फागुन १९ गते २०८२
04:42: AM
फागुन १९ गते २०८२
04:42: AM

भूपू डाँडाको गुनासो

असाेज १७ गते २०८१
1:48 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ओहो!साला! त्यो भुन्टी देउराली पनि स्याप्प
कपाल कोरेर गुराँसको थुँगा सिउरिदै मसक्क
मस्केकोरे नाथु एउटा लुङ्दर बोक्ने डल्ले हिमाल देख्दैमा
मस्किहाल्नु पर्छर? अनि आफन्त सँग चाहिँ
शंकाले झस्किहाल्नु पर्छर?

नबोलोस् भनेको त त्यै डल्लेसँग आँखा
झिम्काउदै दिल खोलिरहेछ ।
आफ्नो चाहिँ कति धेरै आगोले मन पोलिरहेछ;
तर भुन्टी डल्लेलाइ मन पराइरहन्छे
उत्तै हराइरहन्छे
डल्लेकै जुँगामा मेहन्दी लगाइरहन्छे

यत्ता हेर्छन् कि भनेर हिमपोखरीको आस्था उभिदिएँ
सुनपाती र चिमलको अत्तरले आफूलाई
छर्काएर मन्दिरको घण्टी बजिदिएँ
मिडियामा सिंदुर भन्दा रातो रङ्गिदिएँ
तर कत्ति रिस उठ्दो!
हावामा एक सर्को पालाम गाइन् डल्लेकै सम्बोधनमा ।
ध्वजा पत्तकामा पतर–पतर भट्याउन थालिन डल्लेकै
च्यातिएको गुनगान तर देख्दैन डल्लेको नयाँ
नाकबाट चुहुने पुरानो हिमनदीको सिँगान
जसले पटक–पटक हाम्रो सहजताको बाटो छेक्दै आएको छ।
जति ढोग्यो उत्ति टेक्दै आएको छ ।
यस्तो पीडा त भुन्टीले पनि भोगेकै हो ।
तर भुल्नु हुन्नथ्यो धोका
र खोल्नुहुन्नथ्यो विश्वासको ढोका

भुन्टीलाई देखेर डल्ले लुकाउदै फाल्छ चुरोट
तर हुस्सेमा उठिरहेछ धूवाँ
त्यै धूवाँ छेकेर उभिरहेछ डल्ले
हेर डल्लेको चाउरिएको छाला
सेतै पाउडर दलेको गाला
बनावटी चाला
थाहा छैन भोलिको ठक्कर
उसैसँग चलिरहेछ भुन्टीको चक्कर

यसरी मेरो मायालाई सधैं –सधैं भूलेर बसुन भुन्टी
त्यै डल्लेको सेतो कपाल उखालेर बसुन भुन्टी

उनकै छेउबाट भत्केर गइदिन्छु
कैले नआउने गरेर गइदिन्छु
बल्ल अबरोधको डाँडा भत्क्यो भनुन्
टाउकाको जुम्रा हट्यो भनुन्

जब डल्ले हिमालले नाकामा डल्लो पार्छ
मायामा खल्लो पार्छ
त्यसबेला भुन्टीले
रुँदै यो नभनुन् कि मेरो
भूपू डाँडालाई दसगजा वारि डाक्न चाहन्छु
उसैको काखमा बाँच्न चाहन्छु

तर अफसोस! त्यसबेलासम्ममा मलाई
महासगरको उपनिवेशले डुबाइसकेको हुनेछ र
भुन्टीको सिउँदोले गुमाइसकेको हुनेछ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo