ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् । सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी संकलन भएको छ । संखुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ जना आरोहीले सफल आरोहण गरेका छन् । जसबाट एक करोड ६२ लाख ६९ हजार ४८० रुपैयाँ रोयल्टी संकलन भएको छ । विश्वको अग्लो सगरमाथा हिमालमा ३०२ पुरुष र ७२ महिला गरि ३७४ जनाले सफल आरोहण गरेका थिए । जसबाट ५५ करोड ४९ लाख ९० हजार २७८ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
यस सिजनमा २३ वटा हिमाल तथा पिकहरुको सफल आरोहण गरिएको थियो । जसमा ६७८ पुरुष र १९१ महिला गरि ८६९ जना नेपाली तथा विदेशीले नेपालका हिमाल तथा पिकहरुको सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क रहेको छ । जसबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ ।
हिमालहरुको अस्थित्व जोगाउँन संकटम
हिमाल हाम्रो गौंरव हो । हाम्रो सम्पती हो । तर पछिल्लो समयमा जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला ? दिन दिनै हिमाल नाङ्गिँदै जाने क्रम बढ्दै गएको छ ।
हिमाल, सुन्नासाथ हाम्रो मानसपटलमा एउटा आकृति आँखा अगाडि आउँछ । हिउँले छपक्कै छोपेको । चाँदी जस्तै सेताम्य । जस्तोसुकै परिस्थितिमा पनि अटल रहने पहाडको चुचुरोहरु । हिमाल देख्नासाथ जो कोहिले गर्वको महसुस गर्दछन् । अनि स्थिर भएर अगाडि बढ्ने अठोट गर्दछ । उत्तरपट्टि हेर्यो भने हिउँले ढाकिएको सेतै चम्किरहेको सेतो पहाड देख्नेछौं । सधैँभरि हिउँले छोपिएर रहने भएकाले हिमाल भनिएको हुन सक्छ । समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइ भयो भने पहाडलाई सधैँ हिउँले छोप्छ । हिमाल यस्तै हिउँले छोपिएको पहाड हो ।
नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० वटा सबैभन्दा अग्ला हिउँ चुचुराहरू यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ ।
नवौँ चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ । अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण–१ सम्म आठ वटा नेपालमा छन् । हिमालका चुचुराहरू सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धौलागिरि, मनास्लु र अन्नपूर्ण–१ नेपालमा छन् । यी सबै आठ हजार मिटरभन्दा अग्ला छन्, तर ती हिमालहरु अहिले हिम रेखा सर्दै जाने क्रम बढेसंगै हिमलहरु नाङ्गिँदै जाने क्रम बढ्दै गएको छन् ।
हिमरेखा वार्षिक ६.५ मिटर माथि सर्दै
हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको तथ्य विभिन्न अध्ययन र स्थानीय अनुभवले पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), वातावरण वैज्ञानिकहरू र स्थानीय समुदायको अनुभवबाट प्राप्त तथ्यांकले नेपालको हिमाली भूगोल परिवर्तनको चपेटामा परेको देखाउँछ ।
इसिमोडले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदन स्टेटस अफ ग्लेसियर्स इन द हिन्दु कुश हिमालयन रिजन अनुसार ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ । सोही अवधिमा सो क्षेत्रमा रहेका हिमतालहरूको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । १५ वर्षअघि २७ वटा हिमताल रहेकोमा अहिले ४९ पुगेका छन् । यसबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रको भौगोलिक स्वरूप र पर्यावरणीय संरचनामा कति ठूलो प्रभाव पारेको छ भन्ने बुझ्न सकिन्छ ।
जलवायु परिवर्तनको प्रभावलाई मापन गर्ने अर्को महत्वपूर्ण अध्ययन इसिमोडको हिमालयन वाटर सिक्युरिटी (२०२२) प्रतिवेदनले पनि नेपालमा प्रतिदशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले वृद्धि भएको देखाएको छ । यस तापक्रम वृद्धिले हिमनदी पग्लने दरलाई अझ तीव्र बनाएको, हिमरेखा माथि सर्ने प्रक्रिया छिटो भएको, र हिमाली क्षेत्रका बासिन्दाहरूको जीवन, खेतीपाती, पशुपालन तथा खानेपानी स्रोतहरूमा सीधा असर परेको देखिएको छ ।
तत्काल जलवायु अनुकूलन तथा दीर्घकालीन रणनीतिहरू अपनाइएन भने हिमनदीहरूको ह्रास अझ तीव्र हुने र यो समग्र जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा दीर्घकालीन संकटको कारक बन्न सक्ने विभिन्न प्रतिवेदनहरुले देखाएको छ । …
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
