ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्कुम्लुङ पाथिभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर उत्पन्न परिस्थितिप्रति याक्थुङ युथ एसोसिएसनले गम्भीर ध्यानाकर्षण जनाएको छ । एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको विरोध जानएको हो । संस्थाका अध्यक्ष भीम कुमार सेनेहाङद्वारा जारी प्रेस विज्ञप्तिमा मुक्कुम्लुङ पाथिभराको पहिचान र संरक्षणलाई ध्यानमा राखी सहअस्तित्वको आधारमा समाधान खोज्न सम्बन्धित सबै पक्षलाई अपिल गरिएको छ । साथै, यस विषयलाई लिएर पछिल्लो समय राज्यले प्रदर्शनकारीमाथि गरेको दमन र धरपकडको घोर भत्सर्ना गरिएको छ । शनिबार बेलुकी फुङलिङ बजारमा केबलकारको विरोधमा भएको प्रदर्शनका क्रममा झडप भएपछि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । विज्ञप्तिमा सो निषेधाज्ञाले स्थानीय बासिन्दालाई थप चिन्तित बनाएको उल्लेख गर्दै ताप्लेजुङको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु सबैको जिम्मेवारी रहेको जनाइएको छ । याक्थुङ युथ एसोसिएसनले मुक्कुम्लुङ पाथिभराको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई ख्याल गर्दै सहअस्तित्वमा आधारित समाधान खोज्न आग्रह गरेको छ । साथै, स्थानीय युवाहरूको साझा माग पहिचानको सम्बद्र्धन र विकास भएकाले यसलाई बलपूर्वक दमन गर्न नहुने स्पष्ट पारिएको छ । विज्ञप्तिमा मुक्कुम्लुङ पाथिभरा क्षेत्रमा पटक–पटक भएका झडप, धरपकड र विवादका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको उपचारमा कुनै कसर बाँकी नराख्न नेपाल सरकार र सम्बन्धित निकायसँग अनुरोध गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था गर्न माग गरिएको छ । अध्यक्ष सेनेहाङले स्थानीय आदिवासी याक्थुङ समुदायको पवित्र स्थलको मौलिकता जोगाउन केबलकार निर्माणको योजना तत्काल खारेज गर्न पनि जोडदार माग गरेका छन् । मुक्कुम्लुङ पाथिभरा मन्दिर क्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्वलाई ख्याल गर्दै आगामी दिनमा यस्तो विवाद दोहोरिन नदिन वार्ता र छलफलमार्फत सहमति खोज्न सबै पक्षलाई अनुरोध गरिएको छ ।