सिक्कुम फुरुम्बो चरपे/आस्फोर्ड चर्चित याक्थुङ लिम्बू गायक जीवन केदेमको एकल पालाम र हाक्पारे साँझले आस्फोर्ड केन्ट बासीहरुलाई भर्पूर नचाएका छन्। २०२४ सेप्टेम्बर २८, शनिवारका दिन आस्फोर्ड केन्टको साइमन सभाहलमा आयोजना गरिएको यस साँझले युकेबासी याक्थुङ समुदायलाई सांस्कृतिक रूपमा जोड्ने महत्वपूर्ण अवसर बन्यो। सेवारो कलाकार संघ युकेको आयोजना र दुर्गा पाङमाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ युकेका पूर्व अध्यक्ष डम्बर सिंगक रहनु भएको थियो। साथमा, अन्य प्रमुख व्यक्तित्वहरूमा सुन्दर लिङथेप, छत्र वनेम, र मानमाया नेम्बाङको उपस्थिति थियो।
कार्यक्रममा युवा देखि वृद्धसम्मको सहभागिता रहनु सांस्कृतिक धरोहरप्रति समुदायको माया र समर्पणलाई देखाउँछ। जीवन केदेमको सुमधुर आवाजमा प्रस्तुत पालामले सहभागीहरूलाई लिम्बुवान भुमिको माघेमेला र पुषेमेलाको झल्को दिलायो। पालामको तालमा हात समाएर यालाङ नाच्दा दर्शकहरूको उत्साह र सांस्कृतिक पहिचानको गर्व झल्किन्थ्यो।
जीवन केदेमले एक दर्जन भन्दा माथि चर्चित पालाम र हाक्पारे गाएर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे। स्थानीय कलाकारहरूको प्रस्तुति पनि कार्यक्रममा आकर्षणको केन्द्र बन्यो, विशेषगरी छत्र वनेमले वाचन गरेको लिम्बू भाषाको कविता सहभागीहरूलाई गहिरो प्रभाव पार्न सफल भयो।
केदेमले युकेमा केही महिनायता विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिरहेका छन्। गायक र मोडलको रूपमा उनले दर्जनौँ गीतहरूमा अभिनय पनि गरिसकेका छन्। उनका गीति कन्सर्टहरूले युकेका याक्थुङ समुदायको मन जितिरहेको छ।
सेवारो कलाकार संघ युकेका अध्यक्ष दुर्गा पाङमाले संस्थाले याक्थुङ संस्कृतिको संरक्षण, सम्बर्द्धन, र प्रचारप्रसारमा अहोरात्र खटिएको बताइन्। यस्ता कार्यक्रमहरू भाषा, लिपि, र संस्कारलाई विश्वव्यापी बनाउन र नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गर्दैछन्।