ताप्लेजुङ जिल्लाका स्थानीय तहहरूमध्ये मेरिङदेन गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्दै पहिलो स्थान हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कनमा मेरिङदेन गाउँपालिकाले ६९.१४ अंक प्राप्त गर्दै जिल्लाको अग्रस्थान ओगटेको हो ।
यसअघि प्रकाशित प्रारम्भिक नतिजामा भने पाथीभरा याङवरक गाउँपालिका ६७.६ अंकसहित पहिलो स्थानमा थियो । तर अन्तिम मूल्याङ्कनमा पाथीभरा याङवरक ६७.६५ अंकका साथ दोस्रो स्थानमा झरेको छ । प्रारम्भिक नतिजामा आठौँ स्थानमा रहेको मेरिङदेन गाउँपालिकाले अन्तिम मूल्याङ्कनमा उल्लेखनीय सुधार गर्दै शीर्ष स्थानमा स्थान बनाउन सफल भएको हो ।
यसपटक सिदिङ्वा गाउँपालिका ४५.७२ अंक प्राप्त गर्दै अन्तिम स्थानमा रहेको छ । मैवाखोला गाउँपालिकाले ६४.६२ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ भने आठराई त्रिवेणी गाउँपालिका ५८.६ अंकका साथ चौथो स्थानमा पुगेको छ । भूगोलका हिसाबले जिल्लाकै सबैभन्दा ठूलो फक्ताङलुङ गाउँपालिका ५८.६ अंक प्राप्त गर्दै पाँचौँ भएको छ । फुङ्लिङ नगरपालिकाले ५६.४३ अंकका साथ छैटौँ स्थानमा रहँदा सिरिजङ्घा गाउँपालिकाले पनि सोही अंक प्राप्त गरी सातौँ स्थान ओगटेको छ ।
मिक्वाखोला गाउँपालिका ४९.४५ अंक प्राप्त गर्दै आठौँ स्थानमा रहेको छ ।
आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनका लागि १७ सूचकहरूमा आधारित रहेर मूल्याङ्कन गरेको हो । ती सूचकमा लेखापरीक्षण, बेरुजु फछ्र्योट, बजेट विनियोजन, राजस्व सङ्कलन, विद्यार्थी भर्ना दर, टिकाउ दर लगायतका मापदण्ड समावेश छन् ।
आयोगले माघ ३० गते प्रारम्भिक नतिजा सार्वजनिक गर्दै पुनरावलोकनका लागि ७ दिने समय दिएको थियो । सोही अवधिमा प्राप्त निवेदनका आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
