फागुन २२ गते २०८२
08:52: AM
फागुन २२ गते २०८२
08:52: AM

सिङ्जेमा क्षेत्र ताप्लेजुङको उदाउँदो पर्यटकीय र धार्मिक गन्तव्य

भाद्र १५ गते २०८१
7:36 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय संगमको रुपमा, पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालको बारेमा सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थान बनाउँदै गएको हो ।
फक्ताङलुङ गाउँपालिका—७ का वडा अध्यक्ष छेतेन लामाका अनुसार गएको वर्षको दसैँ तिहारको समयमा झण्डै पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गरे, जसले स्थानीय समुदायमा पर्यटनको सम्भावनाप्रति आशा बढाएको छ । सिङ्जेमा ताल घुम्न आउने पर्यटकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । लामा उहाँ थप्छन्, “तमोर कोरिडोर सडक आलोङचुङगोला हुदै टिप्ताला नाका जोडिएको छ । अब भने सहजरुपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।”
सिङ्जेमा ताल फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला क्षेत्रमा पर्दछ । यो ताल ओलाङचुङगोलाको बस्तीबाट एक दिनको पैदल दुरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराईको मापन भने अझै हुन सकेको छैन। प्राकृतिक रुपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकल गरी पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ ।
सिङ्जेमा तालसँग जोडिएका पुराना किंवदन्तीहरु पनि छन्, जसले यस तालको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछन् । स्थानीय मान्यताअनुसार तालको किनारमा बसिरहेको बेला एकजना भोटेले तालबाट निस्केको चौंरीको गोबर घरमा लगेपछि उहाँ सम्पन्न भएका थिए । यस्तै, भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ । यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ ।
तालको परम्परागत धार्मिक आस्था अनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकल स्वरुप गरगहना, घडी, औंठी, चुरा लगायतका वस्तु चढाउने गर्छन् । तर, ती भेटी गहनाको उचित व्यवस्थापन नहुनुले यो धार्मिक परम्परालाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ । सिङ्जेमा तालमा जाँदा स्थानीय परम्परा अनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ ।
तालमा पुग्न ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि तमोर कोरिडोरको कच्ची सडकमार्ग हुँदै गाडीमा ओलाङचुङगोला सम्म पुग्न सकिन्छ । ओलाङचुङगोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई(तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौंरीगोठमा बास बस्न पुग्नुपर्छ । तालक्षेत्र जाने बाटोमा होटल, चिया पसल जस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । यसैले यात्राको तयारी आफैंले गर्नुपर्ने हुन्छ । ताल क्षेत्रको कठिन यात्रा भए पनि यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिपूर्ण छ ।

बैसाखदेखि असोजसम्मको समय सिङ्जेमा ताल भ्रमणको लागि उपयुक्त मानिन्छ । यस अवधिमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अन्य समयमा भने गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुन्छ । तर, तालको धार्मिक दर्शन गर्ने परम्परा भने निकै पुरानो हो, यद्यपि विगतमा यो परम्परा ओलाङचुङगोला आसपासका बासिन्दामा सीमित थियो । पछिल्लो समय, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि तालको आकर्षण बढेको छ । सिङ्जेमा तालमा चलचित्र छायाङ्कन र वृत्तचित्र बनाउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । तथापि, यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को स्वीकृति आवश्यक रहेको छ ।
तालको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो । तालको महत्व र यसको संरक्षणको आवश्यकताले गर्दा, यस क्षेत्रमा पर्यटन व्यवस्थापन र विकासका लागि थप प्रयास आवश्यक छ । यसले स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउनेछ भने धार्मिक र प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणमा योगदान पुर्याउनेछ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo