ताप्लेजुङ । नेपाल संवत् ११४७ को सुरुवातको अवसरमा ताप्लेजुङका नेवार समुदायले विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाएका छन् । जिल्लामा बसोबास गर्ने नेवार समुदायका सदस्य सामूहिक रूपमा भेला भई शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् ।
नेपाल भाषा तथा संस्कृति समाजको अगुवाइमा जिल्लाभित्रका नेवार समुदायका सदस्य भेला भएर नेपाल संवत् ११४७ लाई नयाँ वर्षका रूपमा मनाएको समाजका अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस अवसरमा नेवार समुदायले नयाँ वर्ष मनाउनुका साथै म्हः (आत्म) पूजा समेत गरेका छन् ।
नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराई नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ ।
नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले सबै समुदायका पर्व समान भएकाले राज्यले पनि समान दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो । उहाँले कोशी प्रदेशले सरकारी कामकाजका लागि नेवारी भाषालाई समेत समावेश गरेको उल्लेख गर्दै ताप्लेजुङका नेवार समुदायमा भने मातृभाषा बोल्ने चलन कम हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोशी प्रदेशले सरकारी कामकाजका लागि नेवारी भाषालाई समेत समावेश गरेको छ । तर यहाँका नेवारहरूलाई आफ्नै मातृभाषा बोल्न आउँदैन । त्यसैले आफ्नो भाषा, संस्कृति तथा परम्पराको संरक्षण गर्न आवश्यक छ ।”
कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा तथा जिल्लामा प्रतिनिधित्व गर्ने विभिन्न जातीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।