असार २९ गते २०८२
09:58: PM
असार २९ गते २०८२
09:58: PM

सहासिक कञ्चनजंघा पदमार्गको यात्रा अनुभूति

जेठ ७ गते २०८२
12:58 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सपना जस्तै लाग्ने हिमाली यात्राको सुरु भयो ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट । करिब आठ घण्टाको गाडी यात्रा पछि हामी याम्फुदिन पुग्यौँ—जहाँको शान्त वातावरण र पहाडी जीवनशैलीले मन शान्त बनाइदियो । तिनतले झुपडी, उकाली–ओरालीका गोरेटो र गर्मी चियाको स्वादसँगै हामी यात्राको दोस्रो दिन नयाँ झोरेनी बासतर्फ लाग्यौँ ।

नयाँ झोरेनी—जहाँबाट साहसिक कञ्चनजंघा पदमार्गको वास्तविक सुरुवात हुन्छ । पदमार्गले हिमालको काख समाउँदै अगाडि बढ्छ । यहाँदेखि देखिने दृश्यहरू आँखाले मात्र होइन, आत्माले महसुस गर्नुपर्ने खालका थियो । हिमालहरूसँग संवाद गर्न मिल्ने जस्तो लाग्थ्यो । वरिपरि हरियाली जंगल, धुपी र सुनपातीको सुगन्ध, चीमल र गुराँसका फूलहरू—सबैले मनलाई थप आनन्दित बनाइरहेका थियो ।


चराचुरुङ्गीको चिरबिर आवाजले हामीलाई अगाडि बढ्न हौस्याइरहेको थियो । बाटो कतै फराकिलो फाँट हुँदै जान्थ्यो त कतै घनाजंगल र भिरालो ओढार पार गरेर । कतिबेला घाम लाग्थ्यो, अनि आकस्मिक हिउँले हामीलाई ढाके जस्तो लाग्थ्यो । उच्च हिमाली क्षेत्र भएकाले मौसमको पूर्वानुमान गर्नु कठिन थियो, तर यही अप्रत्याशितता नै यात्रा झन रोमाञ्चक बनाइरहेको थियो ।

हिउँ परेको दिनको अनुभव अझै ताजा छ। सेताम्मे हिउँमा रमाउँदै हामी अघि बढ्यौँ । साथीहरूबीच कहिले प्रतिस्पर्धा, कहिले हाँसो ठट्टा, कहिले थकान र कहिले मौनता—यात्रा जीवन जस्तै लागिरहेको थियो । कसैले गति लियो, कसैले विश्राम ग¥यो । कोही पछि परे, कोही नयाँ साथी बने। यस्ता यात्राले केवल प्रकृति मात्र होइन, सम्बन्धहरू पनि बनाउँछ र परीक्षण गर्छ ।

करीब ४० किलोमिटर लामो यो साहसिक पदमार्गले हामीलाई प्रकृतिको अँगालोमा पुर्यायो । विशेषगरी नयाँ पदमार्ग खुलेपछि यात्रा अझ सहज र व्यवस्थित भएको अनुभव भयो । नयाँ झोरेनीबाट सुरु भएर आम्जी खोला, तुप्लुङ, दुन्दुडाँडा, नगर्चा हुँदै चेराम र अन्ततः ओक्ताङ बेशक्याम्प पुग्ने यो मार्ग साँच्चिकै अद्वितीय छ । हालसम्म २२ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ भने दुई वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् ।

यस पदमार्ग निर्माणमा तीन करोड ५० लाख रुपैयाँको लगानी पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट भएको छ भने बाँकी ३० प्रतिशत स्थानीय गाउँपालिकाले बेहोरेको छ । स्थानीय र केन्द्र सरकारको सहकार्यमा निर्माण भएको यो पदमार्गले साहसिक पर्यटनको नयाँ ढोका खोलेको छ ।

मनमा उत्साहको तरंग दौडियो । अगाडि अटल भएर उभिएको हिमालले हामीलाई स्वागत गरिरहेको थियो । यो दृश्य आँखाले मात्र होइन, हृदयले टिप्नुपर्ने क्षण थियो । त्यहाँबाट देखिने हिमशृङ्खलाको विशालता र सौन्दर्य शब्दमा वर्णन गर्न असम्भव छ ।

यात्रा केवल पदयात्रा थिएन—यो आत्मा र प्रकृतिबीचको गहिरो संवाद थियो । साहसिक यात्राको नाममा हामीले जुन भावना र ऊर्जा प्राप्त ग¥यौँ, त्यो जीवनभर साथ रहनेछ । कञ्चनजंघा पदमार्गले साहसिकतासँगै स्थानीय संस्कृति, प्रकृति र पर्यटनको सम्भावनालाई पनि उजागर गरिदिएको छ ।
साँच्चिकै भन्नुपर्दा, यस्तो यात्रा एक पटक मात्रको अनुभव भएर सीमित रहनु हुँदैन । यो यात्रा पटक–पटक दोहोरिनुपर्ने सौन्दर्य हो, जहाँ हरेक चोटि नयाँ अनुभूति र नयाँ प्रेरणा प्राप्त हुन्छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo