गोर्खा सैनिकको बलिदान र पीडालाई कवितामा उतार्दै नरेश काङमाङ राई
Phaktanglung Darpan
मंसिर १० गते २०८३
8:38 pm
फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बो चरपे, बेलायत।
बेलायतको केन्टस्थित आशफोर्डमा युद्धकवि नरेश काङमाङ राईको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नोभेम्बर २२, २०२६ मा आशफोर्डको गोडिङटन भिलेज हलमा आयोजित कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका करिब डेढ सय साहित्यप्रेमी, कवि तथा दर्शकको उपस्थिति रहेको थियो। ‘एकोज अफ पर्वत’ (Echoes of Parbat) द्वारा आयोजित कार्यक्रममा कवि राईले दुई दर्जनभन्दा बढी कविता वाचन गरेका थिए।
जीवन, समाज, संस्कृति, मानवीय संवेदना तथा सामाजिक–सांस्कृतिक परिवर्तनका विविध पक्ष समेटिएका उनका कविताले कार्यक्रमस्थललाई भावनात्मक र साहित्यिक वातावरणमा रूपान्तरण गरेको थियो। कवितामा प्रस्तुत जीवनका विविध अनुभूति र सामाजिक यथार्थले उपस्थित श्रोताहरूलाई गहिरो प्रभाव पारेको थियो।
विशेषगरी प्रथम र द्वितीय विश्वयुद्धमा गोर्खा सैनिकहरूले राष्ट्रको रक्षाका लागि गरेको बलिदान, उनीहरूले भोगेका पीडा तथा परिवारले व्यहोर्नुपरेको वियोग र वेदनालाई कवितामार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। युद्धको विभीषिका, मानवीय संवेदना, पारिवारिक विछोड र भावनात्मक अनुभूतिका सशक्त विम्बले श्रोताहरूलाई भावुक बनाएको थियो। कतिपय कविता वाचनका क्रममा दर्शक तथा श्रोताहरूका आँखा रसाएका थिए।
कार्यक्रमको अर्को आकर्षणका रूपमा कवि राईका उत्कृष्ट १० कविता अतिथि कविहरूले वाचन गरेका थिए। जीवन तिवारी, प्रयास दुमी राई, खुपेन सुनुवार, शान्ति लिम्बू, विमला सेने, डा. सुमाया राई, विजय हितान, गोपी सापकोटा, केदार सङ्केत र गणेश राईले आ–आफ्नो शैलीमा कविता प्रस्तुत गरेका थिए। उनीहरूको सशक्त र भावपूर्ण वाचनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
लामो समयदेखि नेपाली साहित्यमा सक्रिय कवि राईका एक दर्जनभन्दा बढी कृति तथा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन्। विशेषगरी युद्ध, गोर्खा इतिहास, सामाजिक यथार्थ र मानवीय संवेदनालाई सिर्जनाको मूल विषय बनाउँदै आएका उनी नेपाली साहित्यमा युद्धकविका रूपमा परिचित छन्।
नेपाली भाषा, साहित्य र सिर्जनात्मक गतिविधिको विकास तथा प्रवर्द्धन गर्दै साहित्यिक यात्रालाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम बेलायतको नेपाली साहित्यिक परिवेशमा अर्थपूर्ण जमघटका रूपमा सम्पन्न भएको थियो।