङलुङसँग महागुरुको सम्बन्ध

महागुरु फाल्गुनन्दले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित कुम्भकर्ण हिमशृङ्खलालाई किराँत धर्मावलम्बीको तीर्थभूमि तथा मुक्तिभूमिका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँले सेन्चेइ फक्ताङलुङ (कुम्भकर्ण) हिमालको पहिलो तीर्थयात्रा १९९३ सालमा गर्नुभएको जीवनीमा उल्लेख छ। पहिलो यात्राका क्रममा उहाँ हिमालको फेदीसम्म पुगेर ठूलो सेवा लगाई फर्किनुभएको थियो। विसं १९९५ मा पुनः फक्ताङलुङ जाँदा पारुङतेम्बेमा धर्मशालासमेत निर्माण गर्नुभएको थियो।

महागुरुले तीर्थयात्राको मार्ग खुला गरिदिएपछि प्रत्येक वर्ष किराँत धर्मावलम्बीहरू फक्ताङलुङमा तीर्थयात्रा गर्दै आएका छन्। फक्ताङलुङ (कुम्भकर्ण) हिमाल समुद्र सतहबाट सात हजार ७१० मिटर उचाइमा अवस्थित छ।

माङहिम तथा धर्मशाला निर्माण

महागुरु फाल्गुनन्दले विभिन्न थुम अर्थात् जिल्लामा माङहिम (किराँत मन्दिर) निर्माण गर्नुभएको थियो। विसं १९८५ मा पाँचथरको चोकमागु–३ स्थित लब्रेकुटीमा आठ जिल्ला माङहिम स्थापना गर्नुभयो। त्यहाँ किराँत साङसेन वरक चोत्लुङ माङहिम र १९८८ सालमा सत्रथुम गोश्वारी युमा माङहिमसमेत निर्माण गर्नुभयो।

त्यसैगरी १९८६ सालमा इलामको चुक्चीनाम्बा गैरीगाउँ इभाङमा किराँतेश्वर हाङसाम माङहिम (किराँत हाङसाम फाल्गुनन्द माङहिम) र १९९७ सालमा ताप्लेजुङमा किराँत हाङसाम माङहिम निगुरादिन स्थापना गर्नुभएको थियो। किराँत नाम्भुनयक माङहिम सिलौटी, पाँचथर; काबेली माङहिम साब्लाखु, ताप्लेजुङ; र किराँत हाङसाम नाम्गेनयक माङहिम जीतपुर, इलाममा पनि माङहिम निर्माण गर्नुभएको थियो। विसं १९९५ मा फक्ताङलुङको पारुङतेम्बेमा धर्मशाला तथा पाँचथरको रानीटारमा सिलौटी कुटी स्थापना गर्नुभयो। उहाँले भुटानमा समेत माङहिम निर्माण गर्नुभएको उल्लेख पाइन्छ।

सत्यधर्म मुचुल्का र सामाजिक सुधार

पाँचथरको यासोक भदौरेका सुब्बा शेरबहादुर लाओती, तेह्रथुम म्याङलुङका सुब्बा काजीमान तुम्बाहाङफे, धनकुटा चौबीसका सुब्बा प्रेमबहादुर माबोहाङलगायत लिम्बूवानका सुब्बा, कारबारी, गन्यमान्य तथा बुद्धिजीवीहरूको उपस्थितिमा सत्यधर्म मुचुल्का तयार गरिएको थियो। उक्त भेलाले किराँत मुन्धुम, भाषा, लिपि, संस्कार र संस्कृतिसम्बन्धी सातबुँदे मुचुल्का पारित गरेको थियो। त्यसलाई सत्यधर्म मुचुल्का नामकरण गरिएको थियो।

सत्यधर्म मुचुल्काले समाजलाई समानता, अहिंसा, शान्ति र प्रकृतिपूजाको दिशामा अघि बढ्न मार्गनिर्देश गरेको छ। यसले छोरीचेलीको सोतरित नखानु अर्थात् दाइजो नलिनु, माङसेवा, पूजापाठ, विवाहभोज तथा सुध्याइँ गर्दा जीवहत्या नगर्नु र बलिपूजा नगर्नुमा जोड दिएको छ। मृतकलाई पिण्ड चढाउँदा मदिरा र मासुको प्रयोग नगर्नु, मृत्यु तथा वृद्धिसम्बन्धी सुतक बार्नु, मदिरा तथा मांसाहार त्याग्नु र शाकाहारी जीवनशैली अपनाउनुपर्ने विषयसमेत मुचुल्कामा समेटिएका छन्।

त्यस्तै छोरा र छोरीबीचको विभेद अन्त्य गर्नु, लैङ्गिक, जातीय तथा वर्गीय विभेद हटाउनु, मातृभाषामा शिक्षालाई प्राथमिकता दिनु, ठाउँठाउँमा माङहिम र विद्यालय निर्माण गर्नु, सादा जीवनशैली अपनाउनु, विचारले उच्च हुनु, उत्पादनशील र स्वावलम्बी बन्नु तथा विश्वशान्ति र मानव एकता कायम राख्नुपर्ने विषयलाई मुचुल्काले महत्त्व दिएको छ।

