चार हजार ३०० मिटर उचाइमा तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुदै
Phaktanglung Darpan
भाद्र २० गते २०८१
1:35 pm
फक्ताङलुङ दर्पण
समुद्र सतहदेखि ४,३०० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा आयोजना हुन लागेको ‘तिम्बुङ पोखरी ट्रेल रन’को तयारी अन्तिम चरणमा पुगेको छ । तिम्बुङ पोखरी संरक्षण तथा प्रवद्र्धन समितिले भदौ २६ गते हुने यस दौडको तयारी भएको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । समितिका सल्लाहकार कैलाश राईका अनुसार, दौडका लागि आवश्यक सबै तयारी पूरा भएको छ । रनको दूरी तिम्बुङ पोखरीबाट ओरालो गर्दै करिब ८ किलोमिटर (७.८ किमी) सम्म तय हुनेछ । हालसम्म ११ जनाले यस दौडका लागि आफ्नो नाम दर्ता गराइसकेका छन्। आयोजकले सहभागीहरूलाई थप आकर्षित गर्न बिजेताहरूलाई नगद पुरस्कारको व्यवस्था पनि गरेको छ । बिजेताले नगद ३० हजार उपबिजेताले २० हजार र तृतीय हुनेले दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दौड तिम्बुङ पोखरी क्षेत्रमा पहिलो पटक आयोजना हुँदैछ, जुन पाँचथर र छिमेकी देश भारतसँगको सीमावर्ती क्षेत्रमा अवस्थित छ । मिम्बुङ पोखरी क्षेत्र ऐतिहासिक रूपमा केञ्जो अर्थात् पदमचालको राजधानीका रूपमा पनि चिनिन्छ । दर्जनौं पोखरीहरू, जडिबुटीहरूको धनी क्षेत्र, र यहाँका गोठहरूको वातावरणले पर्यटकहरूलाई लोभ्याइरहेको छ । तिम्बुङ पोखरी क्षेत्रको पर्यटकीय प्रवद्र्धनमा यो दौडको भूमिका महत्त्वपूर्ण रहेको सल्लाहकार मदन खरेलले बताउनुभयो । स्थानीय बासिन्दाहरू र सिदिङवा गाउँपालिकाको सहकार्यमा यो कार्यक्रम सम्पन्न हुने भएको हो । तिम्बुङ पोखरी भ्रमणको लागि यो समय उपयुक्त मानिन्छ। पर्यटकहरूले टेन्ट वा होमस्टे मार्फत आवास सुविधा पाउन सक्नेछन् । आयोजकले पर्यटकका लागि आवश्यक आवास र खानाको व्यवस्थापनसमेत गरेको छ । ढङढङ्गे झरना, सुगन्धित जडिबुटीहरू, भेडा र चौंरीका बथानहरूको दृश्यावलोकनले यस क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनाएको छ