मुक्कुमलुङ द्वन्द्व र समाधान

Phaktanglung Darpan
असार ११ गते २०८१
6:54 pm


फक्ताङलुङ दर्पण
–युमाहाङ पालुङवा याक्थुङ
परिचय
मुक्कुमलुङ केही वर्ष अघिदेखि ठूलो विवादमा परेको छ । विषेश गरेर याक्थुङ समूदायले आफ्नो मुन्धुमी स्थललाई मुक्कुमलुङ भन्न छोडेर सरकारी पक्षले पाथीभारा वनाई हिन्दुकरण गरिदै लगेकोले याक्थुङ भाषाको नाममानै पूनस्थापित गरिनुपर्छ भनेर पाथीभाराको स्थापना देखिनै आवाज उठाईरहेका थिए । शुरुमा त्यहाँ मुक्कुमलुङको थान मात्र थियो । थान भन्नाले ढुंगा गाडेको माङ (देवी) को प्रतिक ढुंगा ।

पछाडि पाथिभारा देवीको मूर्ति लगायत अन्य हिन्दू देवी देवताको मूर्तिहरु स्थापना गरिएका थिए र ती पछि स्थापित मूर्तिहरु र अन्य थपिएका संरचनाहरुले मुक्कुमलुङको महत्व घटिरहेकोले मुक्कुमलुङको महिमा अझ वढाउदै लैजानु पर्छ भन्ने हेतुले स्थानीय याक्थुङहरुले स्थानीय सरकारसंग आग्रह तथा अनुरोध गरेका थिए । तर यस कुराको सुनुवाई पटक्कै भैरहेको थिएन । त्यहाँवाट लाखौं भेटी आम्दानी उठन थालेकोले संघ या केन्द्र सरकारले मुक्कुमलुङ हस्तक्षेप गरेर लग्यो । स्थानीय सरकारले नसुनेको कुरो केन्द्र सरकारले सुन्ने कुरै भएन । केन्द्र सरकारले त येति कम्पनिलाई मुक्कुमलुङ पाथिभारा क्षेत्रको नाममा भाडामा दियो । येति कम्पनिले केवलकार वनाउने कम्पनिलाई केवलकार वनाउन अनुमति दियो ।
यो दुईटै कम्पनिहरु जिल्ला वाहिरका हुन । यी व्यापारी कम्पनिहरुले स्थानीय जनताको भावना वुझ्ने कुरै भएन भने आदिवासी याक्थुङ समुदायको त झन समस्या वुझ्न टाढाकै कुरा भयो । यसरी मुक्कुमलुङ मा गाँडमाथि गलगाँड थप्ने कार्य भयो । मुक्कुमलुङलाई पुरानै अवस्थामा फर्काउने, समुदायको हितमा राख्ने आन्दोलन चलिरहेकै वेलामा केवलकार वनाउने थप कुरा आयो । यो केवलकारको पनि धेरै लामो तहका योजनाहरु रहेका छन ।
पहिले फुरुम्वो गढीडाडा देखि मुक्कुमलुङ तल्लो फेदिसम्म थियो । तर भित्रभित्रै त्यो योजना वदलेर तल्लो फेदिवाट मुक्कुमलुङको टुप्पामै पुरयाउने कुरा आयो । यसले धार्मिक आस्थामा आँच आउने हुँदा विवादित भयो । यो कम्पनिले प्रतिआना सस्तो हजारमा पर्ने जग्गाहरु रु.७ लाख मा किनेर प्रति आना ६८ लाखमा किनवेच देखाएर करोडौं घोटला भएको देखिन्छ । यसले शंकाको घेरामा पारेर थप विवाद चर्कियो । समुदायको भावनालाई सम्मान गर्नुको सट्टा जवर्जस्ती केवलकार वनाउने कम्पनिको नितीले विवाद थप वढेर गयो । विरोधको आन्दोलन तिव्र वढेर गयो ।
केन्द्र सरकारले आन्दोलन दवाउन शसस्त्र प्रहरी पोस्ट मुक्कुमलुङ फेदि परिसरमा राख्न खोज्यो तर मुक्कुमलुङ संरक्षण आन्दोलनकारिको दवाव स्वरुप राख्न सकेन । तर प्रहरि प्रशासन लगाएर र आफ्नो पक्षमा धेरै मानिसहरुलाई पैसा दिई काम गर्न थाल्यो । मुक्कुमलुङ पक्षका आदिवासीय संस्थाहरु लाखौं पैसा र अन्य प्रलोभन देखाएर फुटाईएको आरोप लाग्यो । पाथीभारा र केवलकारको पक्षमा वोल्न लगाईयो । तर मुक्कुमलुङ पक्षधरहरु कति पनि डगनमगाई ज्यानको वाजी राखेर मुक्कुमलुङ जोगाउन लागिपरेका छन ।
यसै क्रममा वि.सं २०८१ वैशाख ३१ मा केवलकार वनाउने कम्पनिले दिएको ठेकेदारहरुले ससस्त्र प्रहरी वलको सुरक्षमा गुराँश लगायत हजारौं रुख विरुवाहरु रातिको ३ वजे छापामार शैलीमा काटे । त्यो चालपाएर टाढा गाउदेखि मुक्कुमलुङ वचाउ टोलिहरु ससस्त्र वलको घेरा तोडदै गएर खेदाउने काम गरे । यसमा दुई पक्ष विच झडप पनि भएको थियो ।
केवलकार जसरी पनि वनाउने कुराले विवाद द्वन्द्वमा परिणत भएको हो । केवलकार वनाउदैमा द्वन्द्व किन वढ्नु परयो, यो विकास तथा सुविधाको कुरो हो । तर यसका पछि सकारात्मक भन्दा नकारात्मक कुराहरु धेरै छन । यही सकारात्मक र नकरात्मक कुराहरुलाई पक्ष लिने र नलिने बिचको विवाद सतहमा आई समाधान नहुने स्थितिमा पुगेको छ । जसको लागि पटक पटक वार्ता भएपनि सहमतीमा पुग्न सकेको छैन । अव यहाँ कुनै मध्यस्थ कर्ताको जरुरत देखिन्छ । मैले मुक्कुमलुङ के हो ? र किन विवादमा आयो र अहिले द्वन्द्वमा फस्यो भन्ने वारेमा खोज गर्दै यो लेख तयार गरेर पाठकहरु समक्ष पस्किरहेको छु । जसले मुक्कुमलुङवारे जानकारि गराउने आशा गरेको छु ।
मुक्कुमलुङ के हो ?
धेरै पाठकहरुलाई मुक्कुमलुङ के हो? भनेर थाहा नहुन सक्छ । यो मुक्कुमलुङ भनेको याक्थुङ भाषमा भनिने खस नेपालीमा वोलिने पाथिभारा पहाडको नाम हो । यो थाङवा यकको लिङखीम खेवेङ, माङयुङ, फावाखोला, वखिम–वरक्पा, ताप्पेथक भन्ने ठाउको सवैभन्दा उचाईमा पर्दछ । थाङवा यक भनेको तम्वर तम्वरखोला हो । याक्थुङ भाषामा तम्वर नदीलाई थाङवा भनिन्छ । साथै मुन्धुमी भाषामा भन्दा ईम्वीरी याङथाङवा भनिन्छ । खस नेपाली भाषाको कारण कमैले मात्र यस्ता शव्दहरु सुन्दछन र वुझदछन । खस नेपालीमा तम्वर नदी भनिएको र लेख्न थालिएकोले यही नाम प्रख्यात भएर गएको छ ।
यो क्षेत्र याक्थुङलाजे भएकोले याक्थुङहरु अनादि कालदेखि वसोवास गरिरहेको क्षेत्र हो । तसर्थ यो क्षेत्रको नामहरु याक्थुङ भाषामै राखिएका थिए । त्यस्तै यो क्षेत्र याक्थुङ सभ्यता क्षेत्र हो ।। तसर्थ यहाँ याक्थुङ सम्वन्धित राजनैतिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक धेरै नामहरु रहेका छन । जस्तै फक्ताङलुङ, सेसेलुङ, सेवालुङ, पारुङतेम्वे मारुङतेम्वे, सोधुङ लेप्मुहाङ तेम्वे, खोङसोलुङजङ, सेक्वादेन पाक्वादेन, नाहाङमा यक, तागेरानिङवाफु फुक्कु, ताप्पेसु यक, सेङवा, मिदुप्लुङ, थाक्थाक्खिवो, थाक्केलुङ, वाफेलुङ, साम्लुप्ली÷साम्दुरा यक, माङयुङ, लुङबाङलुङ यक, पुपुरुम्मा, मुक्तुवुङ÷सेमुक्तु मुक्तुगो, मुक्कुमलुङ लगायत सयौंको संख्यामा छन । त्यस्तै याक्थुङहरुको आराध्यदेवी युमा जो स्त्री रुपमा देखा परेर डुलेको घुमेको ठाउहरु प्रशस्त रहेका छन । तर यस लेखको विषय प्रसंग मुक्कुमलुङ भएकोले मुक्कुमलुङ केन्द्रित लेख हुनेछ ।
मुक्कुमलुङ को नेपालीमा शाव्दिक अर्थ “शक्तिशाली ढुंगा” हुन्छ । अर्थात शक्तिशाली पहाड । यो ढुंगा वा पहाड किन शक्तिशाली भो त ? अरु चाही किन शक्तिशाली भएनन? यसवारे पनि प्रस्ट हुन जरुरी छ । यो ढुंगा शक्तिशाली हुनमा याक्थुङहरुको माङ (स्त्री रुपकि ईश्वर) “युमा” यो पहाडमा देखा परेकी थिईन, डुलेकी थिईन, घुमेकी थिईन र यही अल्पीएकी पनि थिईन ।
मुन्धुम अनुसार उनी घुम्दा फक्ताङलुङ, सेसेलुङ, तागेरा निङवाफु फुक्कु, युमा वाधाम, खेजेनिम, सेंवा, लिङिखम, थाक्थाक्खिवो, ताङगेलुङ खास थाक्केलुङ, फुरुम्वो, माङयुङ, ईच्छिीङतेम्वे, पुप्पुरुमा, सेमुक्तु मुक्तुगो या मुक्तुवुङ हुदै मुक्कुमलुङ पुग्थिन अनी कहिले फेरि फक्ताङलुङ फर्किन्थिन भने कहिले फावा, काङवा(कावेली) हुदै यासोक, छथर, चौविस हुदै येत्चीरी येत्वादो (सप्तकोशी), येत्चीरी येत्वादो हुदै तेमेन वलङ (वंगाल खाडि), वंगाल खाडि तथा सोराङवा आप्ताङवा (व्रम्हपुत्र) हुदै तिव्वत, सिचुवान, युनान पुग्दथिन । सोराङवा आप्ताङवा हुदै आप्ताङवा तिप्ताङवा(टिस्टा नदी) लाप्चा पााङभे पुग्दथिन । त्यस्तै नदिकै वाटो हुदै येत्चीरी येत्वादो वाट खम्वुवान, नेवावान पनि पुग्दथिन, अरुङवा वरुङवा हुदै याख्खा पाङभे पुग्दथिन ।
येत्चीरी येत्वादो तलमाथि गर्दै थाक्केलुङ, खिवेलुङ चौविस, काङवादो (कावेली दोभान), सिन्दोलुङ सुम्वादो वाट पाक्वा उकालो लाग्थिन । उकालो पाक्वा वरक, साङवानेबा वरक, याङलीजुङ हुदै तप्मा÷तप्वा वरक हुदै सेमुक्तु मुक्तुगो हुदै मुक्कुमलुङ थेगुमा पुग्थिन (पालुङवा युमा खमा) । अनि पून कहिले त्यही वाटो फर्कने त कहिले थाक्थाक्खिवो हाल लिङिखम तिरवाट फर्किदै फक्ताङलुङहुदै तिव्वततिर लाग्दथिन । कहिले केत्तकुम मिक्वादो हुदै नाङगे, निगिजिुङ, याङिलजुङ, तप्मा वरक वाटो हिड्थिन(फेन्दुवा युमा खमा) । प्रतेक यकका याक्थुङहरुको मुन्धुममा युमा स्थानीय स्थानमा घुम्दै पुगेको वर्णन पाईन्छ । तर प्रायस मूख्य मूख्य ठाउको वर्णन गर्दा सेमुक्तु मुक्तुगो मा सवै याक्थुङहरुले पुरयाउछन ।
यो सेमुक्तु मुक्तुगो मा युमा धेरै प्रकट गर्ने र अल्पीने भएकोले र त्यहा विविध क्रियाकलाप देखाएकोले त्यो ठाउ शक्तीलेयुक्त भै शक्तिशाली भयो । उनी खेलेको, वसेको तथा अल्पेको ठाउ पहराको ओढारमा हो । त्यो ओढार तथा त्यहाँको ढुंगा वाहेक त्यो सवै पहाड शक्तिशाली भयो, मानियो । त्यो थेगु (डाँडा) वरिपरी विषेश गरेर टुप्पाको भाग हालको फेदि या माथिल्लो फेदीदेखि माथि टुप्पाको भागमा युमा पछिल्लो समयमा पनि वेला वेला प्रकट हुन्थिन । यहाँको स्थानीय याक्थुङहरु कसै कसैले देखेको वताउथे । विषेश गरेर तवेवुङ याक्थुङलाई उनले साथदिन खोजिरहेकी थिईन । तर उनीहरुले वुझन सकेनन । यद्यपी पछिल्लो कालमा तवेवुङ वंशको नाम्साङओती नामक पुरुषमा आत्मा आएकि थिईन । साथै कहिलेकाहि त्यो पहाड आगो जस्तो पनि वलेको देखिन्थ्यो । युमा माङको वास भएको पहाड, स्थानीयवासीहरु शक्ति दायकको रुपमा मान्दछन । यसलाई याक्थुङहरु पवित्र शक्तिदायक पहाडको रुपमा व्याख्या पनि गर्दछन ।
मुक्कुमलुङको विगत अधिनस्तता
मुक्कुमलुङ पहिले याक्थुङ थरिहरुको अधिनस्तमा थियो । विषेश गरेर किपटकाल अघिदेखि किपटकालसम्म तवेवुङ, लेछर्वो, माङयुङ याक्थुङहरुको दक्षिण पश्चिम मोहडा, ईजम, वखिम याक्थुङहरुको पूर्व मोहडा, पतङवा, ताप्मादेन याक्थुङहरुको उत्तर मोहोडा, केही तल्तिर फुरुम्वो, नुगो लगायत याक्थुङहरुको पर्दथ्यो । तवेवुङ याक्थुङहरुको पूर्खाहरुलाई युमाले झलक देखाएकि थिईन । उनीहरुको गाउमा तान वुनेर वसेकी थिईन । जुन ठाउलाई थाक्थाक्खिवो भनिन्छ भने तानको डोरि टाँगिएको डुंगालाई थाक्केलुङ÷ताङगेलुङ भनिन्छ । उनी त्यहावाट माथि शिर तिर लाग्थिन । अनी डाडाको टुप्पासम्म पुग्थिन ।
तवेवुङ याक्थुङहरुको कथन अनुसार एक समयमा माथि जंगल गोठमा एक तवेवुङ याक्थुङको दुहुनो गाईको दुहुने वेलामा दुध नआउने भयो । गाई पनि वेला वेला हराउने, खोज्दै जाँदा नभेटेर फर्केर आउदा गाई गोठमै आएको हुन्थ्यो । यो क्रम धेरै पटक चलिरहयो । एक पटक खोज्दै जाँदा एउटा ओढारमा गाई दुहेको आवाज आयो । तर त्यहाँ पुग्दा गाई थिएन । गोठमा आउदा गाई गोठमै थियो । गाई दुहुदा फाँचोनै थिएन, दुधै आएन । त्यो राती तवेवुङले सपनामा स्त्री रुपी युमालाई देख्यो । युमाले म युमा हुँ । तिमीहरुले मलाई चिनेनौं । तिमीहरुले मेरो वासस्थान वरिपरि फोहोर मैला गरयौ । मैले धेरै तरिका अपनाएर जस्तै कहिले गुनगुनाएर, कहिले गीत गाएर त कहिले कराएर तथा विभिन्न आवाज निकालेर सवक सिकाउने काम गरे, तर तिमीहरुले थाहा पाएनौ । त्यसैले गाईको दुध दुहेर राखेकि हुँ ।
अवदेखि मेरो वासस्थानमा फोहर मैला नगर्नु, मेरो मान मनितो गर्नु तिमीलाई फलिफाप हुनेछ भनिन । विहानै उठेर तवेवुङ गोठालाले दुध दुहेर हिजो गाई दुहेको आवाज आएको ठाउ ओढारमा गएर युमामाङ लाई धुपवत्ति वालेर दुध चढाएर पुजाआजा गरयो (मान तवेवुङ, लोकेन्द्र तवेवुङ) । त्यहाँ पहिलो पल्ट पुजा गर्ने तवेवुङ याक्थुङ पूर्खा हुन । त्यसपछि त्यस्तो छल युमावाट भएन । राम्रो हुदै गयो । प्रतेक उधौली उभौलीको समयमा पुजा गर्ने काम भयो ।
त्यहाँ वरपर अन्य याक्थुङ थरिहरु पनि गोठ राख्दथे । त्यो ओढार क्षेत्रमा कहिलेकाही आईमाई मान्छे गुनगुन गर्दै वोलेको, मुन्धुम गाएको लगायत अनेक चालहरु सुन्दथे । तवेवुङ वाहेक अन्य गोठ राख्ने याक्थुङहरुले पनि पुजाआजा गर्न थाले । जुन कुरा चारैतिर फैलिन थाल्यो । यो आजभन्दा ४००–५०० वर्ष अघिको कुरा देखिन्छ । उनीहरु त्यो वेला याक्थुङ भाषा मात्र वोल्दथे । अन्य जातिहरु त्यहाँ आईपुगेका थिएनन । अव त्यो ठाउ वस्तीदेखि ठाढा कहा हो भन्दा माथि एकदम शक्ति भएको पहराको विचमा ओढार भएको ठाउ छ । माङ वसेको ठाउ छ भन्दा “थो मुक्कुमलुङ” भने । त्यो वेलादेखि यो ठाउलाई मुक्कुमलुङ भन्न थालिएको मानिन्छ ।
आजभन्दा १०० वर्ष अघि एकजना वुङकुलुङको भेडी गोठाले गुरुङको पनि भेडा हराएपछि सपनामा एक जना स्त्रीले मेरो वासस्थान क्षेत्रमा फोहर मैला गरेकोले तिम्रो भेडा लुकाएको छु, तिमीले मानमनितो गर्छाै भने सवै भेडा पाउनेछौ भनिन । उनले विउझे पछि आफ्नो सवभन्दा राम्रो भेडा वलि दिने भाकल गरे । त्यसपछि सवै भेडाहरु भेटाईए । भेडि गोठालाले सोही वमोजिम भेडा वलि दिने कार्य गरयो । तर कुन ठाउमा वलि दियो, कहिले दियो स्पस्ट उल्लेख छैन । कसैले पछि फावाखोलातिरवाट कालो वोका ल्याएर वलि दिएको कुरा पनि गर्दछन । फेरि गुरुङ वुङकुलुङको नभएर फुरुम्वोको भन्ने गरिन्छ । त्यसैले यो कपोकल्पीत कुरा हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
जुन वलिप्रथाको शुरुवातको लागि रचिएको पो हो कि ? किनकी स्थान उल्लेख छैन र अन्य हिन्दू जातिहरुलाई पुजा गर्ने वातावरणको लागि पो हो कि ? स्वयं गुरुङहरु वौद्धमार्गी हुन । फेरि याक्थुङ सुव्वाहरुको किपट क्षेत्रमा विना अनुमति कुनै पनि काम गर्न पाईदैनथ्यो । त्यस्तै गरेर यो क्षेत्रमा भेडि गोठ या चरनको लागि उपयुक्त ठाउ छैन । भेडि गोठ या चरनको लागि धेरै खुला चउर या याक्थुङ भाषामा लोदेन चाहिन्छ । त्यस्तो लोदेन यो क्षेत्रमा छैन । यहाँ त गाईवस्तुको लागि मात्र उपयुक्त छ । अर्थात यो ठाउमा ठूलो चउरहरु छैनन, जंगलै जंगल र केही ठाउमा मात्र ससाना चउर मात्र रहेका छन । अझ १०० वर्ष अघि जंगलै वढी थियो । फेदी, हर्कटे, नाम्सालिङ हरु गाईवस्तुको क्षेत्र हो, भेडाको होईन । भेडि गोठ राख्ने जग्गाहरु ताप्लेजुङमा तोक्पे गोला र वलाङचुङ गोलाको नागीतिर मात्र छन ।
अहिले पनि मुक्कुमलुङतिर भेडी गोठ नराखेर त्यहाँको भेडी गोठालेहरु वलाङचुङगोलाको माथि माथि लैजान्छन । त्यसैले यो गुरुङ र भेडा तथा पाथिभारा देवीको कहानी अन्योन्यास्रित छ । गुरुङहरुको वसोवास वि.सं. १९५० हाराहारि देखिन्छ । गुरुङहरु पश्चिम नेपाल प्रायश लमजुङ त्यसपछि संखुवासभा हुदै ताप्लेजुङ फेन्दुवा याक्थुङहरुको किपटमा आएर रैतीको रुपमा वसेको देखिन्छ । त्यसपछि अन्यत्र गएको पाईन्छ ।
वलि पुजा कहिलेदेखि शुरु भयो र कस्ले गरयो भन्ने कुरा गर्भमै छ । तर केही कथन अनुसार धनकुटाको वडा हाकिम राणाले ताप्लेजुङमा आएको वेला पहिलो पटक वोका काटेर शुरु गरेका थिए । त्यसपछि वलि पुजाले प्रश्चय पाउदै गयो । यो हिन्दू संस्कारको विकास भएर गयो । तल ओढारवाट माथि डाडामा मुक्कुमलुङ थान लगेपछि वलि पुजा शुरु गरिएको अनुमान गर्न सकिन्छ । यो करिव वि.सं. २००८–१० सालतिरको भन्ने गरिन्छ । त्यसवेला नेपाल सरकारले सुवाङगी क्षेत्रमा आफ्नो हैकम जमाउदै सुवाङगी प्रथा कमजोर वनाउन चाहान्थ्यो र सरकारी निती लागु गर्न चाहान्थ्यो । उ वेला सरकार र कर्मचारिले पेलेको, शोषण गरेको कुराहरु प्रसस्त सुन्न पाईन्छ । डेढ सयलाई तेह्र सय वनाएर शोषण गर्ने कार्य पनि यहि थाङवा यक को याक्थुङहरुलाई गरिएको थियो । याक्थुङ भाषा मात्र वोल्ने र खस नेपाली भाषा वोल्न नजान्ने याक्थुङहरुले डेढ सय या रु १५० रिण लिएको केही वर्ष पछि सिमित केही साहु वाहुन क्षेत्रीहरु धनिमानीले तेह्र सय भएको कागज देखाएर रिण तिर्न दवाव दिन्थे । रिणी याक्थुङ कसरी तेह्र सय हुन्छ ? भनेर प्रतिवाद गर्दा सिडिओकोमा लगिन्थ्यो ।
सिडिओले, ओ सुव्वा कति रिण लिएको रे भनेर सोध्थ्यो, याक्थुङले भन्थ्यो, देर सय । सिडिओले तेह्र सय हो भन्दा, सुव्वा भनिने याक्थुङले उस्तै होला भनेर टाउको हल्लाउथ्यो । अनि लु तिर्नु पर्छ नत्र जेल हालिन्छ भनेर डर देखाउदै कागज गराएर तेह्र सयको कागज वनाईन्थ्यो । अनि याक्थुङले आफ्नो सवभन्दा राम्रो खेत दिनुपर्दथ्यो । यसरि शोषण गर्नमा सिडिओ पनि वाहुन जाति र स्थानीय साहु पनि वाहुन जाति भएकोमा उनीहरुको भाषा मिल्थ्यो, नाता मिल्थ्यो, विचार मिल्थ्यो । याक्थुङलाई रु १५० भन्न नलगाएर डेढ सय भन्न लगाईयो । भाषा वोल्न नजान्ने र थोरै जाने पनि लवज विल्कुलै मिल्दैनथ्यो । त्यसको फाईदा उनीहरु उठाउथे । फेरि महेन्द्रको नेपाली भाषाको राष्ट्रवाद र किपट र सुवाङगी प्रथा हटाउ अभियानले याक्थुङहरुले नपाउनुसम्मको दुख पाएका थिए । याक्थुङलाई सुव्वा भनेर पनि वोलाउथे गैह्र याक्थुङहरुले । मैले यहाँ जोड्न खोजेको प्रसंग मुक्कुमलुङमा वलि प्रथाको शुरुवात र पाथिभाराको नामाकरणको कारणहरुमा यस्ता चर या भ्यारिएवल्सहरुको कुरा गरेको हो ।
तवेवुङको पालामा युमा माङे÷मुक्कुमलुङमाङे भन्दै उधौली उभौलीमा अस्थायी ढुंगाको थान वनाएर पुजा गर्दथे । त्यस्तै अन्य याक्थुङहरुले पनि याक्थुङ विधि अनुसारनै पुजा गर्दथे । तर त्यो ठाउ सारै विकट जान आउन अप्ठेरो, अक्करे भीर, लडियो भने तल कहा पुगिने, वाँच्ने संभावना नभएकोले तत्कालिन प्रशासक लप्टन हर्कजङ मादेन तथा स्थानीय सुव्वाहरुले फेदाङमा लगेर युमाको पुजा गरेर एउटा थान ढुंगा युमा माङ या देवीको प्रतिक मानेर माथि सजिलो हालको ठाउमा सारेका थिए । यो वि.सं. २००८–१० सालको कुरा अनुमान गर्न सकिन्छ ।
किनकी वि.सं. २००७ को निरंकुश राणा शासनको अन्त्य पछि मात्र हर्कजङ मादेनलाई लप्टनको जिम्मेवार दिएर प्रशासक वनाईएको थियो र उहाँ शक्तिमा आउनु भएको थियो । विस्तारै मूख्य मुक्कुमलुङ ओझेलमा परेर माथिको टुप्पामा लगेर राखिएको मुक्कुमलुङ थान प्रसिद्ध हुदै गयो । अझै पनि सहायक मुक्कुमलुङ÷पाथिभारा वनाउनु परयो भने यसरीनै पुजा गरेर युमा माङलाई मागेर ढुंगा लगिन्छ । यस्ता पाथिभारालाई सानो पाथिभारा भन्ने पनि चलन छ । यस्ता सानो पाथिभाराहरु ताप्लेजुङमा धेरै छन । साथै अन्य जिल्लाहरुमा पनि स्थापित छन । ती मध्ये ताप्लेजुङ वजार नजिकैको याङलीजुङको सानो पाथिभारा पनि ठूलो पाथिभारा पछिको देखिन्छ । त्यहाँ पनि लहरै ढुंगाहरुको थान छ । मूर्ति अझसम्म राखिएको छैन । थानमा के कसो थियो र छ, हुन्छ भन्ने कुराहरु त्यहाँ गएर पनि हेर्दा स्पस्ट थाहा हुन्छ । जुन पाथिभाराको स्थापना वोजेका तुम्वाहाम्फे सुव्वाहरुले गरेको वुझिन्छ । त्यहाँ ठूलो पाथिभारामा गएर भाकल पुजा गर्न नसक्नेहरुले पुजा गर्दछन । यो सहायक पाथिभाराहरुवाट माथिको ठूलो पाथिभारा देखिनु पर्दछ भन्ने भनाई छ ।
नेपाल सरकार याक्थुङहरुको विपक्षमा थियो । उनीहरु याक्थुङहरुलाई सिमान्तकृत वनाउन चाहान्थे । हिन्दू वनाउन चाहान्थे । ताप्लेजुङमा आउने कर्मचारीहरु÷ प्रशासकहरुले नियोजित तरिकाले मुक्कुमलुङ नभनेर अन्न भरिएको डाडा जस्तोपो देखिने रहेछ भनेर पाथिभारा भने । उनीहरुले युमा देवी नै भन्न छोडेर पाथिभारा देवी भन्नु पर्दछ भने । विस्तारै पाथिभाराको साथै कालिका देवी पनि भन्न थाले । मैले माथिनै उल्लेख गरेको छु कि त्यो वेला याक्थुङहरु एकाध वाहेक खस नेपाली वोल्न जान्दैननथे । यो कुरा वि.सं २०००– २०२० तिरको पनि कुरा हो । वि.सं. २०१७ सालमा महेन्द्रको निरंकुश पञ्चायती व्यवस्था र महेन्द्रीय एक जाति नेपाली, एक भाषी खस नेपाली, एक धर्मी हिन्दू राष्द्रवादको कारण याक्थुङ भाषा, धर्म, संस्कार र परम्परामा व्यापक असर गरयो । त्यसैले वलि पुजाको प्रभाव वढेर गयो । मुक्कुमलुङ शव्द ओझेलमा पर्दै विस्मृत प्राय भयो । कसै कसै वुढापाकाहरुले मात्रै भन्दछन र कतिपय पुरानो कागजहरुमा कतै कतै लेखेको भेटिन्छ । साथै मुक्कुमलुङ माङ युमाकै धेरै रुपहरु मध्ये एक रुप भएको र तानको देवीको रुपमा पनि मानिएकोले तल हाल भनिने फेदिदेखिनै पुजा गर्दै, धागो टाँगिदै माथि थानसम्म पुग्नु पर्दछ । त्यसो गर्दा मात्र पुजा पूर्ण हुने, भाकल पुरा हुने विश्वास रहेको पाईन्छ । खास धागो टाँग्नुको अर्थ युमा तानको देवी पनि भएकिले र त्यो क्षेत्र तानकै प्रदर्शन क्षेत्र भएकोले तानको धागो तानेको प्रतिक मानिन्छ । युमाको रुपहरु अनगिन्ती हुन्छन । यो सवैलाई ज्ञात हुन आवश्यक छ ।
मुक्कुमलुङ र ईङलेकेनी या सेवालुङको कथा
स्थानीय कथन अनुसार मुक्कुमलुङ र सेवालुङ दिदी वहिनी थिए । एक रात वहिनीले दिदीलाई लु दिदी हामी वढि हेरुङ को अग्ली होईंदो रहेछ भनिन । दिदीले पनि वहिनीले भनि हालिन भनेर एक रात वढ्दै जाने भए । वढ्दै जाने क्रममा वहिनीले निद्रा पो लाग्यो अव सुतौं भोलि उठेर वढुङ भनिन । हुन्छ भनेर सुते । दिदी मुक्कुमलुङ मस्त निदाईन । दिदी सुते पछि वहिनी उठेर एक्लै वढिन । आफु दिदीभन्दा अग्ली हुनको लागि दिदीलाई ढाँटेकि रहेछिन । भोलि व्यूँझदा त वहिनीले ढाँटेर वढेकिले दिदीलाई रिस उठयो । तँ ढँटुई भन्दै रिसले वहिनीलाई हकार्दै खुर्मीले हानिन । खुर्मीले वहिनीलाई केही काटयो र खत वस्यो । त्यो खत अझै देख्न पाईन्छ । उनी पनि सरासर वढेर वहिनी भन्दा अग्ली भईन । वहिनीलाई ढँटुई भनेर ईङलेकेनी भनिन । याक्थुङ भाषामा ईङलेकेनी भनेको ढँटुई हो । त्यसैले यो पहाडको नाम ईङलेकेनी भयो । यसलाई ईङलेकलुङ साथै सेवालुङ पनि भनिन्छ । मुक्कुमलुङ र सेवालुङ आम्ने साम्ने थाङवा (तम्वर नदी) वारीपारी छन । फक्ताङलुङ, मुक्कुमलुङ र सेवालुङलाई चुलाको ३ लुङभैं मानिन्छ । यीनीहरु लगायत धेरै लुङ (पहाड) हरुको मुन्धुममा पुकारिन्छ
मुक्कुमलुङ कि सेमुक्तु मुक्तुगो ?
याक्थुङ मुन्धुम अनुसार या÷फेदाङमाहरुवाट पुजा अनुस्ठानको क्रममा सेमुक्तु मुक्तुगो भनेर आउछ । साथै थाङवा, मिक्वा तथा काङवा यक भाषिकाहरुले मुन्धुममा विभिन्न नामले पुकार्दछन । जस्तै सेमुक्तु माङे मुक्तुगो माङे, सेमुक्ती माङे मुक्तीगोक माङे, सेमुक्क्ती माङे मुक्तीफोमाङे, सेमुक्क्ती माङे मुक्तीवुङ माङे भन्दछन । अर्थात माङ (देवी )हौ भनेर पुकारिन्छ । यहाँ कुगाप्ला आउछ ।
यीनीहरुको अर्थ एउटै “पवित्र शक्तिशाली देवी” भन्ने लगाईन्छ । अर्थात सेमुक्तु मुक्तुगो को सिधा अर्थ आउदैन । यहाँ पहाड नभनेर पवित्र शक्तिशाली देवी भन्ने वुझिन्छ । मुक्कुमलुङ शव्द चाही थाङवा यकको ताप्मादेन, पतङवा, तवेवुङ, लिङिखम, लेछर्वो, माङयुङ, नुगो, फुरुम्वो, फेन्दुवा, पालुङवा, खिम्दीङ याक्थुङहरुको क्षेत्रमा स्थानीय वोलचालमा पाईन्छ । उनीहरुले पुकार्दा मुक्कुमलुङ माङे पनि भन्दछन । एकाध फेदाङमाहरुले मुक्कुमलुङ माङे पनि भन्दछन भने सेमुक्तु मुक्कुमलुङ पनि भन्दछन । यो पहाडलाई मुक्कुमलुङ भनेर वोलिएको कुरा विसं १९५० अगाडितिरको वाजे चेप्जुले भनेको कुरा स्थानीयवासी लोकेन्द्र तवेवुङ वताउनु हुन्छ ।
त्यस्तै फुरुम्वोको तत्कालिन न्यायिक राजा पान्सेरी वंश खलकको कतिपय पुरानो लिखत कागजहरुमा मुक्कुमलुङ लेखिएको पाईएको कुरा ज्ञानु फुरुम्वो वताउनु हुन्छ । स्व. पूर्ण वहादुर फुरुम्वो ९० वर्षिय अनुसार उहाकै वावु साम्वा नरपति फुरुम्वो ले मुक्कुमलुङ भन्नुहुन्थ्यो । यो पहरा ओढार क्षेत्रमा युमा माङ वस्ने क्षेत्र हो । फोहर मैला गर्नु हुदैन । यहाँ विहान घाम झुल्कने वेला र अस्ताउने वेलामा छोरी मान्छेले हाक्पारे जस्तो स्वर तानेर गीत गाएको सुनिन्थ्यो भन्नुहुन्थ्यो ।
दोखुको द्वय वृद्ध जय प्रसाद पालुङवा र लाल वहादुर पालुङवा सानै देखि वाजे वोजुहरुले मुक्कुमलुङ भनेको÷वोलेको÷सुनेको वताउनु हुन्छ । हामी याक्थुङ पानमा वोल्दा मुक्कुमलुङ भन्छौं, पाथिभारा त हिज अस्ती वाहुनहरुले भन्न थालेका हुन भन्नु हुन्थ्यो । तर अचेलकाले विर्सी सके । मुक्कुमलुङ जस्तै अरु लुङहरु सेवालुङ, चफतलुङ (फङफङदेन पहाड), मिक्लुङ(मिल्के डाडा), सुम्वेतलुङ(जलजले डाडा) आदि धेरै लुङहरु भएको जय प्रसाद पालुङवा भन्नुहुन्थ्यो । उहाँले मलाई थप कुरा पनि के भन्नुभो भने पञ्चायत कालमा हामीले याक्थुङ भाषिक आन्दोलन गरेका थियौं । त्यस क्रममा प्रशासनवाट धेरै दुख दिएको थियो । यो मुक्कुमलुङ शव्द पनि हामीले जोगाएर ल्याएको हो । यो लेख लेख्दालेख्दै उहाँ वि.सं. २०८१ जेठ ६ गते उहाँ वित्नु भएकोले उहाँप्रति भावपूर्ण श्रद्वान्जली अर्पण गर्दछु । उहाँ भाषिक आन्दोलनको अगुवा मात्र नभएर याक्थुङ फुरुम्वो पालुङवा वंशावलीको प्रमुख संकलनकर्ता पनि हुनुहुन्थ्यो । स्व. खडग वहादुर पालुङवा (थरि जुँगे) र स्व. चक्र वहादुर पालुङवा(मास्टर) हरु पनि याक्थुङ भाषिक आन्दोलनमा लागेको स्मरण उहाले गराउनु भएको थियो । स्व. चक्र वहादुर पालुङवा(मास्टर)हरुले महेन्द्र राजाको हिन्दू धर्मलाई राष्ट्रिय धर्म वनाएको काउण्टरमा वि.सं.२०१८ सालको जनगणनामा याक्थुङ जातिको धर्ममा युमा धर्म लेखाएका थिए । त्यस्तै जय प्रसाद र उहाँहरुको समुहले पाथिभारालाई मुककुमलुङ नै भनेर भाषिक आन्दोलन गरेका थिए । जय प्रसाद पालुङवाको थप कुरा अनुसार विसं २०३४ तिर याक्थुङ भाषा वोल्न र याक्थुङहरुको देवी देवताको वारेमा उती वोल्न पाईदैनथ्यो । लेखेको कुरा त गर्नै पाईदैनथ्यो । तत्कालिन शिक्षा कार्यलयको खरिदार याक्थुङ इतिहासविद जय प्रसाद पालुङवाले पालुङवा वंशावली टिपोट गरेर राखेको कुरा चीया खादै गर्दा नजिकैको पुलिसले सुनेर सिडिओलाई भनेर सिडिओले उसको अफिसमा वोलाएर गालामा चडकन दिएको र जागिरवाट निकाल्न आदेश दिएको तर जिसिओले उहा जस्तो राम्रो मान्छेलाई माफ दिऔ भन्दा पनि नमान्दा केन्द्रमा पदम सुन्दर लावतीकोमा पुगेपछि मात्र थमौती भएको उहाँले वताउनु भएको थियो । त्यो सिडिओ कोयाखोलातिरको गौतम थरको थियो ।
पञ्चायत कालमा सरकारले जति दवाव दिएपनि याक्थुङहरुले भूमिगत रुपमा आफ्नो भाषा तथा भाषाको ठाउहरु आन्तरिक रुपमा प्रयोग गर्दै ल्याए । यद्यपी सेमुक्तु मुक्तुगो र मुक्कुमलुङ तथा युमा महिमाहरु क्रमश विलुप्त हुदै गयो । त्यसको सट्टामा पाथिभारा देवी, कालिका देवी भनेर शुरु भयो । हाम्रो गाउ वस्तीका देवीहरु पनि युमाकै रुपहरु हुन । उनीहरु पनि सिद्धकाली, जलकन्या आदिमा परिणत गर्दै वलि पुजा थालियो । फक्ताङलुङलाई कुम्भकर्ण, सेसेलुङलाई कञ्चनजंगा, थाङवालाई तम्वर, काङवालाई कावेली, मिक्वालाई मेवा, माईवा लाई मैवा , फङफङदेनलाई फुङफुङे वनाईयो । हाङयक हरुलाई गढी वनाईयो । यसरी याक्थुङ धार्मिक, साँस्कृतिक तथा इतिहासलाई विकृत वनाउदै लगियो र अहिले अर्थ खोज्न गाह्रो भएको छ । यसैमा सरोकारवाला विच वाझावाझ भैरहेको छ ।
ईजम याक्थुङहरुले मुक्कुमलुङ थेगु वाट केही तल हर्कटे, नाम्सालिङ क्षेत्रमा गोठ राखथे, गाई वस्तु चरन थियो । त्यो क्षेत्रमा सिकार पनि खेल्दथे । सिकार खेल्न अगाडि याक्थुङहरुको शिकारी देवता पुङसाम्माङलाई शिकार देखाईदिनुहोस, शिकार धेरै पाईयोस, शिकार खेल्दा चोटपटक नलागोस भनेर पुजा गर्दै मुक्तु(घुङग्रीङ) र सेउली ले पुजा गर्थे । त्यसपछि उनीहरु शिकार खेल्न हाल भनिएको पाथीभारा डाडाको टुप्पा, तल माथि सवैतिर जान्थे । गाडिएको मुक्तु उम्रिएर ठुलो झाङ पनि भएको थियो । त्यो क्षेत्रलाई पछिवाट मुक्तुगो, मुक्तुवुङ भन्न थाले । फेञ्जेताङिलङ ईजमहरु र शिकार सम्वन्धमा धेरै कथनहरु रहेको पाईन्छ । विषेश गरेर मुक्तुवुङतिर तिरिङगेका ईजम र त्यसमा पनि हाङफावुङगे ईजमहरुको खर्क रहेको थियो । नाम्सालिङ लगायत अन्य ठाउमा तेम्वेवाका ईजमहरुको थियो । शिकार र फेञ्जेताङिलङ ईजम भएको कथाहरु, मुक्तुवुङवारे कहानीहरु र सुव्वासंगको कारोवारहरु वारे स्वयं मेरी आमा स्व. लिलावती फेञ्जेताङिलङ ईजमले सुनाउनु भएको कहानी पनि सान्दर्भिक हुन गएको उल्लेख गर्न चाहान्छु ।
यस्तै अर्को भनाई अनुसार त्यो क्षेत्रमा कानायङवा(राक्षस)ले साह्रै दुख दिन्थ्यो । धेरैलाई राक्षसले मारयो । ईजम याक्थुङहरु त्रसित भए । त्यतिवेला फुरुम्वोका शक्तिशाली राजा सत रायलाई ईजमहरुले सहयोग मागे । सतराय पनि सहयोग गर्न निश्चित तोकिएको ठाउमा गए । नभन्दै कानायङवा आयो । कानायङवाले तलाई मार्छु÷खान्छु भन्यो । सत रायले सर्त राख्यो । पहिले मेरो शरिर छाम्नु, त्यसपछि म छाम्छु भन्यो । सोही वमोजिम उनीहरुले गरे । सतरायको पालामा–सतराय शक्तिशाली साम्वा तथा वलियो जोर हाडे पनि भएकोले उनी मन्त्रले पनि वाँधिएका थिए र समात्दै जादा घाँटिको हड्डीमा समाएर मारिदिए । कानायङवा मारेपछि ईजमहरुले खुसि भएर उपहार स्वरुप सतरायलाई जग्गा दिए । अझै पनि फुरुम्वोहरुको जग्गा त्यो ठाउमा रहेको छ । उनले पनि आफुसंगको मुक्तु त्यही गाडे । त्यो ठाउलाई सेमुक्तु मुक्तुगो भनियो । सत रायको समय वि.सं.१८३०–५० को भएकोले कानायङवा नभएर कुनै राक्षसी स्वभावको व्यक्ति हुनुपर्दछ । संभवत जग्गा विवादमा फुरुम्वोको प्रमुख सत रायले राक्षसी स्वभावको मान्छेलाई कावुमा ल्याएर अन्यलाई न्याय गरेका थिए । किनकी सत राय फुरुम्वोको मात्र प्रमुख नभएर थाङवा वारिका एक प्रमुख वा राजा थिए । उनी पृथ्वी नारायण शाहा कालिन थिए । उनको नेतृत्वमा र पालुङवादेनको प्रमुख वा राजा युफत्ताहाङ रायले मित्लुङमा वि.सं. १८३२–३४ तिर गोर्खासंग गोर्खा–याक्थुङलाजे युद्ध लडेका थिए ।
यी विविध परिघटनावाट के थाहा हुन्छ भने थाङवा (तमोरखोले) याक्थुङहरुले मुक्कुमलुङ भने फावा (फावाखोले) याक्थुङहरुले मुक्तुगो÷मुक्तुवुङ भने, सेमुक्तु मुक्तुगो भने । साथै अन्य याक्थुङहरुले पनि भने । मुक्कुमलुङ नाम नयाँ निर्माण भएको नाम होईन । पूर्खाहरुले निरंकुश राणाकाल र पञ्चायतकालमा पनि जोगाउदै ल्याएको नाम हो । वि.सं २०४६ को पञ्चायत ढलेपछि यो नाम पूनरावृति भएको र लेख्य परम्परामा आएको हो । यो दुईटै शव्द मुक्कुमलुङ र सेमुक्तु मुक्तुगो को उतीकै वरावर महत्व छ । ठूलो पहरा ढुंगा शक्ति भएकोलाई मुक्कुमलुङ भएकोले पुरै पहाडनै सम्वोधित हुने हुनाले मुक्कुमलुङ सही हो र सान्दर्भिक छ । यो मुक्कुमलुङ क्षेत्र थाङवा यक(तमरखोले) भाषिका भित्र पर्ने हुनाले डाडालाई कोक्मा नभनेर थेगु भन्दछन । तर यो थेगु भन्दानी चट्टानै चट्टानको भएकोले लुङ नै भनेको पाईन्छ । यहाँ नविर्सनु पर्ने कुरा के भने पहिले पुरै पहाडलाई मुक्कुमलुङ भनिदैनथ्यो । युमाले छल गरेको पहरा ढुंगा तथा ओढारको ढुंगाको भागलाई मात्र भनिन्थ्यो । पछि सवै पहाडलाई नै मुक्कुमलुङ भनियो । यो डाडा क्षेत्रमा थुप्रै नामहरु रहेका छन । खस नेपालीमा पुरै पहाडलाई पाथिभारा भनियो । जुन मुक्कुमलुङको नककल हो ।
मुक्कुमलुङ मुगुप्लुङमा भिन्नता
मुक्कुमलुङ र मुगुप्लुङमा एउटै भनेर कतिपयले अन्दाजमा व्याख्या गर्दछन । तर यो पूर्ण रुपले भिन्न हो । मुक्कुमलुङ युमा माङसंग सम्वन्धित छ । यो युमाको शक्ति भएको ठाउ हो, पहरा या ढुंगा हो या पहाड हो । मुगुप्लुङ भनेको मानव चोला हो । उनलाई मुन्धुममा योसु मुगुप्लुङमा या योसुलुङ मुगुप्लुङमा भनिन्छ । उनी स्त्री हुन । उनलाई सुसुवेङ लालावेङ(सुसुङगे लालाङगे) जो याक्थुङ शिकारिले विवाह गरेका थिए । उनलाई माङको रुपमा मानिदैन । साथै युमाले रुप फेरेर देखा परेपनि विवाह गरेको पाईदैन । ईश्वरले विवाह गरेर सन्तान जन्माएको मुन्धुमले व्याख्या गर्दैन । स्थान पनि मुककुमलुङ र मुगुप्लुङमा को फरक छ । मुगुप्लुङमा लाई मुगुप्लुङ पनि भनिदैन । मुगुप्लुङ स्त्रि व्यक्ति विषेश नाम हो भने मुक्कुमलुङ स्थान विषेश नाम हो । मुगुप्लुङ र मुक्कुमलुङ एउटै हो भनेर जोडदार व्यख्या गर्नु मुन्धुमको अपव्याख्या पनि हो । याक्थुङ मुन्धुम नवुझ्नु हो । मुन्धुममा मुगुप्लुङ नभनेर मुगुप्लुङमा भन्दछ भने त्यसको अगाडि योसु मुगुप्लुङमा भन्नु पर्दछ । त्यस्तै सुसुङगेको अर्को श्रीमतीको नाम थोसु फियङलुङमा हो । अन्य दुईजनाको सुसारिमा र फन्दारिमा हो । उनीहरुको वासस्थान थाङवा नदी पारि हो अर्थात हालको खेजेनिम, ईखावु क्षेत्र हो भने मुक्कुमलुङ थाङवा नदी वारि हो ।
मुक्कुमलुङ कि पाथिभारा
माथिनै व्याख्या गरिएको छकि पाथिभारा नभएर मुक्कुमलुङ हो । नेपाली कर्मचारीहरुवाट पाथिजस्तो डाडा भएकोले पाथिभारा भने । तर यसको कुनै शक्तिसंगको अर्थ आउदैन । मुक्कुमलुङ भनेको शक्तिको ढुंगा÷पहाड अर्थ आउछ । मुक्कुमलुङ युमा देवीसंग सम्वन्धित हो भने शुरुमा गैह्र याक्थुङहरुले युमा महारानी भनेरै पुजा गर्थे भने पछिल्लो समयमा पाथिभारादेवी भने । त्यसपछि विषेश गरेर हिन्दू ठालु वाहुन तथा सरकारि वाहुनहरुको मिलोमतोमा पाथिभारा कालिका देवी भनेर पुकार्न थाले भने वर्तमान अवस्थामा पार्वतीसंग जोडेर लैजान थालेका छन । उनीहरुले अहिले शीव पार्वती र गणेश कुमारहरुलाई महत्व दिन थालेका छन । उनीहरुले पुजा गर्नको लागि वाहुन पण्डित पनि राखेका छन । मुक्कुमलुङ या पहिले पुजा गरिने थान ढुंगा अहिले छैन, फुटाईए या लुकाईए । पूरै हिन्दूकरण गरेर हिन्दूहरुको धार्मिक स्थल, शक्तिपिठ पाथिभारा भन्न थालेका छन । मुक्कुमलुङ युमा माङ को अस्तित्व समाप्त पारिएको छ । त्यसको काउण्टरमा सत्तेहाङ किरातहरुले माङहीम तथा फाल्गुनन्दको मूर्ती स्थापना गरेका छन भने याक्थुङ समुदायले केलाङको प्रतिमा राखेका छन । मूर्ति पूजक नभएकोले याक्थुङ समुदायले युमाको अस्तित्व हुनुपर्दछ, यो याक्थुङहरुको मुन्धुमी क्षेत्र मुक्कुमलुङ÷सेमुक्तु मुक्तुगो या पवित्र शक्तिशाली पहाड क्षेत्र पनि भएकोले पवित्र क्षेत्र घोषणा गरिनु पर्दछ र विश्व सम्पदा सूचिमा राख्नु पर्दछ भनेर संघर्ष भैरहेको छ । वि.सं. २०८१ जेठ ३१ मा पुरानो हराईएको थानको प्रतिकको रुपमा साम्वा, येवाहरुद्वारा युमा पुजा गरि अर्को ढुंगा स्थापना गरिएको छ । याक्थुङ चुम्लुङ सामाजिक संस्था, युमा साम्यो धार्मिक संस्था लगायत सरोकारवालाहरु मुक्कुमलुङ पूनःस्थापनाको पक्षमा वकालत गरिरहेका छन ।
मुक्कुमलुङ विवाद र द्वन्द्व
वि.सं. २०४४–४५ सालको नापी अघि यो मुक्कुमलुङ क्षेत्र लेछर्वो, माङयुङ, तवेवुङ, ताप्मादेन, ईजम लगायत याक्थुङहरुको किपट तथा सुवाङगी क्षेत्राधिकारभित्र पर्दथ्यो । नापी पश्चात यो भागहरु ऐलानी जग्गा भएर सरकारिकरण भएर गयो । जव याक्थुङलाजेको किपट जग्गा र सुवाङगी अधिकार नापी पश्चात पूर्ण रुपमा समाप्त पारियो । त्यसपछि नेपालमा प्रजातन्त्र ल्याईयो । यो प्रजातन्त्र ल्याउन र किपट समाप्त पार्नमा पनि राजा र पार्टीहरुको आन्तरिक मेलमिलाप अनुभूति गर्न सकिन्छ । वि.सं. २०४६ सालको प्रजातन्त्र अघि याक्थुङ जाति र भाषालाई सिमान्तकृत वनाईसकेको थियो । याक्थुङ भाषा वोल्नेलाई असभ्य, पाखे, अति पिछडिया भनिन्थ्यो । स्कुल, सरकारि कार्यलय परिसरमा याक्थुङ भाषा वोल्न दिदैन्थ्यो । हप्काईन्थ्यो, जेल हाल्ने कुरा गरिन्थ्यो । यो म स्वयं लेखकले अनुभूत गरेको कुरा हो । यो पढ्दा अहिलेका नयाँ पुस्ताहरुलाई अचम्म र अनौठो लाग्न सक्छ । तर यो एकदम तितो यथार्थ रहेको छ । याक्थुङहरु सरकारि पक्षको ज्यादतीको कारण साह्रै निरिह भैसकेका थिए । उनीहरु चुपचाप वस्नु सिवाय केही गर्न सक्ने स्थितीमा थिएनन । उनीहरुसंग शिक्षा पनि थिएन, सम्पति पनि थिएन । तर प्रजातन्त्र पछि सवै जात जातिको अधिकारको वारे वोल्न, लेख्न सम्म पाउने अधिकार आएकोले याक्थुङहरु पनि पूनरजागृति भए । उनीहरुले पाथिभाराको विषयलाई फेरि आफ्नै भाषामा मुक्कुमलुङ भन्न थाले । ताप्लेजुङ वजारवासी व्यापारीहरुले ढुंगाको थान संगै मूर्ति स्थापना गरे । त्यो पहिचान पक्षधरलाई मन परेन । उनीहरुले मुक्कुमलुङलाई प्राकृत अवस्थामै रहन राख्न जोड गरे । ताप्लेजुङ नगरपालिकालाई फुङिलङ नगरपालिका वनाई पाथीभारालाई भेटी आयस्रोतको लागि फुङिलङ नगरपालिका भित्र पारे । पाथीभाराको धेरै क्षेत्र फावाखोला भित्र पर्ने हुनाले नजिकको नाङखोल्याङ र लिङखिमलाई छोडेर दूरको फावाखोलालाई फुङिलङ नगरपालिका भित्र राखे । पहिले फावाखोला तिरिङगे गाउ विकास समितीमा थियो । कम जनसंख्याको वावजुद पछि पार्टीहरुको मिलोमतोमा याक्थुङ वाहुल्य र वाहुन क्षेत्री वाहुल्य क्षेत्र छुटाएर वाहुन क्षेत्री वाहुल्य क्षेत्र फावाखोला गाउ विकास छुटाई पाथिभारालाई उनीहरुको पकेटमा पारे । यसमा केही व्यापारी र राजनितिकर्मीहरुको षडयन्त्र रहेको छ । त्यसपछि स्थानीय सरकार या फुङिलङ नगरपालिकाको अधिकार खोसेर केन्द्रीय सरकारले लग्यो । केन्द्र सरकारले येती कम्पनीलाई पाथिभाराको जग्गा भाडामा दियो सुनिन्छ ३२ वर्षको लागि । येति कम्पनिले पाथिभारा केवल कार कम्पनिलाई दियो । सस्तोमा जग्गा लिई करोडौको मूल्य तोकियो । अर्को तिर स्थानीय याक्थुङहरुले पाथीभारालाई मुक्कुमलुङ भनेर पनि सम्वोधन गर्नु पर्छ भने । तर सुनुवाई भएन । आदिवासीको हक अधिकार आईएलओ १६९ को आधारमा आदिवासीको अधिकार दिनुपर्छ भनेर आन्दोलन उठिरहयो । यसको कार्यन्वयन नहुदै केवलकार कम्पनि आएर पाथिभारा केवलकार प्रालि नाम लिएर आयो । पाथिभाराको नाम मात्र प्रमोट गर्न आयो , पाथिभारा महोत्सव भनियो । मुक्कुमलुङवादीहरुले आन्दोलनलाई तिव्र वनाए । गाँडमाथि गलगाँड भनेझैं मुक्कुमलुङ नामाकरणको लागि आन्दोलन भैरहेकोमा केवलकार वनाउने कम्पनि आएपछि कम्पनि नियम अनुसार भोलि मुक्कुमलुङ पनि कम्पनिको मातहतमा पर्ने हुनाले यो केवलकार पनि फाईदाजनक नहुने भो । तसर्थ मुक्कुमलुङ पूनस्थापना हुनुपर्छ र केवलकार पनि वनाईनु हुदैन भनेर चर्को विरोध भयो । केवलकार कम्पनिले पनि जसरी पनि केवलकार वनाउने भनेर पैसा खर्च गरि याक्थुङ समुदायलाई विभाजित गरिदियो । त्यसपछि विरोध भैरहेकै वेला राति ३ वजे हजारै गुराँश काटियो । त्यो चाल पाएर मुक्कुमलुङ संरक्षण संघर्ष टोली गएर दोहोरो भिडन्त गर्दै गुराँश लगायत रुख कटान रोकिदिए । त्यहाँ पुग्नेलाई छेक्न ससस्त्र प्रहरी वल वाटोमा राखिएको थियो । उनीहरुको घेरावन्दी तोडदै गए । राष्ट्रिय फुल लाली गुराँश लगायत हजारौं रुख विरुवाहरु काटिएको काउण्टरमा वि.सं. २०८१ जेठ ३१ देखि २० हजार वोट विरुवाहरु रोप्न थालिएको छ मुक्कुमलुङ संघर्ष समितीवाट ।
यसरी याक्थुङ आदिवासीले मुक्कुमलुङ सरकारी दस्तावेजीकरण गर्नुपर्छ र यो क्षेत्रमा कुनै संरचना वनाईनु हुदैन, भएको संरचना पनि हटाएर पहिलेको प्राकृत अवस्थाको मुक्कुमलुङको थान मात्र राख्नु पर्दछ । यो याक्थुङको पवित्र भूमि हो भनेर लागिपरेका छन । उनीहरुलाई सवै देश विदेशमा रहेका पहिचानवादीहरुले सहयोग गरिरहेका छन । यसलाई युनेस्कोमातहतमा राखेर विश्व सम्पदा सुचिमा राख्न जोड गरिरहेका छन । तसर्थ यो विवाद द्धन्द्धमा फसिरहेको छ । मुक्कुमलुङ संघर्ष समितीलाई कोशी प्रदेश खारेजी समुहले पनि साथ दिईरहेको छ । यो समस्या सामान्य तवरले समाधान हुने देखिदैन ।
केवलकार निर्माण विकास कि विनाश ?
केवलकार निर्माण भनेको विकासको मापन होईन यो मनोरञ्जनको साधन हो । विकासको मापन भनेको सडक, शिक्षा, स्वास्थ्य, गाँस, वास, कपास, पानी तथा विजुली हो । तर केवलकार धेरै मनोरञ्जन थोरै विकास हो । जस्तै कार थोरै विकास धेरै मनोरञ्जन हो । वस, रेल, प्लेनले आवश्यकता पुरा गरेको हुन्छ । कारहरु नभएनी हुन्छ । आय स्रोत धेर भए कार किनिन्छ । नत्र कार किनिदैन । यो मुक्कुमलुङको सन्दर्भमा केवलकारको आकवश्यकता कम छ । धेरै छैन । यो धार्मिक क्षेत्र भएकोले फेदिवाट पुजा गर्ने परम्परालाई असर पर्दछ । पुजा गर्न छोडिन्छ । मूख्य पुजास्थलमा पनि पुजाको महत्व कम भएर जान्छ । थोरै संख्याको वृद्ध वाहेक धेरै संख्यालाई घुमघाम र प्रेमलापको ठाउ वनेर जान्छ । धार्मिक भन्दा पर्यटकिय क्षेत्रको रुपमा विकास भएर जान्छ । यस्ता धार्मिक सम्पतिलाई धार्मिक सम्पतिकै रपमा राख्न दिनु पर्दछ । त्यस्तै गरि यो केवलकार वनाउदा धेरै गुराँश लगायत जडिवुटीका रुख विरुवाहरु काटिन्छ । मानिसहरुको भारि मात्रामा आवात जावत हुन्छ । फोहर मैला वड्छ । तापक्रम वढ्छ । विभिन्न् जनावर लगायत लोपोन्मुख जनावारहरु लोप भएर जानेछन । यसले वातावरणलाई असर गर्दछ । यसले पर्यावरणलाई सन्तुलनमा राखेकोले पर्यावरण विग्रीएर जान्छ । वाढी पहिरोको प्रकोप वढेर जान्छ । अक्सीजनको कमी हुदै जान्छ । यस्तै संरचनाहरु बनाउदै जाने हो भने भविष्यमा अक्सिजन किनेर मुखमा लगाएर हिडने दिन नआउला भन्न सकिदैन ।
पहिले केवलकार साम्दुरा यक या साम्लुप्ली यक या हाल चलनचल्तीको नाम फुरुम्वो गढीवाट तल्लो फेदिसम्मको कुरा थियो । त्यो वेला ताप्लेजुङका स्थानीय व्यापारिहरुको लगानीको कुरा थियो । उनीहरुको निर्णय ठिकै थियो । तर जिल्ला वाहिरको कम्पनि आएकोले र संघीय सरकारले हेर्ने हुनाले त्यो भित्रभित्रै परिवर्तन भै फेदिवाट मुक्कुमलुङको टुप्पामै पुरयाईने भैयो । फलस्वरुप त्यसको विरोध स्थानीय याक्थुङ आदिवासी लयायतले गरे । विकास र धार्मिकताको वहस चल्यो । केवलकार वनिदा धेरै मान्छे आवत जावत गर्दछन । व्यापार व्यवसाय वढ्छ, जागिर धेरैले पाउछन भन्ने आयो । तर केवलकारमा काम गर्ने सिमित मान्छे चाहिन्छ । त्यसमा पनि धेरै प्राविधिक चाहिन्छ । मुक्कुमलुङ क्षेत्र अधिकार केवलकार कम्पनिको मातहतमा जान्छ । निश्चित क्षेत्र तारवार लाग्छ । त्यहाँ आउनेहरु मधेस, धरान, विराटनगर तथा भारतीय सिमा क्षेत्रका मानिसहरु उतै फर्केर जान्छन । त्यति अडिन आवश्यक हुदैन ।
विषेश गरेर धार्मिक क्षेत्रमा पैदल यात्रा गरेर जानु पर्दछ । पुजाआजा गर्न जानको सुविधायुक्त भएर जाने दर्शन पनि छैन र होईन पनि । पूजा स्थल सफा र पवित्र हुनु पर्दछ । मुक्कुमलुङ युमा माङले फोहरमैला मन पराउदिनन । व्यक्तिगत रुपमा पनि पुजा गर्ने मानिस अशुद्ध भए, जुठो लागेको भए, रजस्वला भएको छ भने, नराम्रो चिताएको छ भने अनिष्ट हुने, मानिस मर्ने कार्य हुन्छ । सम्वन्धितलाई पिरोल्छ भने वरिपरि गाउवासीलाई पनि वाढी पहिरो, असिना पानी, हावाहुण्डरि आई पिरोल्ने विश्वास रहेको छ ।
तथाकथित केवलकारको विकल्पमा विकास
केही केवलकार पक्षका मत अनुसार केवलकार विकास हो भन्ने छ भने विपक्षले विनास हो भनिरहेका छन । केवलकार केही मात्रामा विकास भए पनि विनासनै वढी हो मुक्कुमलुङको सन्दर्भमा । किनकी यसले पर्यावरण विगार्ने गर्दछ । विजुली तथा मेसिन अटुट चलिरहन्छ । यसले प्रदूषण वढाउछ । वनजंगल काटिन्छ, वन्यजन्तुहरु संकटमा पर्दछन । वन जंगल र वन्यजन्तुले वातावरणमा सन्तुलन कायम गरिरहेका हुन्छन । वातावरण असन्तुलनले वोटविरुवा मर्नेछन, पानी कम÷वढी पर्नेछ, तापक्रम थपघट हुनेछ । यसले मानव लगायत जिवजन्तु, वोटविरुवामा असर पर्नेछ । वाढी पहिरो, सुख्खाको विपत्ति आईलाग्नेछ । पानीको स्रोत सुकि सिंचाई मात्र होईन ताप्लेजुङवासीलाई खाने पानीको अभाव हुनेछ ।
केवलकारको सट्टामा राम्रो चौडाई भएको पिचको वाटो तल्लो फेदिसम्म वनाउनु पर्दछ । गाडि कुदाउदा हर्न वजाउनु वर्जित गर्नु पर्दछ । गाडि पार्किङको व्यवस्था राम्रो हुनुपर्दछ । सरसफाईमा ध्यान दिनु पर्दछ । स्वास्थ्य केन्द्र राखिनु पर्दछ । सुरक्षा व्यवस्था रामे हुनु पर्दछ । सुकेटार विमानस्थलाई सधैभरि प्लेन वस्ने वनाउनु पर्दछ । सुकेटारमा शहरिकरण गरेर मुक्कुमलुङ दर्शनार्थीहरुको वासस्थल त्यहा वनाउनु पर्दछ । साना ठूला होटल व्यवसाय सञ्चालित हुनुपर्दछ । त्यहाँवाट मुक्कुमलुङ पुजा गर्न जाने अनि तुरुन्तै फर्केर सुकेटारमा वस्ने खालको हुनुपर्दछ । त्यसपछि आफ्नो गन्तव्यमा लाग्ने हुनुपर्दछ । सुकेटार, वुङकुलुङ सिरान तथा फुरुम्वो सिरानमा सवै शहरिकरण गरेर तिव्वत–ताप्लेजुङ व्यापार व्यवसाय व्यवस्थित रुपमा चलाउनु पर्दछ । भित्री थाङवा यकलाई याक्थुङ सभ्यता स्थल तोकेर याक्थुङ सभ्यता संरक्षण संवद्र्धन र विकासमा जोड दिनु पर्दछ । यसले आन्तरिक र वाह्य पर्यटक प्रचुर मात्रामा तान्दछ । फलस्वरुप विकास, रोजगारि, आयआर्जन तथा जनताको जीवनस्तर उच्च हुनको साथै सामाजिक तथा धार्मिक क्षेत्रको महत्व पनि जिवन्त राख्दछ ।
निश्कर्ष
मुक्कुमलुङको इतिहास र विवादको विजारोपण र द्वन्द्व वारे माथिको लेखवाट ज्ञात हुनपुग्यो । यो द्वन्द्व को समाधान कसरि गर्ने टडकारो समस्या छ । यो मुक्कुमलुङलाई धार्मिक महत्वकै रुपमा राख्ने, केवलकार नवाउने र पुरानै संरचनामा पर्काउनु पर्छ भन्ने र यथासंभव विश्व सम्पदा सूचिमा राख्नु पर्छ भन्ने छन । यसको लागि केवलकार कम्पनि फिर्ता हुनु पर्दछ । साथै स्थानीय तथा संघ सरकारले आदिवासी याक्थुङहरुको आस्थाको केन्द्रलाई सम्मान तथा मान्यता प्रदान गर्नु पर्दछ । मुक्कुमलुङ याक्थुङहरुको युमा माङसंग सम्वन्धित भएकोले सोही अनुसार परिभाषित गर्नुपर्दछ । हिन्दूकृतको कारण पनि द्वन्द्व भएकोले यसलाई मुन्धुमकृत वनाउनु पर्दछ । यद्यपी पुजाआजाको लागि सवैलाई खुला हुनुपर्दछ । आयस्रोत स्थानीय सरकार अन्तर्गत हुनुपर्दछ र स्थानीय तथा याक्थुङ आदिवासीको विकासमा लगानी गर्नुपर्दछ । केवलकारले दिने फाईदा भन्दा भेटीवाट उठेको रकमले स्थानीयको सुख र समृद्धिमा टेवा पुग्नेछ । केवलकारको आम्दानी सवै केवलकार कम्पनीले लानेछ । त्यसको प्रयोजन समुदायलाई हुदैन । यो समस्याको समाधान गर्न संघ सरकार तयार भै रैथाने याक्थुङ आदिवासीहरुको पक्षमा निर्णय गरिनु पर्दछ । यदी यसलाई जवरजस्त ढंगले सरकारले आफ्नो पक्षमा लैजान खोजेमा यो द्वन्द्व दूर भविष्यसम्म पुग्नेछ । शान्तिपूर्ण आन्दोलन विध्वंसात्मक हुने खतरा वढ्नेछ । समाधान हुने अवस्थामा पुग्दा धेरै धनजनको नोक्सान भैसक्नेछ ।
वास्तवमा मुक्कुमलुङलाई धार्मिक आस्थाको रुपमा कायम गरिरहने हो भने व्यापारिकरण हुनवाट जोगाउनु पर्दछ । साथै त्यहाँको भैरहेको व्यवस्थापनमा जोड दिनु पर्दछ । वाटोलाई पीच वनाउने, फोहर व्यवस्था राम्ररी गर्ने, सुकेटार विमानस्थललाई वाह्रै महिना चल्ने वनाउने र सुकेटार शहरिकरण गर्ने गर्नु पर्ने देखिन्छ । केवलकारको लागि जवर्जजस्ती गर्नु हुदैन । दर्शनार्थीहरु सुख सयलमा मुक्कुमलुङ जाने भाष्य परिवर्तन गर्नु पर्दछ । याक्थुङहरको माङ युमा(देवी) को शक्तिको कारण भाकल पुग्ने हुनाले सोही अनुरुपको पुजा अर्चना गर्नु पर्दछ । यद्यपी सवै आस्थाका मानिसहरुलाई पुजा गर्न वन्देज लगाउनु हुदैन । यसो गरिएमा द्वन्द्व समाधान हुनेछ ।
(नोट– यसमा प्रयोग भएका केही याक्थुङ शव्दहरुको नेपाली अर्थः पालुङवा युमा खमा– पालुङवा थरिहरुको युमा पुजा, माङ– ईश्वर, मुन्धुम– पुजा पाठको मौखिक पाठ, या÷फेदाङमा– लिम्वु पुजारि, याक्थुङ– लिम्वु, याक्थुङलाजे– लिम्वुवान, युमा–स्त्री युमा नाम ईश्वर)
।।।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