लामो समयसम्म मौखिक परम्परामा सीमित रहेको मुन्धुम हराउँदै जान थालेपछि त्यसलाई लिपिबद्ध गर्नुपर्ने आवश्यकतासमेत मुचुल्काले औँल्याएको थियो।

महागुरु फाल्गुनन्दले गलत मार्गमा अघि बढिरहेको सामाजिक संस्कारलाई सुधार गर्दै किराँत समुदायलाई सत्मार्ग र सुसंस्कृत जीवनपद्धतिमा डोर्‍याउनुभयो। उहाँले साम्जीक मुन्धुमलाई संहिताबद्ध गर्न तथा लोपोन्मुख अवस्थामा पुगेको किराँत लिपिको प्रचारप्रसार र पुनर्जागरणमा योगदान दिनुभयो।

उहाँले विश्वशान्ति र मानव एकताको सन्देश दिँदै सत्य, शान्ति र अहिंसाको मार्ग देखाउनुभयो। समाजमा विद्यमान जातीय, वर्गीय तथा लैङ्गिक विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सादा जीवनशैली अपनाउँदै उत्पादनमुखी र सीपमुखी बन्न, परिवर्तन र विकासका लागि अघि बढ्न तथा पहिचान र सभ्यताको संरक्षण गर्न मातृभाषा शिक्षालाई प्राथमिकता दिनुपर्ने उहाँको सन्देश थियो।

किराँतीहरूको धर्म, भाषा, लिपि, साहित्य, संस्कार र संस्कृति लोप हुने अवस्थामा पुगेका बेला किराँत सभ्यताको पुनर्जागरणमा महत्त्वपूर्ण योगदान दिनुभएका महागुरु फाल्गुनन्दले कुरीति र कुसंस्कारमा जकडिएको समाजलाई सभ्य र सुसंस्कृत बनाउन जीवन समर्पण गर्नुभयो। सत्य, शान्ति र अहिंसाका सूत्रधारका रूपमा सम्मानित उहाँले देशविदेशका विभिन्न स्थानमा पुगेर सभ्य समाज निर्माणका लागि जीवनपर्यन्त अभियान चलाउनुभयो।

फाल्गुनन्दका प्रतिमा स्थापना

महागुरु फाल्गुनन्दका प्रतिमा विभिन्न स्थानमा स्थापना गरिएका छन्। ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा उहाँका आठवटा प्रतिमा निर्माण गरिएको छ।

व्यक्तिगत रूपमा विभिन्न स्थानमा प्रतिमा स्थापना हुँदै आएको भए पनि संस्थागत रूपमा सबैभन्दा पहिले एकै दिन २०६१ कात्तिक २५ गते झापाको दमक र इलामको माङसेबुङस्थित भञ्ज्याङमा उहाँका प्रतिमा स्थापना गरिएको थियो। त्यसपछि उहाँकै कर्मभूमि पाँचथरको फिदिम नगरपालिकास्थित चोकमागु लब्रेकुटीमा प्रतिमा निर्माण गरियो।

त्यसैगरी तेह्रथुमको आठराई संक्रान्ति बजार, झापाको दमक नगरपालिकास्थित बेलडाँगी र बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगरमा पनि उहाँका प्रतिमा निर्माण गरिएका छन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित रविबजार र तुम्बेवा, पान्थरको फेदेन, झापाको अर्जुनधारा, ताप्लेजुङको धार्मिक तीर्थस्थल पाथीभरा क्षेत्र (मुक्कुम्लुङ) तथा मोरङको मिक्लाजुङ गाउँपालिकास्थित टाँडीमा समेत उहाँका प्रतिमा स्थापना गरिएका छन्। मोरङको केराबारी र लेटाङ तथा सुनसरीको भरौलमा पनि प्रतिमा स्थापना गर्ने कार्य अघि बढेको छ।

राज्यबाट सम्मान

महागुरु फाल्गुनन्द लिङ्देनलाई नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरी सम्मान गरेको थियो। उहाँको सम्मानमा सरकारले १५ रुपैयाँ दरको हुलाक टिकटसमेत प्रकाशन गरेको छ। उहाँको संक्षिप्त जीवनी नेपाली पाठ्यक्रममा पनि समावेश गरिएको छ। किराँत धार्मिक संस्थाहरूले २०७१ वैशाख २४ गते महागुरुको जन्मजयन्तीलाई किराँत चाडपर्वका रूपमा घोषणा गरेका थिए।

महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवस मनाउने गरिएको छ। झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी र रवि जोड्ने सडकखण्डलाई फाल्गुनन्द मार्ग नामकरण गरिएको छ।

महागुरु मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले २००५ चैत २२ गते सोमबार अपराह्न ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमुनि हाङयकमा देहत्याग गर्नुभएको थियो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo