स्वर्गको टुक्रामा डुबुल्की मार्दा…

Phaktanglung Darpan
चैत्र २५ गते २०८०
8:18 pm
फक्ताङलुङ दर्पण
विवश केदेम/ताप्लेजुङ
दशै तिहार बिचको लामो छुट्टी थियो । कतै रमाइलो ठाँउ तिर घुम्न जाने रहर । तर कता जाने, को सँग जाने को को जाने कुनै योजना बनिरहेको थिएन । अचानक फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु मुक्ति दाइको नम्बरबाट फोन आयो । फुर्सद छ भने जाउँ ओलाङचुङगोला तिर भन्नु भयो ।

साँझ तिर फोन गर्दै हुनुहुन्थ्यो भोलि पल्ट बिहानै जानुपर्ने भनेपछि एक छिन अलमल भएँ । तर फुर्सद नै भएकोले तत्कालै हुन्छ भनेर जाने निश्चित गरेँ । घरबाट लेलेप सम्म म हिडेर जानु पर्ने भयो । बिहानै त्यहाँ पुगेर बसेको थिएँ ।

अरु टोली फक्ताङलुङ गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खेलप्रसाद बुढाक्षेत्री, बैकल्पिक केन्द्रिय सदस्य मिङमाडण्डु शेर्पा, नेपाली काँग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याङ तथा मेरिङदेन गाउँपालिका अध्यक्ष लगायत को टोलि गाडीमा आइपुगेपछि यात्रा शुरु भयो लेलेपबाट ।

लेलेपबाट झण्डै तिन घण्टाको सवारी साधन मार्फत यात्रा पश्चात ओलाङचुङगोला पुग्नु भन्दा अघिको अन्तिम मानववस्ती इलाडाडाँमा पुगियो । इलाडाडाँ पुग्नु भन्दा अगाडी लुङथुङ गाउँमा झरना, प्राकृतिक सुन्दरताले भरिएका वन जंगलहरु पनि प्रत्यक्ष अवलोकन गर्दै अगाडी बढ्दै थियौं । त्यहाँ खाना खाएपछि पुनः केहि मिनेट पर किसोङमा सम्म गाडी चढेर गए पछि भने पैदल यात्रा शुरु भयो ।

तमोर नदि उर्लेर आउने सुकेपानी पुल तरेपछि अलिकति उकालो लागेपछि ओसिलो खोँच चट्टान तथा मालिङगो घारि, पुल खोल्सा, झाडी तथा झरनाहरु पार गर्दै फोटो खिच्दै अगाडी बढीरहेका थियौं । फेदिमा पुग्दा खेरी साँझ परिसकेको थियो । ओलाङचुङगोला पुग्न अझै एक घण्टा जति बाँकी थियो ।

मोवाइलको टर्च बालेर हिड्ने अवस्था भइसके थियो । त्यहाँ अघि नै फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका वडा अध्यक्ष छेतेन शेर्पा र वडा कार्यालयका कर्मचारी तेञ्जीङ शेर्पा थर्मसमा चिया र चाइनिज विस्कुट सहित हामीलाइ लिन आइसक्नु भएको रहेछ । अनुमानित समय भन्दा केहि ढिलो गरी राती ओलाङचुङगोला पुगियो ।फोन बाटनै हामी बस्ने ठाँउको निश्चित भइसकेको थियो ।

२२ जनाको टोली भएकोले दुई तिन घरमा बाँडिएर बस्यौं । सायद धेरै दिन पछिको लामो हिडाँइ ले होला थकित भएर पुगेर खाना खाए पश्चात भोलिको सपना बुन्दै आनन्दले निदाइयो ।
विहान ७ बजे तिर निदाउदा घाम आइसकेको थियो ।

उठेर चिया खाएपछि बाहिर निस्कदा ओलाङचुङगोला बजारको दृष्य देख्दा मनै हर्षित भइ शरिरको थकान बिर्सने रहेछ । घरको बनोट सबै एकै प्रकारको ढुङ्गाको गारो लगाई भुईतला दाउरा तथा याक चौंरी बध्न र माथिल्लो तला मानिस बस्न , सुत्नेकोठा, खाना पकाउने चुल्हो बीच भागमा अनि धुपी सल्लाको बाक्लो तख्ताले छाएको घरमा खाद्यपदार्थ तथा सरसामानको सजावट निकै आकर्षक लाग्थ्यो भने बाहिर बाटोमा रहेका कानी र मेन्दाङको दृष्यले अध्यात्मिक स्थलमा आइपुगेको आभाष दिइरहेको थियो ।

अव, पहिले तिपताला र सिङजेमा ताल पुगेर आउने कि ओलाङचुङ गोलामा चलिरहेको फुटुक पर्व हेरेर जाने भन्ने बारेमा केहि घण्टा छलफल चल्यो । किनकी उता चिनको स्वशासित क्षेत्र तिब्बतका स्थानिय अधिकारी र यता फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधी सँग नाका खुलाउने विषयमा अनौपचारिक छलफल गर्ने तय गरिएको थियो ।

हामी ९ तारिखमा ओलाङचुङगोला पुगेका थियौँ । उताबाट १२ तारिखमा नभए १४ तारिखमा मात्र समय मिल्ने सुचना प्राप्त भएपछि १४ तारिखलाई निश्चय गरियो किनकी यता फुटुक पर्व हेर्नै पर्ने थियो ।
विहानको खाना खाएपछि हामी लाग्यौं ओलाङचुङगोला बजार देखि नजिकै १०० मी. जति माथि उतर पूर्वी दिशामा रहेको लगभग ५०० वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको दिकीछ्योलिङ गुम्बा तर्फ ।

गुम्बाले वास्तवमा यहाको धार्मिक परम्पराको प्रतिनिधित्व गर्छ । गुम्बा अत्यन्तै सुन्दर छ । यहाँ थुपै्र गौतम बुद्धका महानवाणी अनुवादित धार्मिक ग्रन्थहरु, स्वर्णाक्षरले रङ्गाइएका थाङ्का केहि ठुला साना मुर्तिहरु रहेका छन् भने प्राकृतिक रुपमा उत्पति भएको तिब्बति अक्षरको ॐ माणे पद्मे हूँ लेखिएको सेतो रङको च्याउ छ ।

प्राकृतिक रुपमै उत्पन्न भएको ॐ माणे पद्मे हूँ बारे किंवदन्ती अनुसार गाउँलेहरु विहान चिया खाजा खाएर दाउरा टिप्न जाँदा ओलाङचुङगोला बजार देखि पश्चिम दिशा तमोर नदि पारि पट्टि दाङजेथाङ्गा भन्दा माथि बाक्लो जंगलभित्र एक गाउँलेले जिवीत सल्लाको रुखमा उम्रदै गरेको च्याउ टिपेर दाउराको भारीमाथी र अर्को हातको काखीमा च्यापेर ल्याएको र दाउराको भारीमाथी बोकेर ल्याएको च्याउ दाउर खन्याउदा दाउराले किचेर भाँचिएको र अर्को च्याउ गाउँले र गुम्बाका लामाले देखेपछि दिकिछ्योलिङ गुम्बामा संरक्षण गरेर राखिएको र उक्त च्याउ भेटेर ल्याउने व्यक्तिको भने केहि दिनमै मृत्यु भएको भन्ने भनाइ छ भने उत्त च्याउ आज पर्यन्त संरक्षण गरेर राखिएकोले अहिले पनि अवलोकन गर्न सकिँदो रहेछ ।

दिकिछ्योलिङ गुम्बाको अवलोकन सँगै बाहिर फुटुक पर्वको रौनक शुरु भइसकेको थियो । फुटुक पर्व एक धार्मिक पर्व रहेछ । यो पर्व दशै तिहार पश्चात नेपाली पात्रो अनुसार कार्तिक मंसिर महिनाको औँशीको दिन स्थानिय कुल देवता पाल्देन माक्सुम ग्याबो र थुदामको थुदाम ग्याबोबीच युद्ध र धार्मिक लामा र स्थानिय गाउँले अनेकौँ आकृति र रुप भएका मुखुन्डो तथा धार्मिक भेषभूषा लगाएर लामा नृत्य प्रदर्शन गरिदो रहेछ ।

केहि दिन अगाडी देखी शुरु भएपनि विशेष गरेर ३ दिन सम्म उल्लेखित कार्यकलापहरु हुने रहेछ । हाम्रो टोलीले पनि ३ दिन सम्म लगातार फुटुक पर्व अवलोकन गर्ने सुनौलो अवसर प्राप्त ग¥यो ।
चौथो दिन तिप्ताला तर्फ यात्रा अगाडि बढ्दै थियो । बिहानको खाना ९ बजे तिर ओलाङचुङगोलामै खाएर १० बजे तिर त्यहाँ बाट प्रस्थान भयौं । तमोरखोलालाई पछ्याउदैं हामी उत्तर तर्फ बाटो लाग्यौं ।

तमोरको किनारै किनार मोटरबाटो तर अधिकांश ठाउँमा भत्किसकेको, धुपीसल्लाका बाक्ला जंगलका बीच होचा गुराँसका रुख, अग्ला अग्ला पहाडको बिचमा हाम्रो यात्रा निरन्तर जारि थियो । ओलाङचुङगोला देखि केहि घण्टाको हिडाइ पछि दिगासम्बा भन्ने ठाँउमा पुगियो । त्यहाँ फोटो तथा भिडियो खिच्दै एक छिन आराम गरेर फेरी यात्रालाई निरन्तर दिन तर्फ लागियो । अव भने अग्ला धुपी सल्लाका जंगलहरु देखिन छोड्दै गए ।

अव भने धुपीसल्लाका मसिना रुखहरु, सुनपाती भैरुङपातीका बिरुवाहरु निकै आकर्षक लाग्नेगरि देखिन थाले । झण्डै एक घण्टाको हिडाई पछि दिगासम्बादेखि देउमाथाङ्मा भन्ने उपत्यका जस्तै लाग्ने घाँसेमैदानमा आइपुग्यौं । यो ठाउँको भौगोलिक अवस्थिती अत्यन्तै सुन्दर रहेछ । लगभग दिउँसोको ३ बजीसकेको थियो हामी त्यहा पुग्दा । निकै चिसो हावा चल्न शुरु भइसके थियो । बाटो छेउमै एउटा पाटी बनाइएको रहेछ । केहि साथीहरु त्यहा आगो बालेर ताप्न शुरु गरिसकेका थिए । केहि साथी हरु डूइफुड तथा रेडबुल निकालेर बाड्न थाल्नु भयो ।

देउमाथाङ्मा एक हरियो घाँसे मैदान भएको खर्क रहेछ । यहि बाट प्रसिद्ध सिङजेमा ताल जाने बाटो छुट्टिने रहेछ । त्यहि नेर सिङजेमा ताल पुगेर फर्किने टोली सँग भेट भयो । उनीहरुसँग सामुहिक फोटो खिचेर हाम्रो यात्रा फेरि शुरु भयो आजको गन्तव्य माउमाथाङ्ग तर्फ । आधा घण्टा भन्दा केही बढीको यात्रा पछि फेरि अर्को ठुलो आकर्षक घाँसे मैदान माउमाथाङ्ग आइपुग्र्यौ । तिब्बतबाट नजिक, संखुवासभाको सिमाना जनिकबाट बगेर आउने मेन्दोकलुङ नदि र तमोर नदिको दोभानमा अवस्थित माउमाथाङ्ग रहेछ ।त्यहाँ शसस्त्र प्रहरिको विओपी भवन तर चिसो तथा नाका नखुलेको कारण शसस्त्र प्रहरि अहिले ओलाङचुङगोलामै बस्छन ।

एउटा पर्यटन सुचना केन्द पनि निर्माणाधिन अवस्थामा छ । त्यहाँ दुइवटा चौँरी गोठ रहेछन् ओलाङचुङगोलाका । धेरै जनाको टोली भएकाले हामी अगाडी पुगे पनि पछि रहने साथीहरु केहि ढिलो पुग्नुभयो । केहि समय आराम गरे पछि साथीहरु टेन्ट टाँग्न, ओड्ने ओछ्याउनेको व्यवस्थापन तर्फ लाग्नुभयो । हामी बस्ने गोठको दिदिले मिठो चिया पकाएर दिनुभयो । सबै साथीहरु आइपुग्दा साझ परिसकेको थियो । हामी सँगै जानु भएका स्वास्थ्य चौकी तापेथोकका कर्मचारी विक्रम ले बाहिर आगो फुकेर आगो ताप्दै तातो पानी तताउृन थाल्नु भयो । भित्र साँघुरो भएकोले बाहिर दुइ ठाँउ आगो फुकेर आगो ताप्ने व्यवस्था गरियो किनकी निकै चिसो मौसम थियो । रातको झण्डै ९ बजे तिर खाना खाएर केहि साथीहरु बाहिर गित गाउदै नाच्न थाल्नुभयो । तिहारको समय थियो केहि साथीहरु देउसी भट्याउदै रमाइलो गर्न थाले । म भने दिउँसोको हिडाइँले थाकेको महशुुस गरिरहेको थिएँ । त्यसैले टेण्ट भित्र पसेर आराम गरिरहेको थिएँ । एकै छिन पछि सबै साथीहरु भोलि विहान चाडैँ उठेर तिप्लाला तर्फको यात्रा तय गर्नु पर्ने भएकोले आराम गर्न तर्फ लाग्नु भयो ।

तिन चार समुहमा बाडिँएर कोहि गोठमा कोहि टेन्टमा आराम गरियो । विहान लगभग ४ बजे नै उठेर हाम्रो टोलिको गाइडकै भुमिका खेल्नुहुने विक्रम लिम्बुले तातो पानी, चिया नास्ताको तयारी गर्न थाल्नु भयो हामै्र टोलीका केहि साथीहरुले सहयोग गर्नु भयो । सबैलाइ उठाएर अव खाजा चिया खाएर अगाडी नबढे समयमा पुग्न नसकिने सल्लाह दिनुभयो । तिप्तालामा पुगेर तिब्बतका सरकारी प्रतिनिधी र यताका जनप्रतिनिधी बीचको अनौपचारिक भेटवार्ता तय भएको थियो । टोली धेरै जनाको भएकोले कोही अघि पछी गरेर यात्रा शुरु भयो । आफुलाइ चाहिने पानी, डूाइफुड, अक्सिजन लगायतका सामग्री साथैमा बोक्न र हिडाइको स्तर मिलाएर हिड्नु सल्लाह दिदैँ हुनुहुन्थ्यो वडा अध्यक्ष छेतेन शेर्पा ।

झण्डै एक घण्टा बढी उकालो हिडाइ पछि सामजुङ पुगियो । त्यहाबाट भने तिप्ताला सम्म सडक टू्याकबाट पैदल यात्रा शुरु भयो । दाहिने पट्टि तमोर नदिको उद्गमस्थल घाङलुङ हिमाल त्यसैको मुनि हिउ पग्लेर जम्मा भएको हिमताल त्यहि बाट शुरु हुन्थ्यो तमोर नदि । बायाँ पट्टि ठुला ठुला चट्टाने हिमाल हरु । त्यही हिमालबाट आउने चिसो सिरेटो । अक्सीजनको कमीले हिडाइको रफ्तार निकै घटेको थियो । श्वास बढिरहेको थियो । धेरै जनालाइ थकान महशुस भइरहेको थियो । हामी समुद्री सतह देखि ५ हजार दुई सय ६० मी. उचाइमा अवस्थित तिप्ताला नाका पुग्यौँ विहानको ११ बजे तिर ।

हामी पुग्दा तिब्बती सरकारी टोलि अघि नै आइपुगि सकेका थिए । उहाँ हरुको न्यानो आतिथ्यता सँगै यताको जनप्रतिनीधीका र चिनको स्वशासित क्षेत्र तिब्बतका सरकारी प्रतिनिधी विच अनौपचारिक वार्ता भयो । कोरोना महामारी पश्चात बन्द भएको तिप्ताला नाका अहिले सम्म नखुलेकाले चार वर्ष देखि दुइ देश बीच हुदै आएको सीमा व्यापार बन्द भएकोले ताप्लेजुङको हिमाली क्षेत्रका वस्तीहरुको जनजिवन कठिन भएको ले निरन्तर प्रयास गर्दा पनि नाका खुल्न सकेको छैन । भेटवार्तामा भने तिब्बतका प्रतिनिधीहरुले नाका छिट्टै खुलाएर व्यापार, पर्यटन तथा ओलाङचुङगोला सम्म चिन सरकारले सडक कालोपत्रे गर्न का लागि सहयोग गर्न इच्छुक रहेको बताए । वार्ता पश्चात तिब्बती प्रतिनिधीको आतिथ्यता, विभिन्न परिकारका खानेकुरा, सँगै केहि उपहार साटासाट पछि सामुहिक फोटो खिच्दै त्यहाँ बाट फर्किनु पनै समय भइसकेको थियो । किनकी हामी पुन माउमाटार पुगेर अर्को दिन सिङजेमा ताल जाने समय तालिका तय भइसकेको थियो । साझ तिर हामी माउमाटार मै पुगेर बास बस्यौँ अघिल्लो रात जस्तै गोठमा ।

बिहान ५ बजे बाट नै यात्रा शुरु भयो सिङजेमा तर्फ । यस क्षेत्रको धेरै ताल हरु मध्ये सिङजेमा ताल धार्मिक , साँस्कृतिक महत्व बोकेको सबै भन्दा ठूलो ताल हो । यहाँ पुग्न लगभग माउमाबाट ४ घण्टा लाग्ने रहेछ । माउमाटारबाट हिडेको डेढ घण्टा मा छेर भन्ने ठाउँमा पुग्र्यौ । त्यहाँ भन्दा अघि पछि याक र चौरी हरु घाँटीमा बाधिएको घण्टी बजाउदै चरिरहेको मनमोहक दृष्य साच्चीकै गज्जबको ।
छेर मा चिया खाजा खाएपछि खाना खान यहि खाउनुपर्ने भएको ले खाना बनाइराख्न अनुरोध गरेर हाम्रो यात्रा अघि बढ्यो । ३० मिनेट जतिको हिडाइ पछि भने उकालो शुरु भयो । झण्डै डेढ घण्टा को हिडाइ पछि अन्तिम गन्तव्य सिङजेमा पुगियो ।जुन समुद्री सतह देखि चार हजार सात सय आसपास थियो ।
यो हिमतालको पानी अत्यन्तै सफा चोखो र आकर्षक देखिदो रहेछ । आकाश नीलो हुँदा तालको पानी पनि नीलो देखिन्छ । बादल मडारिँदा ताल पनि कालै बन्छ । सूर्यास्तका बेला रंगीन रुप हुन्छ । आकाशको रंग अनुसार तालले आफ्नो रुप बदलिरहन्छ । हिमालको काखमा ताल वरिपरि धेरै भाग चट्टानले घेरेको छरु। आकाशमा बादल मडारिएसँगै छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्ने सिङजेमा ताल बिहानदेखि बेलुकिसम्म फरक(फरक रंगमा सजिन्छ। ताललको अवलोक गर्न पुग्ने जो कोही एकै छिन कोही मन्त्रमुक्त हुन्छ । आँखा नझिम्क्याई जति हेरे पनि आँखा थाक्दैनन् । ताललाई छोडेर फर्कन मन लाग्दैन ।
एक किवंदन्ति अनुसार एक दिन गोठालोको भेडाहरु हराएछन । खोज्दे जादा पोखरीको किनारमा पुगेछन् । पोखरीको मध्यभागबाट गाइ बाहिर निस्केर गोव्य्राएर फेरि ताल भित्र पसेछ । ति गोठालोले अचम्म मान्दै गोवरलाइ पोको पार्दै पानी भित्र पनि गाई हुदो रहेछ भनेर अरुलाइ देखाउन हुन्छ भनेर गोवरको पोको बोकेर घर फर्केछ । फर्कदा भेडाहरु पनि भेटेछ । गोबर गह्रौ हुदै गएपछि घर पुगेर खोलेर हेर्दा सुन भएछ । सुन काठको ठेकीमा लुकाएर राखेछ । त्यहाँ देखि उनको मनमा चिताएको कुरा पुग्न थालेछ । त्यसैले यस पोखरीमा दर्शन गरि पुजापाठ गर्नाले मनोकाँक्षा पुरा हुने तथा तालको वरिपरि फोहोर मैला गर्न नहुने जन विश्वास रहेको वडा अध्यक्ष छेतेन शेर्पा बताउनुहुन्छ ।
हामी चार पाँच जना मात्र अगाडी पुगेका थियौँ । पहिले पनि पुगेका साथीहरुले माथिल्लो पहाडमा उक्लिन सक्यौँ भने त्यहाँ झन आकर्षक साम्दो ताल रहेको जानकारी दिन भयो । हामी त्यहाँ पनि पुग्ने निष्कर्ष मा पुग्दै उकालो यात्रालाइ निरन्तरता दियौँ । झण्डै एक घण्टा सिधा उकालो जानुपर्ने । बाटो निकै कठिन ,कालो पहाड झण्डै पाँच हजार मिटर उचाइ हिड्न कठिन भए पनि पुगेरै छोडियो । त्यहाँ पुगेपछि लाग्यो हामी कतै धर्तीकै स्वर्गमा छौँ । त्यसो त स्वर्ग देख्ने यहाँ कोहि छैन ।
यति हो, यहाँ को वातावरण अति रमणिय र अहिले सम्म देख्दै नदेखेको । निकै थकाइ लागेको थियो तर वरिपरि हिमाल, उत्तर पुर्वमा सँगै रहेका दुइटा ठुलाठुला साम्दो पोखरी, उतर पश्चिममा सिङजेमा तालको दृष्य देख्दा मन भित्र देखिनै हास्थ्यो । सबै हाम्रो टोली यहाँ सम्म आउन सकेन । त्यहा पुग्ने जतिले विभिन्न कोणका तस्वीर लिन सबैका मोवाइल व्यस्त थियो । केहि समयको बसाइ पछि हामी सिङजेमा ताल तर्फ ओरालो झर्यौँ ।
माथी उक्लन नसक्ने टोली सिङजेमा वरिपरि परिक्रमा गदै फोटो खिच्दै रमाइरहनुभएको थियो । हामी आइपुगेपछि सामुहिक फोटो खिच्दै अव आजको गन्तव्य तर्फ लाग्ने बेला भइसकेको थियो । हामी छेरमा रहेको गोठमा आएर खाना खानु पर्ने थियो विहानको तर समय दिउसोको दुइ बजेको थियो । केहि साथीहरु झरि सक्नुभएको थियो ।हामी पनि विस्तारै त्यो स्वर्गको टुक्रालाइ विदाइ गर्दै फर्कनु प¥यो । छेर पुग्दा चार बज्न लागिसकेको थियो । अगाडी आउने साथीहरु खाना खाइसक्नु भएको थियो । हामी पनि खाना खाएर पछि आउने टोली लाइ एक छिन पर्खेर सबै खाना खाइसकेपछि ओलाङचुङगोलामा रातको ९ बजे आइपुगेका थियौ ।
ओलाङचुङगोला क्षेत्र आकर्षक पर्यटकिय गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना रहेको क्षेत्र हो । यहाँको प्राकृतिक सुन्दरता, मनोरम दृष्य जैविक विविधता, सामाजिक, साँस्कृतिक विविधताको विषयमा अध्ययन अनुसन्धान का लागि एक उत्कृष्ट क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
ठुलो सम्भावना बोकेको यहाँको ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक सम्पदाकोहरुको महत्वपुर्ण स्थल बन्ने कुरामा दुइमत छैन । निर्माणाधिन भौतिक पुर्वाधार सडक सञ्जाल आदिको निर्माण कार्य सम्पन्न भए पश्चात धार्मिक साँस्कृतिक सँगै तिब्बत सँगको व्यापारिक केन्द्र तथा आकर्षक पर्यटकिय स्थल बन्ने प्रचुर सम्भावना रहेको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला





