ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आजबाट दुई दिने वृहत शिक्षा सम्मेलन गर्ने भएको छ । शैक्षिक क्षेत्रमा सुधार ल्याउनका लागि जिल्लामै पहिलो पटक गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शिक्षा सम्मेलनको आयोजना गर्न लागेको हो ।
सबैका लागि गुणस्तरीय शिक्षा, सार्वजनिक शिक्षालाई सुदृढ बनाऔँ भन्ने मूल उद्देश्यका साथ दुई दिने वृहत शिक्षा सम्मेलनको आयोजना गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउँनुभयो । वनेमका अनुसार शैक्षिक रूपान्तरणमा नयाँ सोच निर्माणका लागि यस सम्मेलनले अत्यन्तै ठुलो मदत पु¥यानेछ ।
शिक्षाविद् तथा सामाजिक अध्येता बिमल कुमार फुँयाल, वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, नेतृत्व विकास एवम् व्यवस्थापन विज्ञ आरके ढुङगाना लगायतले सम्मेलनमा सहजीकरण गर्ने पालिका अध्यक्ष वनेमले बताउनुभयो । सम्मेलनमा पालिका भरीका शिक्षक तथा शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी र सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष तथा पदाधिकारी र सदस्य, सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सदस्यहरु, सञ्चारकर्मी, शिक्षासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहने पालिकाले जनाएको छ ।
पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको अवस्थामा मैवाखोला गाउँपालिकाले नयाँ अभ्यासको सुरुवात गर्न लागेको छ । २०८० सालमा सञ्चालित कक्षा ८ को पालिका स्तरीय परीक्षाबाट ५ जनामात्रै विद्यार्थी उत्तीर्ण भएपछि गाउँपालिकाले यो योजनालाई अघि सारेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
विद्यार्थीहरुमा कमजोरीपनको प्रमुख समस्यालाई औँल्याएर शैक्षिक विकासका लागि यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने पालिकाले विश्वास लिएको छ । शैक्षिक गुणस्तरका लागि पालिकाले समय–समयमा प्रधानाध्यापकसँग छलफल, विभिन्न विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीको व्यवस्थापन, सिसिटीभी जडान गरी बिभिन्न माध्यमबाट निगरानी लगायतका गतिविधिहरू गर्दै आइरहेको छ ।
गाउँपालिकामा २८ वटा समुदायिक विद्यालयहरु रहेका छन् । बालकक्षादेखि कक्षा १२ सम्म २९ हजार विद्यार्थी अध्ययनरत पालिकामा २१० जना शिक्षक कार्यरत रहेको मैवाखोला गाउँपालिकाले जनाएको छ । …
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
