नेपालका किसानहरू पछिल्लो समय सामूहिक खेतीप्रति आकर्षित भइरहेका छन् । विशेष गरी ताप्लेजुङका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङमार्फत आफ्नो जग्गालाई एकीकृत गरी व्यवस्थित रूपमा खेती गर्न थालेका छन् । यसरी सामूहिक खेती गर्दा उत्पादनह वृद्धि हुनुको साथै आधुनिक प्रविधिहरूको पनि प्रयोग गर्न सहज भएको छ ।
ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका–२ खुर्पादिन गाउँका किसानहरूले सूर्य ज्योति कृषक समूह गठन गरी सामूहिक रूपमा मकै खेती गर्न थालेका छन् । १२ घरपरिवारले आफ्नो जमिनलाई एकीकृत गर्दै १४० रोपनी क्षेत्रफलमा ज्याब प्लान्टर र पुस्रोसिडरद्धारा लानईमा मकै खेती लगाइने छ । यो समूहले आधुनिक प्रविधिहरूको प्रयोग गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ ।
परम्परागत खेतीबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुदै गएका छन् । पहिले किसानहरू आफ्नै इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली एक जग्गामा लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कादो वा मकै खेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको कृषक भिमा बस्नेतले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङले मकै जोन कार्यक्रम अन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान उपलब्ध भएपछि किसानहरूले सामूहिक मकै खेतीलाई प्रविधिमैत्री बनाएका छन् । कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार, १४० रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिहरुको प्रयोग तथा कृषि प्राविधिकहरूको परामर्शमा मकै खेती लगाउन थालिएको छ । साथै, माटोको गुणस्तर परीक्षण गरेर आवश्यक सुधार गरेपछि मात्र खेती सुरु गरिएको सूर्य ज्योति कृषक बस्नेतको भनाइ रहेको छ ।
परम्परागत खेती प्रणालीमा धेरै श्रम, समय, र लागत लाग्ने तर उत्पादन न्यून हुने भएकाले किसानहरू आधुनिक कृषि प्रणालीतर्फ आकर्षित भएका छन् । आधुनिक प्रविधिको प्रयोगले कम लागतमा धेरै उत्पादन गर्न सकिने भएकाले सूर्य ज्योति कृषक समूहले सामूहिक खेतीको अवधारणा ल्याएको हो ।
सूर्य ज्योति कृषक समूहले १६ लाख रुपैयाँ लगानीमा मकै खेती विस्तार गरेको छ । कुल लागतको ५० प्रतिशत किसानहरूले लगानी गरेका छन् भने बाँकी ५० प्रतिशत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वय एकाई ताप्लेजुङले अनुदान उपलब्ध गराएको छ ।
रामपुर हाइब्रिड १६ र मनकामना–३ प्रजातिका उन्नत जातका मकै खेती गरिँदैछ । परियोजनाका अनुसार, यी प्रजातिहरू उच्च उत्पादन क्षमता भएका मकै हुन । चक्लाबन्दी कार्यक्रम अन्तर्गत किसानहरूलाई आधुनिक कृषि यन्त्र प्रयोग गर्ने ज्ञान, खेती गर्ने प्रविधि, तथा कृषि सल्लाह प्रदान गरिँदै आएको छ । माटो तयारीदेखि मकै रोप्ने, मल हाल्ने, सिँचाइ गर्ने र मकै भित्र्याउने सम्मका कार्यमा ५० प्रतिशत किसानलाई अनुदान पाउँने छन् । आधुनिक प्रविधि अनुसार खेती गर्दा उत्पादनमा वृद्धि हुने र उत्पादन लागत घटने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ताप्लेजुङ कार्यालय प्रमुख काशीराम पाण्डेका बताउनुभयो ।
सामूहिक खेतीका सदस्यहरू आगामी वर्षहरूमा मकै उत्पादनलाई अझ व्यावसायिक बनाउने योजनामा छन् । स्थानीय बजारसँगै राष्ट्रिय बजारमा मकै बिक्री गर्ने तथा अन्य आधुनिक कृषि प्रविधिहरू पनि अपनाउने सोच राखेका रहेका सूर्य ज्योति कृषक समुहका अध्यक्ष देबेन्द्र गुरागाईले बताउनुभयो ।
आधुनिक प्रविधिलाई कृषकमाझ सजिलै पुर्याउनका लागि कार्यालयको कार्यालय प्रमुख सहित कृषि प्रविधिक तथा कृषि इन्जिनियरको टोली कार्यक्रम सञ्चालन भएको स्थानमा गइ मकै लगाउँने कार्यमा प्रत्यक्ष रुपमा सहयोग गरेको थियो । यसरी किसानहरू सामूहिक खेतीप्रति आकर्षित भइर खेती गर्दा यसको सिको अन्य किसान समुहरुले पनि गर्नु पर्ने देखिएको छ । सामूहिक खेती प्रणालीले कृषकहरूलाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ भने मकै उत्पादनमा वृद्धि गरी स्थानीय तथा राष्ट्रिय स्तरमा योगदान पुरÞ्याउने अपेक्षा गर्ने अपेक्षा गरिएको छ ।