असार २८ गते २०८२
11:41: PM
असार २८ गते २०८२
11:41: PM

सिदिङवाको चमेरे गुफा प्रचार र पूर्वाधारको अभावमा ओझेलमा

असार १७ गते २०८२
6:27 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ओमेन्सा राई, ताप्लेजुङ – सिदिङवा गाउँपालिका–७ अम्बटारमा अवस्थित चमेरे गुफा प्रचारप्रसारको अभाव र पहुँच मार्गको अभावका कारण ओझेलमा परेको छ। स्थानीयवासीका अनुसार गुफा प्राकृतिक रूपमा अत्यन्तै आकर्षक भए पनि गन्तव्यस्थलको विकासमा ध्यान नदिँदा आन्तरिक र बाह्य पर्यटकको चाप कम भएको छ।

चारैतिर हरियाली जंगलले घेरिएको र पहाडको फेदमा रहेको गुफाले मनमोहक दृश्य प्रदान गर्छ। तर गुफासम्म पुग्ने मोटरबाटो नहुँदा र कच्ची गोरेटो पर्याप्त रूपमा विकास नहुँदा यसको अस्तित्व नै संकटमा पर्न सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

७७ वर्षीया स्थानीय बासिन्दा तारामाया तामाङका अनुसार, चमेरे गुफाको प्रवर्द्धनमा स्थानीय सरकारले ध्यान नदिँदा पर्यटक आकर्षित हुन सकेका छैनन्। “यथासमय गुफाको पूर्वाधार विकास भयो भने गाउँको मुहार फेरिन सक्छ,” उहाँले भन्नुभयो।

गुफाको नामाकरणबारे जानकारी राख्नेहरू भन्छन्– पहाडभित्र चमेरा बस्ने भएकाले यसको नाम ‘चमेरे गुफा’ रहन गएको हो। विसं २०४७ तिर गुफाको पहिचान भए पनि कसले र कसरी पत्ता लगायो भन्नेबारे अझै स्पष्ट विवरण छैन। कतिपय स्थानीयका अनुसार भिरमा घाँस काट्न गएका बेला गुफा पत्ता लागेको हो।

बर्खायाममा गन्तव्यसम्म यातायात असहज हुने र हिउँदमा मात्रै साना सवारी चल्ने अवस्था रहेकाले पर्यटकको संख्यामा कमी आएको स्थानीय बताउँछन्। गुफाको पहुँचमार्ग र पूर्वाधार विकास भए पर्यटक बढ्ने र त्यसले गाउँपालिकाको आर्थिक वृद्धि हुने विश्वास गरिएको छ।

चमेरे गुफा संरक्षण समितिका अध्यक्ष अविचन्द्र लिम्बुका अनुसार, गुफासम्म पुग्न सहज सडक नभएकाले पर्यटकलाई कठिनाइ हुने गरेको छ। “गुफाको प्रवर्द्धन सबैको चासोको विषय हो, तर पालिकामा पटक–पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ भएको छैन,” उहाँले भन्नुभयो। अघिल्लो आर्थिक वर्षमा गोरेटो बाटो निर्माणका लागि पालिकाले ५० हजार रुपैयाँ मात्र विनियोजन गरेको समितिको भनाइ छ।

वडा नं. ७ का वडाध्यक्ष लक्ष्मण तामाङले पनि गुफालाई पर्यटकीय गन्तव्य बनाउने योजनासहित पहल गरिरहेको बताउनुभयो। “चमेरे गुफा हाम्रो वडाको गहना हो, तर बजेट अभावका कारण बाटो निर्माण गर्न सकेका छैनौं,” उहाँले भन्नुभयो। सिदिङवा गाउँपालिकाले भने चालु आर्थिक वर्षमा चमेरे गुफाका लागि कुनै बजेट विनियोजन नगरेको पुष्टि भएको छ।

स्थानीयवासी र सरोकारवालाहरूले चमेरे गुफालाई संरक्षण तथा प्रवर्द्धन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने माग गरेका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo