मनसुन भित्रिएसंगै ताप्लेजुङमा बाढी पहिरोको त्रास बढ्यो
Phaktanglung Darpan
जेठ ३१ गते २०८१
9:55 pm
फक्ताङलुङ दर्पण
हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट सोमबार नेपालमा मनसुन भित्रिएको हो । औसतभन्दा तीन दिनअघि प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर हाल पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित छ । मनसुनी प्रणाली देशभर फैलन भने पाँच–सात दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ ।
ताप्लेजुङमा मनसुन भित्रिएसंगै स्थानीय समुदायहरु त्रासित बनेका छन् । बुधबार रात वर्षासंगै आएको बाढीले जिल्लाको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा भौतिक संरचनाहरु बगाएर ठुलो क्षति गराएको छ । तापेथोकको सिसेवाखोलामा आएको बाढीले पुलहरू बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासँगै बिहीबार बिहान बाढी आएको थियो ।। तमोर नदीमा बनेको बहाब समेत बढेको छ । पानीको बहाब तमोर नदीको किनारमा रहेको बस्तीहरुका समुदाय त्रासित बनेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले तमोर नदीको ड्याम खुलेको र खतरा नभएको बताउनुभयो । लुंगेलीका अनुसार फक्ताङलुङ छेउमा रहेको सिसावा खोलाको पुल बगाएकाले सदरमुकामसँगको सम्पर्क टुटेको छ । त्रिदेशीय सडक तमोर करिडोरमा समेत आवजावत बन्द भएको छ । तमोर करिडोरमा पर्ने फक्ताङलुङ गाउँपालिका ३ स्थित सिस्ने खोलामा बन्दै गरेको मोटरेबल पुललाई पनि क्षति पु¥याएको छ । नवनिर्मित पुलको पिलर, सिमेन्ट र जिपसमेत बगाएको बताइएको छ । ६१ वडामध्ये २३ वटा वडाहरू पहिरोको उच्च जोखिम ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये २३ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये २३ वडा पहिरोको उच्च जोखिममा र ३७ वडा जोखिममा रहेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले बाढी तथा पहिरोको २० वर्षको अवस्थालाई मध्यनजर गर्दै जोखिमबारे औँल्याएको हो। जिल्लाको सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनामलगायत ४ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोला ५ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। उता, सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोप पनि पहिरोको उच्च जोखिममा रहेका बताइएको छ। पाथिभरा याङवरक गाउँपालिकाको नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गरी तीनवटा वडा, मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिन तथा मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यस्थापन समितिका अनुसार मैवाखोला गाउँपालिकाका पाँचवटा वडा पहिरोको उच्च जोखिममा छन्। सदरमुकामसमेत रहेको फुङलिङ नगपालिकाको ११ मध्ये ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। पहिरोको उच्च जोखिममा नगरपालिकाको १, ६, ७, ८ र १० वडाहरू रहेका बताइएको छ। जिल्लाका ६१ वडामध्ये फुङलिङका २ वटा वडाबाहेक ५९ वडा पहिरोको जोखिममा छन् ।सदरमुकाम छेउमा रहेका हाङदेवाको हिरेवा र चिनेवा पहिरोले ठूलो रूप लिएमा सदरमुकाम खतरामा रहेकोतर्फ पनि समितिले ध्यानाकर्षण गराएको छ। नाङखोल्याङ, लिङखिम–थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फुलबारी, याम्फुदिन, तापेथोक, थुम्बेदिनलाई नियमित रूपमा बगिरहने जिल्लाकै ठूला पहिरोको रूपमा लिइएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताए। जिल्लामा भएका पहिरोको अध्ययनको सिलसिलामा यस्तो निष्कर्षमा पुगिएको उनको भनाइ छ। साना मानिएका सावादिन, लिवाङ, इखाबु, तापेथोक, लेलेप आदि पहिरो पनि नियमित बगिरहेका छन्। यी पहिरोले विगतदेखि नै जिल्लामा जनधनको क्षति गरिरहेका बताइएको छ। यी पहिरोका कारण सर्वसाधाारणमा त्रास बढिरहेको त छ नै, विकास निर्माणमा पनि ठूलो बाधा पुगेको छ। विगतलाई हेर्दा असारदेखि असोज महिनासम्मै पहिरोबाट जिल्लामा ठूलो क्षति भएको देखिन्छ। २०७२ सालमा जिल्लाका तत्कालीन गाविसहरू खोक्लिङ, लिबाङ, लिङलेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको मृत्यु भएको थियो। सो पहिरोबाट अर्बौँ रुपैयाँ बराबरको क्षति हुनुका साथै सयौँ घरपरिवार विस्थापित भएका थिए। २०७३ सालमा दोखुमा पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो। साथै, सयौँ घरपरिवारको उठिबास भएको थियो।