भाद्र १९ गते २०८२
06:40: PM
भाद्र १९ गते २०८२
06:40: PM

सिसेक्पा तङ्नाम: किरात समुदायको मौलिक पर्व

श्रावण १ गते २०८२
8:20 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ — आज किरात समुदायले मौलिक सांस्कृतिक चाड सिसेक्पा तङ्नाम उल्लासपूर्वक मनाइरहेका छन्। साउने सङ्क्रान्तिको दिन किरात राई, लिम्बू, याक्खा, सुनुवार लगायत समुदायले यो पर्व आफ्ना इष्टदेवको सम्मानमा नयाँ अन्नबाली, फलफूल र वनस्पतिको अर्पणसहित धूमधामले मनाउने परम्परा रहिआएको छ।

नेपालको पूर्वी पहाडी जिल्लाहरूमा बसोबास गर्ने किरात समुदाय बिहानै खेतबारी वा नजिकैको वनतिर गई सिसेक्पा तङ्नामका लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गर्छन्। त्यसपछि हरियो बाबियोको डोरीबाट टुङ्गा (नयाँ फलफूल र अन्नबाली बाँधिएको गुच्छा) बनाएर घरको मूल ढोकामाथि झुन्ड्याउने चलन छ। यसले शुभता, समृद्धि र आपत्–विपत्तिबाट रक्षा गर्ने विश्वास गरिन्छ।

पर्वको दिन बिहानैदेखि सबै परिवारका सदस्य जुटेर अन्न, फलफूल, स्थानीय परिकार पकाएर रमाइलो गर्छन्। साँझपख गाउँघर एक्कासि बन्दुक पड्काएर सिसेक्पा तङ्नामको अर्को विशेष पक्षको सुरुवात हुन्छ। थाल, झ्याम्टा, नाङ्लो, ढोलजस्ता परम्परागत वाद्ययन्त्र बजाउँदै घरका बच्चादेखि युवासम्मले घर वरिपरि घुमेर ‘नकारात्मक शक्तिहरू’ हटाउने परम्परा अझै कतैकतै कायम छ।

“सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ” भन्ने भावमा मातृभाषाका मन्त्रहरू उच्चारण गर्दै पर्व मनाइन्छ। यसरी घर र समाजमा रहेका अशुभता, अशान्ति, झगडा र द्वन्द्वलाई भगाउने सांस्कृतिक अभ्यासलाई आज पनि केही गाउँमा निरन्तरता दिइएको छ।

किरात धर्मका जानकारहरूका अनुसार, सिसेक्पा तङ्नामले प्रकृति, कृषि, समाज र अध्यात्मसँगको गहिरो सम्बन्ध बोकेको छ। यो पर्व नयाँ अन्नबाली पाकेको खुसी मनाउँदै, आगामी दिनमा सहकालको कामना र विगतका दुःख–कष्ट खेदाउने प्रतीकका रूपमा मनाइन्छ।

पूर्वका लिम्बू, राईदेखि तराईका थारु र पश्चिमका मगर, गुरुङ समुदायसमेतले आ–आफ्नो ढंगले साउने सङ्क्रान्तिलाई प्रकृति र देवताको सम्मानका रूपमा मनाउँदै आएका छन्। किरात समुदायमा साउने सङ्क्रान्तिलाई सिसेक्पा तङ्नाम र माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम भनेर महान पर्वको रूपमा मनाउने परम्परा रहिआएको छ।

हालका दिनमा भने आधुनिक जीवनशैली, बसाइसराइ र सामाजिक रूपान्तरणका कारण केही परम्परा हराउँदै गएका छन्। तर अझै पनि ग्रामीण भेगमा यो मौलिक चाड जतनका साथ मनाइने गरेको देखिन्छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo