सिक्कुम फुरुम्बाे चरपे ,बेलायत
सेमुक्ति मुक्कुमलुङ संरक्षण सहयोग समिति युकेको आयोजनामा बेलायतमा मुक्कुमलुङ सम्बन्धी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपालबाट केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बुको विशेष उपस्थिती रही विभिन्न सामाजिक, राजनीतिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
किरात याक्थुङ चुम्लुङ युकेको सभाहलमा आयोजित कार्यक्रममा चुम्लुङ युकेका अध्यक्ष कमला सेन्दाङ, ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) का केन्द्रीय अध्यक्ष पदमसुन्दर लिम्बू, चुम्लुङ आस्फोर्ड शाखाका अध्यक्ष सन्दर लिङथेप, रसमोर शाखाका अध्यक्ष थान नाल्बो, चुम्लुङ युकेका केन्द्रीय सदस्य टंक येङदेन, पूर्व उपाध्यक्ष गणेश इजम, लिम्बुवान नागरिक समाजका पूर्व सल्लाहकार लोकेन्द्र तबेबुङ, पहिचानवादी मोर्चा युकेका संगठन प्रमुख राम इजमलगायत सहभागी थिए।
नेपालबाट अफिसियल भ्रमणमा दुई साताका लागि बेलायत पुगेका संयोजक खगेन्द्र फेम्बुले कार्यक्रममा बोल्दै, मुक्कुमलुङ क्षेत्रमा जनचाहना विपरीत जबर्जस्ती केवलकार निर्माण गर्न खोजिएको भन्दै गम्भीर आपत्ति जनाए। “हामी पटक–पटक झडपमा होमिइसकेका छौं, बलपूर्वक केवलकार निर्माण गरे पनि त्यो चल्ने छैन, यसको परिणाम राम्रो हुँदैन,” उनले चेतावनी दिए।
उनले मुक्कुमलुङ क्षेत्रलाई पवित्र मुन्धुमी र सांस्कृतिक स्थल भन्दै विकासको नाममा विनाश नगरिनुपर्ने बताए। “विकास भनेको जनतालाई खुसी दिने माध्यम हुनुपर्छ, निराशा होइन। जबसम्म सास चलिरहन्छ, हामी मुक्कुमलुङ बचाउन लडिरहनेछौं,” उनले अठोट व्यक्त गरे। उनले विदेशमा रहेका पहिचानवादी, अस्तित्ववादीहरूलाई एकताबद्ध भई सहयोग गर्न आह्वान गर्दै “माङ कसम खाएर भन्छु, कुनै पनि लोभलालच वा सौदाबाजीमा हामी आन्दोलनलाई ओझेल पार्नेछैनौं,” भने।
कार्यक्रममा सहभागी पदमसुन्दर लिम्बू, गणेश इजम, राम इजमलगायतले मुक्कुमलुङ आन्दोलन साझा आन्दोलन भएको उल्लेख गर्दै यसलाई सफल बनाउन जहाँबाट भए पनि वैचारिक, नैतिक, सैद्धान्तिक साथ दिनुपर्ने धारणा राखे।
कार्यक्रममा रसमोर शाखाका अध्यक्ष थान नाल्बोले मुन्धुमी स्थलमा जबर्जस्ती केवलकार निर्माण गर्ने प्रयास र त्यसलाई राज्यको गोली प्रहारजस्तो दमनले न्यायप्रति प्रश्न उठाएको भन्दै विज्ञप्तिमार्फत घोर भर्त्सना गरे।
कार्यक्रमको अध्यक्षता युके संयोजक दिल सम्बाहाङफेले गरेका थिए भने सञ्चालन सहसचिव लाहाङ चम्जोङले गरेका थिए। कार्यक्रममा मुक्कुमलुङ आन्दोलनमा साथ र समर्थन जनाउने व्यक्तिहरूलाई धन्यवादपत्र पनि प्रदान गरिएको थियो।