भाद्र १९ गते २०८२
04:21: PM
भाद्र १९ गते २०८२
04:21: PM

पोखरीको सुन्दरतासँगै दौडको रौनक, तिम्बुङ पोखरी ट्रेल रन हुदै

भाद्र १२ गते २०८२
8:09 am
Author Avatar
फक्ताङलुङ दर्पण

पूर्वी हिमालको गोदमा अवस्थित तिम्बुङ पोखरी आगामी भदौ २६ गते दौडधुपले गुञ्जिने भएको छ। सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले पहिलो पटक “तिम्बुङ पोखरी ट्रेल रन” आयोजना गर्न लागेको हो।

पाँचथर र ताप्लेजुङको सीमामा पर्ने ४,३८० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण चर्चित गन्तव्य बनेको छ। यद्यपि, यो क्षेत्र अझै पनि अपेक्षाकृत कम पर्यटक पुगेको गन्तव्य मानिन्छ। यही कारण प्रतियोगितालाई पर्यटन प्रवर्धनको नवीन प्रयासका रूपमा लिइएको छ।

कार्यक्रम संयोजक अमिर राईका अनुसार, गत वर्ष सिदिङ्वाधाम पर्यटन महोत्सवमा गरिएको खुला म्याराथनले पाएको सफलता यसपटक ट्रेल रनमार्फत निरन्तरता पाउँदैछ। “हामीले खेल र पर्यटनलाई जोड्दै पोखरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहेका हौं,” राईले बताए।

प्रतियोगितामा खुला वर्गतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन्। साथै महिलातर्फ र स्थानीय सहभागी विजेताका लागि छुट्टै पुरस्कारको व्यवस्था गरिएको समितिले जनाएको छ।

सिदिङ्वा गाउँपालिकाले पछिल्लो समय तिम्बुङ पोखरी मात्र होइन, सिदिङ्वाधाम, ढङ्ढङ्गे झरना, चमेरे गुफा, हात्ती ढुङ्गा लगायतका स्थललाई जोडेर पर्यटन प्रवर्धन अभियान चलाइरहेको छ। “महोत्सव र प्रतियोगिताहरू केवल रमाइलोका लागि होइनन्, यी माध्यमले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर गाउँको अर्थतन्त्रलाई बलियो बनाउन खोजिएको हो,” गाउँपालिकाले जनाएको छ।

तिम्बुङ पोखरी ट्रेल रनलाई स्थानीयवासीले पर्यटन विकासतर्फको महत्वपूर्ण मोडको रूपमा हेरेका छन्। पोखरीको चिसो हावा, धार्मिक महत्व र हिमाली दृश्यसँगै खेलकुदको ऊर्जा मिसिँदा यस वर्षको भदौ २६ गते तिम्बुङ अझै भव्य देखिने अपेक्षा गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo