फक्ताङलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै गुणस्तरीय, समावेशी र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य राखिएको छ । विद्यालय शिक्षा सुदृढीकरणदेखि लिएर स्थानीय पाठ्यक्रम निर्माण, डिजिटल सामग्री पहुँच, शिक्षक क्षमताविकास, तथा विद्यार्थी पोषण कार्यक्रमसम्मका थुप्रै विषय समेटिएको यस नीति तथा कार्यक्रममा नविनता र व्यवहारिकतामा जोड दिइएको देखिन्छ
स्थानीय अभिभावक सहभागिता र साझेदारीमा जोड
विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउँदै शिक्षक, अभिभावक संघ, विद्यार्थी प्रतिनिधि र समुदायका सरोकारवालासँग सहकार्य गरी विद्यालयमा अपनत्वको भावना जगाउने कार्यक्रम सञ्चालन गरिनेछ । यस उद्देश्यले संवाद, छलफल, अभिमुखीकरण र जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिइने छ ।
अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षा
आर्थिक अभाव वा पारिवारिक हेरचाहविना जीवन गुजारिरहेका बालबालिकालाई निशुल्क शिक्षा, आवास सुविधा, पोषणयुक्त खाना र लुगाफाटाको सुनिश्चितता गर्दै उनीहरूको मौलिक अधिकार सुरक्षित गरिने नीति लिइएको छ । मानव अधिकारमैत्री शिक्षाको यो धारणा ग्रामीण परिवेशमा अभिनव अभ्यास बन्न सक्ने सम्भावना छ ।
स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयन
गाउँपालिकाले आफ्ना भौगोलिक, सांस्कृतिक, सामाजिक तथा वातावरणीय सन्दर्भ समेटिएको स्थानीय पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुर्याइसकेको छ । अबको शैक्षिक सत्र २०८३ बाट पूर्ण कार्यान्वयन गरिनेछ भने पाठ्यपुस्तक छपाइको समेत आवश्यक व्यवस्था मिलाइनेछ । यसले विद्यार्थीलाई आफ्नो परिवेशप्रति साक्षर र सचेत बनाउने विश्वास गरिएको छ ।
विद्यालय सुधारको लागि नमुना विद्यालय
आगामी वर्ष दुई विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गरिनेछ । यसका लागि आधारभूत संरचना सुधार, डिजिटल पहुँच, दक्ष शिक्षकको व्यवस्था र शिक्षकहरूको नियमित उपस्थिति सुनिश्चित गर्न विद्यालयहरूमा सीसी क्यामेरा जडान गरिनेछ । साथै, परासमर कक्षा सञ्चालनको समेत व्यवस्था गरिनेछ ।
परीक्षा प्रणालीमा सुधार र पारदर्शिता
कक्षा ८, १० (SEE), र १२ मा उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई नगदसहित सम्मान गरिनेछ । साथै, कक्षा ८ को वार्षिक परीक्षा सरस्वती माध्यमिक विद्यालय तापथोक र सावा माध्यमिक विद्यालय सवामा केन्द्र बनाई सञ्चालन गरिएको प्रणालीलाई निरन्तरता दिइनेछ ।
पोषण कार्यक्रम र स्थानीय खाद्य प्रवर्द्धन
विद्यार्थीलाई विद्यालय जान प्रोत्साहन गर्न दिइने निःशुल्क खाजालाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधिको पहलमा थप रु. ५ प्रतिविद्यार्थी दिने योजना छ । साथै, जङ्क फुड हटाएर स्थानीय उत्पादनको समावेशीकरण गरिनेछ । यसले स्थानीय कृषिको प्रवर्द्धन र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
डिजिटल पहुँच र ई-लर्निङ
विद्यालयमा इन्टरनेट सुविधा, डिजिटल सामग्री, र इन्टरएक्टिभ माध्यमद्वारा शिक्षण–अध्यान सुधार गरिनेछ । साथै, शिक्षक र कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रमको पनि व्यवस्था गरिनेछ । विज्ञान, प्राविधिक, व्यवसायिक, सीपमूलक र रोजगारमुखी शिक्षा प्रवर्द्धनका लागि शिक्षक पदपूर्ति र व्यवस्थापनमा सघन ध्यान दिइनेछ ।
अंग्रेजी माध्यममा पठनपाठन
गत आर्थिक वर्षदेखि गाउँपालिका भरिका विद्यालयहरूमा सञ्चालन गरिएको अंग्रेजी माध्यममा पठनपाठन कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइनेछ । यसका लागि शैक्षिक गुणस्तरमा वृद्धि गर्न विशेष कार्यक्रमहरू अघि बढाइनेछ ।
माध्यमिक शिक्षाको पहुँच विस्तार
शिक्षा नीतिअनुसार माध्यमिक तहसम्मको निःशुल्क शिक्षालाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गर्न पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गर्न इच्छुक फक्ताङलुङका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ । यसले गाउँपालिकाको साक्षरता दर बढाउने विश्वास गरिएको छ ।
आवासीय छात्रावास कार्यक्रम
वडा नं. ३ स्थित सावा मावि र वडा नं. ६ स्थित सरस्वती चारपाने माविमा लिपमा आवासीय छात्रावास सञ्चालन गरिनेछ । यसले टाढा–टाढाबाट विद्यालय आउने विद्यार्थीलाई राहत पुग्नेछ ।
मातृभाषा संरक्षण र भाषा शिक्षक अभिवृद्धि
गाउँपालिकामा सञ्चालन भइरहेका मातृभाषा शिक्षालाई परिणाममुखी बनाउन शिक्षकहरूको क्षमता अभिवृद्धि कार्यक्रम र तालिमको व्यवस्था गरिनेछ । साथै, स्थानीय भाषालाई विद्यालय पाठ्यक्रमसँग समेत जोड्ने नीति लिइएको छ ।
विद्यालयको सौन्दर्यीकरण र स्वास्थ्यजागरण
सबै विद्यालयमा विद्यालय बगैचा बनाई वातावरणमैत्री शिक्षाको वातावरण तयार गरिनेछ । साथै, प्रत्येक शुक्रबार स्वास्थ्यसम्बन्धी कक्षा, स्वास्थ्य परीक्षण र सरसफाइ अभिमुखीकरण सञ्चालन गरिनेछ । शौचालय, खानेपानी र अपाङ्गमैत्री पूर्वाधारमा पनि जोड दिइने छ ।
जीवन उपयोगी र व्यवहारिक शिक्षा
मावि तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पशुपालन, कृषि अनुसन्धान केन्द्रमा कार्यसम्बन्धी तालिम र ज्ञान प्रदान गरिनेछ । यसले ग्रामीण युवालाई व्यवहारिक शिक्षा सँगै स्वरोजगारमा समेत प्रेरित गर्ने विश्वास गरिएको छ ।
निष्कर्षमा, फक्ताङलुङ गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले ग्रामीण शिक्षा प्रणालीमा समग्र सुधार गर्ने अपेक्षा बोकेको छ । बालमैत्री, शिक्षकमैत्री, वातावरणमैत्री र भविष्यमुखी शिक्षा प्रणालीको परिकल्पना गर्दै शिक्षालाई समावेशी, गुणस्तरीय र प्रयोगात्मक बनाउन खोजिएको छ । यदि यसलाई कार्यान्वयनमा पारदर्शिता, निगरानी र समर्पणका साथ अघि बढाइयो भने, फक्ताङलुङले स्थानीय शिक्षा सुधारको उदाहरणीय मोडल प्रस्तुत गर्न सक्छ ।