असार २९ गते २०८२
10:15: PM
असार २९ गते २०८२
10:15: PM

तेह्रथुममा ‘तारा बहादुर फोनिज पत्रकारिता पुरस्कार’ कोष स्थापना

जेठ २० गते २०८२
3:45 pm
Author Avatar
फक्ताङलुङ दर्पण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति, तेह्रथुमले ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार’ नामक पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ।

मंगलबार म्याङलुङस्थित रेडियो मेन्छ्यायेमको सभाहलमा आयोजित कार्यक्रममा दुई लाख रुपैयाँको मूलधनबाट उक्त पुरस्कार कोष घोषणा गरिएको हो। कोषको व्याजबाट हरेक वर्ष ‘फोनिज डे’ को अवसरमा तेह्रथुममा क्रियाशील एक जना आदिवासी पत्रकारलाई सम्मानपत्रसहित नगद १० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ।

पुरस्कार कोष स्थापनाका लागि तेह्रथुमको आठराई गाउँपालिका–७, थोक्लुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी तारा बहादुर कन्दङवाले सहयोग गरेका हुन्। फोनिज तेह्रथुमका अध्यक्ष वविता राईका अनुसार, तत्कालका लागि कोष रकम म्याङलुङको सहयोगी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिएको छ।

राईले बताइन्, “कोषको व्याजबाट आउने रकम भने आगामी वर्षदेखि मात्रै उपलब्ध हुने भए पनि यसै वर्ष साउन २७ गते २६औं फोनिज डेको अवसर पारेर आन्तरिक व्यवस्थापनमार्फत पहिलोपटक पुरस्कार वितरण गरिनेछ।”

उनले पत्रकारितामार्फत समाज परिवर्तनको अभियानमा लागिरहेका तेह्रथुमेली फोनिजकर्मीहरूलाई सम्मान गर्न र संस्थागत विकासमा टेवा पुर्‍याउने उद्देश्यले पुरस्कार कोष स्थापना गरिएको उल्लेख गरिन्। कार्यक्रममा बोल्दै उनले सहयोगी तारा बहादुर कन्दङवालाई विशेष धन्यवादसमेत दिइन्।

नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङ, फोनिजका सल्लाहकार तथा सामुदायिक रेडियो मेन्छ्यायेमका स्टेशन म्यानेजर भगिश्वर तेयुङ लिम्बू ९मनोज० लगायत वक्ताहरूले कोष स्थापनालाई ऐतिहासिक कार्यको संज्ञा दिँदै फोनिज जिल्ला समितिलाई बधाई ज्ञापन गरेका थिए।

बेलायतमा रहेका समाजसेवी कन्दङवाले आफ्नो गृह जिल्लाका पत्रकारलाई सुसूचित समाज निर्माण, प्रेस स्वतन्त्रता, र आदिवासी जनजातिका भाषा, संस्कृति र अधिकारका सवालमा क्रियाशील रहेको भन्दै सम्मानित गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन्।

पुरस्कार वितरणलाई संस्थागत र पारदर्शी बनाउने उद्देश्यले ‘तारा बहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार छनोट तथा वितरण कार्यविधि, २०८२’ तयार गरिएको र सोही कार्यविधिअनुसार प्रत्येक वर्ष पुरस्कार छनोट गरिने फोनिज तेह्रथुमकी सह(सचिव सबिना लुम्फुङवा लिम्बूले जानकारी दिइन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo