भाद्र १९ गते २०८२
05:19: PM
भाद्र १९ गते २०८२
05:19: PM

छ्यो थाङ्गी छ्यो पोखरी पर्यटकका लागि नयाँ गन्तव्य बन्दै

भाद्र ११ गते २०८२
4:57 am
Author Avatar
फक्ताङलुङ दर्पण

दिलकुमार लिम्बू/फुङ्लिङ (ताप्लेजुङ)

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) क्षेत्रमा रहेको छ्यो थाङ्गी छ्यो पोखरी पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचार–प्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको हो ।

समुद्र सतहदेखि करिब चार हजार चारसय मिटर उचाइमा अवस्थित यस क्षेत्रका याक गोठालाका अनुसार पोखरीले मौसमअनुसार रङ बदल्ने गर्छ । कहिले आकाशजस्तै निलो देखिन्छ भने कहिले रातो हुन्छ । पछिल्लो समय प्रचार–प्रसार बढेसँगै पर्यटक आउन थालेको यस क्षेत्रका गाइड पान्दे शेर्पाले बताए । उनका अनुसार यहाँ आउने पर्यटकहरूले यस क्षेत्रलाई “पूर्वको मुस्ताङ” को उपनाम दिने गरेका छन् । सेवा–सुविधा राम्रो दिन सक्ने हो भने पर्यटक संख्या अझै बढ्ने उनले उल्लेख गरे ।

तर, हाल सेवा–सुविधा अभाव हुँदाहुँदै पनि पोखरीको प्राकृतिक सौन्दर्य अवलोकनका लागि पर्यटकको आगमन बढ्दो छ । स्थानीय वाङ्गे शेर्पा (थोक्प्या) का अनुसार थोक्प्या समुदायको भाषामा “छ्यो” भन्नाले पोखरी र “थाङ्गी” भन्नाले टार भन्ने बुझिन्छ । यस अनुसार “छ्यो थाङ्गी छ्यो” को अर्थ ‘पोखरी भएको टार’ हुन्छ । तर पछिल्लो समय मौलिक नामभन्दा फरक नाम प्रयोग गरेर प्रचार हुन थालेकाले मौलिक नाममै प्रचार–प्रसार गर्नुपर्ने धारणा स्थानीय थोक्प्या समुदायको छ ।

लोदेन क्षेत्रमा विगतदेखि जडीबुटी संकलन गर्दै आएका मिक्वाखोला गाउँपालिका–४ साँवा गाउँका व्यवसायी मिलन लिम्बूका अनुसार यहाँ घुम्न आउने पर्यटकहरूले पोखरीको अवलोकनसँगै प्राकृतिक सुन्दरताको आनन्द लिन सक्छन् ।

फुङ्लिङबाट यातायातका साधन प्रयोग गरी सिम्बुक पुग्न सकिन्छ । त्यसपछि पदमार्ग प्रयोग गरेर छिटो हिँड्नेले एक दिनमै लोदेन पुग्छन् भने बिस्तारै हिँड्नेले दुई दिन लाग्छ । लोदेन हुँदै पोखरी अवलोकन गर्ने र फर्कदा तोक्पेगोलातर्फ जाने पर्यटक पनि हुन्छन् । तर, तोक्पेगोला पुग्ने बाटो सहज छैन । करिब पाँच हजार पाँचसय मिटर उचाइको डाँडो पार गर्नुपर्ने भएकाले ‘लेक’ लाग्ने सम्भावना हुन्छ र बाटो चिप्लिने खतरा पनि हुन्छ ।

विगतमा सामाजिक सञ्जालमार्फत केही तस्बिर र भिडियो प्रचार भए पनि अझै व्यवस्थित प्रचार हुन बाँकी रहेको वडा अध्यक्ष ग्यान्जे शेर्पाले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा करिब एक सय पोखरी छन् तर ती पोखरीहरूको वैज्ञानिक अनुसन्धान हुन बाँकी छ । वडाको समन्वयमा पोखरी र तालहरूको वैज्ञानिक अध्ययन गर्ने योजना रहेको उनले बताए । यस अन्तर्गत पोखरीको गहिराइ, लम्बाइ, चौडाइ र जीपीएस मापनजस्ता काम हुनेछन् ।

तर, हालसम्म संरक्षणका काम खासै हुन सकेका छैनन् । गाउँपालिकाको नजर पनि त्यति पुगेको छैन । “मानवले क्षति नगरेसम्म पोखरीहरू आफैं संरक्षित हुन्छन्,” गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पाले भने । उनका अनुसार पदमार्ग निर्माण र पाटी–पौवा बनाउने काम भइरहेको छ । पालिकाले चालु आर्थिक वर्षमा लोदेन क्षेत्रमा मिडिया सम्मेलन गरी पोखरी प्रचार–प्रसार गर्ने र होमस्टे सञ्चालनका लागि समेत पहल गर्ने योजना बनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo